
गाईको पूजा गर्ने, गौमूत्र सेवन र गाईको गोबरसमेत लिपपोतमा उपयोग गर्ने संस्कार हिन्दू धर्मावलम्बीका लागि अनौठो विषय होइन । तर, अफ्रिकीहरूले गाईको मूत्र नुहाउन तथा गोबरलाई एन्टिसेप्टिकको रूपमा प्रयोग गर्ने गरेको सुन्दाचाहिँ पक्कै पनि हाम्रा निम्ति त्यो रोचक समाचार बन्न सक्छ । हो, संसारमा अनेक संस्कार, संस्कृति र परम्परामा मानिस बाँचेका हुन्छन् । अफ्रिकी मुलुक दक्षिण सुडानमा एक जातिका मानिस यस्ता छन् जो हरेक दिन गर्मीबाट बच्नका लागि गौमूत्रले नुहाउँछन् । आफ्ना अनौठा प्रचलनका लागि संसारमै कहलिएका उक्त मुदाँरी जातिका मानिस गाईलाई अत्यन्त प्रेम गर्छन् । गाईबाट प्राप्त हुने कुनै कुरा पनि उनीहरू खेर फाल्दैनन् । गाईलाई फकाएर पिसाब गर्न लगाई तात्तातै गौमूत्रले नुहाउने, गोबर शरीरमा लेपन गरेर लामखुट्टेलगायतका किट–किटाणुबाट बच्ने र बिहेमा पनि गाईवस्तु नै उपहार दिने उनीहरूको परम्परा छ । उक्त जातिका मानिस प्रायः गाईसँगै सुत्छन् र गाईको सुरक्षाको निम्ति साथमा बन्दुक नै राख्ने गर्छन् ।
प्रतिक्रिया