क्रान्तिमा राजाको उपयोग

क्रान्तिमा राजाको उपयोग


SN Karki

– स्वयम्भूनाथ कार्की

राणाविरोधी क्रान्तिलाई राजाको नाममा गर्नुपर्ने जरुरी थियो त्यसैले राजा त्रिभुवन दरबारमा हुन्जेल क्रान्तिको आरम्भ गर्न सम्भव थिएन । त्यसैले बीपीको सोचमा हेलिकोप्टरबाट राजालाई भगाएर पाल्पामा लैजाने र त्यहाँबाट नयाँ सरकार बनाएर त्यसलाई भारतबाट मान्यता दिन लगएर क्रान्ति बढाउने योजना थियो । यो सम्पूर्ण योजनामा राजा, पाल्पाका कमान्डर इन चिफ, भारत र नेपाली काङ्ग्रेस चारै पक्षको आपसी तालमेलको आवश्यकता थियो । नेपाली काङ्ग्रेसको राष्ट्रिय काङ्ग्रेस घटकका बीपीहरूको सम्बन्ध सम्पर्क भारतसँग मात्र थियो । जसकोे भूमिका यो सम्पूर्ण योजनामा हेलिकोप्टर दिने र पाल्पामा गठन भएको सरकारलाई मान्यता दिने थियो । पाल्पाको कमान्डर इन चिफ र राजासँग नेपाली काङ्ग्रेसको डेमोक्रेटिक घटकका सुवर्णशमशेरहरूको मात्र सम्पर्क थियो । बीपी काठमाडांै भएका बेला राजाका छोराहरूले भेट्न खोजेका थिए, तर भेटेनन् । शायद सामान्य तरिकाले राजपरिवारले अरूलाई भेट्न श्री ३ को जगजगीमा त्यति सरल थिएन कि अन्य कुनै कारण थियो । त्यो भने भन्न सकिन्न ।

सुवर्णशमशेर सी क्लासका राणा थिए । त्यस्तै पाल्पाका कमान्डर इन चिफ पनि सी क्लासका राणा नै थिए । यसैले बीपीले दुवै सी क्लासबीच आत्मीय सम्बन्धको कल्पना गरेको हुनसक्छ । आफूले उनलाई भेट्दाको प्रसङ्ग परिच्छेद २७ मा उल्लेख गरेका छन् । ‘माथि डाँडामा क्याम्प गरेर बसेका थिए । ती बडा रइस खालका मानिस थिए, राम्रा स्वास्नीमानिसहरू लिएर बस्थे । धनी पनि थिए । म आउने भनेर झन् बढी, एउटा भोजैको जस्तो इन्तजाम गरेका थिए ।’ बीपीले उनीसँग भएका हजार–बाह्र सय बन्दुक आफूलाई दिनुपर्ने र राजालाई त्यहाँ ल्याइयो भने बस्ने इन्तजाम गरिदिनुपर्ने माग राखे । जसमा उनले स्वीकृति जनाउँदै भने, ‘सुवर्णजीलाई भन्दिनू, मलाई भर गरे हुन्छ ।’ सुवर्णशमशेरको सी क्लास र उनको सी क्लासमा फरक थियो । सी क्लास भए पनि उनीले श्री ३ को विश्वास जितेका थिए र कमान्डर इन चिफ भएका थिए । भीमशमशेरपछि उनका छोरानातिको रोल भर्खर काटिएको थियो र सी क्लासमा झारिएको थियो । सुवर्ण तिनै भीमशमशेरका नाति हुन् । पछि क्रान्तिमा भैरहवा के.आई सिंहसम्म पु¥याउन पठाएको हतियार यिनै कमान्डर इन चिफका छोरानातिले नौतनवामै रोकेर के.आई. सिंहलाई केन्द्रीय नेतृत्वसँग विद्रोह गर्न विवश पारेका थिए ।

