हङकङमा केही वर्षयता ‘सुत्यासुत्यै’ हुने रोगले नेपाली समुदायमा ठूलो आतङ्क सिर्जना गरेको छ । हेर्दा हट्टाकट्टा तन्नेरी छ, रोग केही लागेको छैन । खाना खाएर राति बिस्तरामा पल्टेको मान्छे बिहान हेर्दा निस्तेज छ † पछिल्लो समय यो रोगको सिकार बनिन्– भविसरा भनेर चिनिने देवी पुन । गत २८ डिसेम्बर राति खाना खाएर स्वस्थ रूपमा बिस्तरामा पुगेकी पुन ‘सुत्यासुत्यै’ भइन् । उनका श्रीमान्को भनाइमा आफू शौचालयबाट फर्कंदा भविसरा छटपटाएको देखेपछि तत्काल अस्पताल दौडाइएको थियो । तर, डाक्टरले ढिलो ल्याइपु¥याएको भन्दै मृत घोषित गरे ।
हङकङमै गत ११ डिसेम्बरको राति मुटु रोगका कारण ३५ वर्षीया कल्पना गुरुङ पनि सुत्यासुत्यै भएकी थिइन् । कल्पनालाई उच्च रक्तचापको समस्या रहेकाले डाक्टरले खानपानमा ध्यान दिन सुझाव दिइरहेका थिए । निर्माण क्षेत्रमा काम गरेर फर्केकी कल्पनालाई अप्ठ्यारो महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो । केही दिन डाक्टरको सुपरीवेक्षणमा बसेकी उनलाई डाक्टरले ‘तिमी ठीक भयौै, भोलि घर जान सक्छौ’समेत भनेका थिए । तर, डिस्चार्ज हुने दिन नै कल्पना सुत्यासुत्यै भइन् । कल्पनाका आफन्तहरूका भनाइमा उनले खानपानमा डाक्टरको सुझाव पछ्याइरहेकी थिइनन् । निर्माण क्षेत्रमा ‘ओभरटाइम’ मजदुरी गर्ने भएकाले सुताइ राम्रो हुन पाउँदैनथ्यो ।

नेपालीलगायत दक्षिण एसियाली नागरिकका स्वास्थ्यबारे काम गरिरहेका यानचाई अस्पताल चुनवानका वरिष्ठ सर्जन तथा ‘हेल्थ इन एक्सन’का अध्यक्ष डा. फान निङका अनुसार सुत्यासुत्यै हुनुका विभिन्न कारण हुन्छन्, तर रोगका केही लक्षण नदेखिई मारिनुका पछाडि हृदयघात प्रमुख कारण हुनसक्छ ।
अकालमै मृत्युको मुखमा पुगेका भविसरा र कल्पनाजस्ता नेपाली हङकङमा कति होलान्, यकिन तथ्याङ्क त छैन, तर यो डरलाग्दो क्रम बढिरहेको छ । अनुमान के छ भने, गएको दुई वर्षमा मात्र एक दर्जनभन्दा बढी नेपाली अल्पायुमै ‘सुत्यासुत्यै’ भएका छन् । कल्पना बितेको सातादिनकै अन्तरालमा उनकै उमेरका म्याग्दीका एक युवाको निमोनियाबाट मृत्यु भयो । निर्माण क्षेत्रमै काम गर्ने म्याग्दीका ती युवा पनि निमोनिया भएपछि उपचार गराउन हङकङ र नेपालका अस्पताल धाइरहेका थिए ।
हङकङमा केही वर्षयता फैलिरहेको ज्यानमारा रोगले स्थानीय चिनियाँ मात्र होइन नेपालीको पनि सिकार गरिरहेको छ । अस्वस्थ खानपान, शारीरिक रूपमा निष्क्रिय जीवनशैली (बढी समय काम गर्ने, कम सुत्ने, मद्यपान र धुम्रपान गर्ने, फास्टफुड बढी खाने) र बढ्दो जनसङ्ख्या तथा प्रदूषणका कारण उत्पन्न भएको भनिएका ज्यानमारा रोगले विश्वकै राम्रो स्वास्थ्य स्थिति रहेको हङकङलाई चुनौती दिइरहेको छ ।
