
आफ्नो दैत्याकार शरीरका निम्ति कहलिएका फ्रान्सका आन्द्रे द जाइन्ट विश्वकै आठौँ आश्चर्यको रूपमा समेत पुकारिन्थे । भारी शरीरकै कारण रेस्लिङलाई पेसा बनाएका आन्द्रे एक सिने–एक्टर पनि थिए । ७ फुट ४ इन्च उचाइ र २ सय २७ किलो तौल रहेका आन्द्रेको निधन भएकै चौबीस वर्ष हुन लाग्यो, तर यतिका वर्षपछि विश्वकै सबभन्दा ठूला सराबीको रूपमा एकपटक फेरि यतिबेला दिवंगत आन्द्रे चर्चामा रहेका छन् । कुस्तीको अखडामा मै हुँ भन्ने पहलवानहरूलाई हराई विश्व च्याम्पियनको उपाधि कब्जा गरेरभन्दा बढी अत्यधिक पिउन सक्ने क्षमताका कारण उनी बढ्ता चर्चामा रहन्थे । रेस्लिङ रिङमा उत्रिनुअघि सात–आठ बोतल वाइन घुट्क्याउने आन्द्रेले ४५ मिनेटमा १०२ बोतल बियर पिएको रेकर्डसमेत बनाएका थिए । त्यसो त एकै बसाइमा उनी १५६ बोतलसम्म बियर पिउँथे । रिङमा प्रवेश गर्नुअघि बोतलका बोतल वाइन घुट्क्याउने उनी मदिरालाई टनिक ठान्दथे । फ्रान्सको सेनामा जागिर खान लाग्दा उनको साइजको जुत्ता, बर्दी र बेड उपलब्ध गराउन नसकिने कारण देखाएर सेनाले भर्ना नगरेपछि आन्द्रेले हलिउड सिने उद्योगतर्फ कदम बढाए । ४७ वर्षको उमेरमा हर्ट एट्याक भएर बित्दासम्म आन्द्रेले आफूलाई एक अभिनेता र रेस्लरको रूपमा सक्रिय राखेका थिए ।
प्रतिक्रिया