सुवर्णशमशेरहरूलाई पनि राजासम्म सीधै कुरा पु¥याउने सुविधा थिएन । कोलकाताबाट राजाको निमित्त जाने चुरोटको सुर्ती झिकेर नेपाली कागजमा सन्देश लेखेर त्यसभित्र हालेर फेरि सिल गरेर पठाउनुपर्दथ्यो । यस्तोमा कार्यतालिकामा सही समय निर्धारण कसरी हुन सक्थ्यो, त्यसबारे चिन्ता गर्नैपरेन किनभने भारतले हेलिकोप्टर दिन अस्वीकार ग¥यो । पैदल भगाएर पाल्पा लैजाने टोली पक्राउ प¥यो । दुई प्रयत्न असफल भएपछि बीपीकै शब्दमा ‘राजा तर्से, यिनीहरूबाट यो हुँदैन भनेर ।’ भारतले आसन्न क्रान्तिमा आफ्नो भूमिका पहिल्याइसकेको थियो । ऊसँग मागिएको दुवै सहायता गर्दा लुकेर गर्न सम्भव थिएन । कुरा खुल्दा त्यसको औचित्य र भारतलाई त्यसबाट हुने फाइदा आफ्ना जनतालाई बुझाउनु नै पर्ने थियो । त्यसैले भारतले खुलेरै काम गर्ने नीति लिनुपर्दथ्यो र त्यही ग¥यो । राजालाई सपरिवार आफ्नो दूतावासको माध्यमबाट आफ्नो पाहुना बनाएर ।

राजाले लडाइँ रोकेर वार्ताको आह्वान नगरुन्जेल बीपीको राजासँग भेट हुन पाएन । परिच्छेद २८ मा बीपी भन्छन्, ‘राजाको प्राइभेट सेक्रेटरी थिए दयारामभक्त माथेमा । बडो महत्वपूर्ण मान्छे थिए त्यसबेला । भन्थे– फुर्सद नै हुँदैन राजालाई । उनी हिन्दुस्थानको नियन्त्रणमा थिए र हिन्दुस्थानले मलाई के भेट्न दिन्थ्यो र ?’ बीपीको राजाका छोराहरूसँग भेट हुन्थ्यो, तर युवराजसँग भने भेट भएन । यो भेटमा रोक बीपीलाई मात्र थियो कि अन्य काङ्ग्रेसीहरूले पनि भेट्न पाएका थिएनन् त्यो भने किताबले बताएको छैन । त्यसबेला भारत सङ्घ बन्ने प्रक्रियामा थियो । भारतीय स्वतन्त्रता ऐनले बेलायतले स्वतन्त्र भारतमा हरेक भूभागलाई आत्मनिर्णयको अधिकार दिएको थियो र १९५० नेपाल–भारत मैत्री सन्धिले यसभन्दा पहिलेका नेपाल–भारतका सन्धिलाई अमान्य गरेको थियो । यस्तोमा त्यसबेला स्थिर नेपाल हुनु भारतको हितमा हुने थिएन । त्यसैले नेपाली काङ्ग्रेसले सुरु गरेको क्रान्ति भारतको पनि थियो । बीपीको यत्रो क्षमतावान, प्रतिभावान व्यक्तित्वको आलोकमा आफ्नो र भारतको सम्बन्धको उकाली–ओरालीमा व्यक्तिगत परिपे्रक्षमा मात्र गरिएको चिन्तन अलि नपच्ने हुन्छ । यसलाई दुई मुलुक र दुवैको तात्कालीन परिस्थिति र स्वार्थको परिप्रेक्षमा हेर्ने हो भने अनौठो केही देखिन्न ।

सात सालको क्रान्तिमा राजाको अवस्था तासको खेलको त्योे पत्ताजस्तो थियो जो–जसको हातमा भयो त्यसैले बाजी जित्यो, अर्थात् तुरुपको एक्कासरह । यस पूरा घटनाक्रममा राणाहरूको हातको तुरुपको एक्का भारतको हात लाग्यो । त्यसैले क्रान्ति नेपाली काङ्ग्रेस र श्री ३ सरकारबीच भए पनि सम्झौता भने श्री ५, श्री ३ र भारत सरकारबीच भयो । यस किताबको आधारमा भन्ने हो भने बीपीको भूमिका एक कर्मठ योद्धाको रह्यो । जब वार्ता आह्वान भयो बीपी–राजा भेट सहज भयो । राजाले बीपीलाई आफूसँगै काउचमा बसाले । बीपीको मनमा राजासँगै काउचमा बस्नु ठीक होइन भन्ने पारिए पनि राजालाई यसमा कुनै आपत्ति थिएन भन्ने कुरा त्यसपछिका त्रिभुवन–बीपी सम्बन्धले जनाउँछ । तर, त्यसबेला यो एक अर्थहीन कुराको औचित्य पुष्टि गर्नेतर्फ बीपीको ध्यान भड्काइयो । त्यसैले तीन पक्षबीच हुन लागेको सम्झौताको चिन्तन र त्यसका निमित्त गरिनुपर्ने भेटघाटलाई व्यक्तित्वको सङ्घर्षमा अल्झाइएको पछिसम्म बीपीले पत्तो नपाउनु अनौठो कुरा हो ।