हेल्थ डिपार्टमेन्ट अफ हङकङको रेकर्ड हेर्ने हो भने, सन् २००३ मा ३१ हजार एकजनाको मृत्यु भएकोमा सन् २०१३ मा त्यो सङ्ख्या बढेर ३६ हजार पाँच सय ५२ मा उक्लिएको छ । यो दश वर्षमा जनसङ्ख्याको चाप पनि त्यही अनुपातमा बढेको छ । २००३ मा हङकङको जनसङ्ख्या ६.८ मिलियन थियो भने पछिल्लो जनगणनामा ७.२५ मिलियन पुगेको देखिन्छ । यही एक दशकमा नयाँ रोगका कारण थप १८ प्रतिशत मानिसको मृत्यु भएको छ । शीर्ष दशवटा ती रोगलाई ज्यानमारा रोग नामाकरण गरिएको छ । संयोग के भने, नेपालीको समूहगत हङकङ आगमन पनि यही दशकमा बढी भएको देखिन्छ । बेलायती सेनाको हैसियतमा चालीसको दशकमै आगमन प्रारम्भ भइसकेको नेपालीको हङकङ बसोवास सन् १९९७ पछि मात्र बाक्लिएको हो । यो सङ्ख्या बढेर अहिले ३० हजार पुगेको विश्वास गरिन्छ ।
हङकङमा क्यान्सरले सबैभन्दा बढी ज्यान लिने गरेको छ । एक दशकअघिसम्म केही मान्छे मात्र क्यान्सरका कारण मर्दथे । अहिले ४० प्रतिशत मृत्युको कारण क्यान्सर बनेको छ । २००३ देखि २०१० को अवधिमा क्यान्सरबाट मर्नेको सङ्ख्या २६ प्रतिशतले बढेको थियो । अहिले यो १७ प्रतिशतमा झरेको छ । २०१३ मा १३ हजार पाँच सय ३८ जना यो रोगका कारण मरेका छन् ।
दोस्रो ज्यानमारा रोग निमोनियाले २०१३ मा ६ हजार ७ सय २२ जनाको ज्यान लियो । कुनै बेला तेस्रो डरलाग्दो रोगको रूपमा रहेको छातीको सङ्क्रमण (निमोनिया) अहिले दोस्रोमा उक्लिएको छ । निमोनियापछि मुटु रोग तेस्रोमा छ । २०१३ मा यो रोगबाट एक हजारजना मरेका थिए । गएको दशकभन्दा चार गुणाले बढी हो यो । त्यसपछि मस्तिष्कघातले मर्नेहरूको सङ्ख्या बढिरहेको छ । यो चौथो ज्यानमारा रोग मानिन्छ । नेपालीलाई बढी भएको ठानिएको उच्च रक्तचाप र मुटु रोगसँग यसको खास सम्बन्ध रहेको ठानिन्छ । सुत्यासुत्यै हुनुको मुख्य कारण यही रोगलाई मानिएको छ ।
नेपालीलाई बढी भएको भनिएको अर्का रोग मधुमेह (डायबिटिज) पनि शीर्ष दश रोगमा पर्छ । मधुमेह आफैँमा रोग नभई ‘अवस्था’ मात्र भए पनि यसले समातेपछि आँखा, मुटु, कलेजोजस्ता संवेदनशील अङ्गमा प्रहार गरी ती अङ्ग ध्वस्त बनाइदिन सक्ने हुनाले खतर्नाक मानिन्छ । दशौँ नम्बरमा रहेको यो रोगले २००३ मा हङकङमा सात सय ८३ जनाको ज्यान लिएको थियो भने २०१३ मा घटेर त्यो सङ्ख्या तीन सय ५६ मा झरेको छ । माथिका चारवटा रोगले हङकङका नेपालीलाई बढी प्रभावित पारेको विश्वास गरिन्छ । यसमध्ये पनि उच्च रक्तचापले नेपाली सबैभन्दा बढी पीडित हुन पुगेका छन् ।
ब्रिटिस हेल्थ फाउन्डेसनको ‘जाति र मुटुरोगबीच सम्बन्ध’ रिपोर्टमा उल्लेख भएअनुसार दक्षिण एसियाली समुदायलाई मुटु रोगको सम्भावना बढी हुने गर्दछ, जुन रोगले हृदयाघातसमेत निम्त्याउन सक्छ । पुस्तैनी रूपमा यस्तो ‘जोन’मा बाँचिरहेका नेपालीको अस्वस्थ जीवनशैली झन् रोग निम्त्याउने कारक बनिदिन्छ । हङकङमा नेपालीलगायत दक्षिण एसियाली समुदायमाथि भएका अध्ययनले तिनको स्वास्थ्य अवस्था राम्रो देखाएको छैन ।
‘नेपालीलगायत दक्षिण एसियाली समुदाय तेल, मरमसला र खुर्सानी बढी हालेका खाना खान्छन् । मद्यपान बेसी गर्छन्, कसरत गर्दैनन् । त्यसैले यिनलाई मोटोपन, मधुमेह र उच्च रक्तचापको खतरा बढी छ,’ डा. फान निङ भन्छन्, ‘यकिन तथ्याङ्क छैन, तर हामी के विश्वास गर्छौं भने खानपान र रहनसहनमा लापरबाह रहेका कारण हङकङमा बस्ने दक्षिण एसियाली समुदायमाझ यो रोग बढी फैलिएको हुनुपर्छ ।’
हङकङमा बस्ने मात्र होइन, नेपालमै बस्ने नेपालीमा पनि यो रोग बढी भेटिएको फानको अनुभव छ । यानचाई अस्पताल चुनवानका सर्जन डा. फान त्यतिबेला छक्क परे जतिबेला तुलनात्मक रूपमा स्वस्थ हावापानी भएको मानिएको खुम्बु क्षेत्रका बहुसङ्ख्यक मान्छेलाई मधुमेह र उच्च रक्तचाप लागेको भेटे । गतवर्ष भूकम्पप्रभावित क्षेत्रमा स्वास्थ्य सेवा लिएर जाने क्रममा डा. फानको नेतृत्वमा हङकङबाट खुम्बु क्षेत्रमा गएको टोलीले त्यस भेगमा स्वास्थ्य जाँच गर्दा अधिकांशलाई यी दुई रोग लागेको भेटेको थियो । तीमध्ये बहुसङ्ख्यक महिला यी रोगबाट पीडित थिए ।
अधिकांश नेपालीलाई के भ्रम छ भने, पहाडपखेरा हिँड्दा र शारीरिक श्रम गर्दा स्वस्थ भइन्छ र रोग लाग्दैन । तर, डा. फानका अनुसार यो धारणा वैज्ञानिक छैन । यदि यो धारणा सही हो भनेर मान्ने हो भने निर्माण क्षेत्रमा कडा मिहिनेत गर्ने हङकङका ८० प्रतिशत नेपाली श्रमिक सबैभन्दा बढी स्वस्थ हुन्थे । तर, उनीहरू नै बढी अल्पायुमै ‘सुत्यासुत्यै’ भइरहेका छन् । मोटोपन, मधुमेह र उच्च रक्तचापले उनीहरू नै बढी आक्रान्त छन् । यी रोगले हृदयाघाततर्फ लैजान्छ । बलको काम गर्नुको अर्थ कसरत गर्नु होइन, त्यो शक्ति प्रयोग गरेको मात्र हो । बलको काम गर्दा तनाव हुन्छ । कसरत भनेको तनावरहित भएर शरीरको सबै भागमा रक्तसञ्चार गराउन गरिने व्यवस्थित कर्म हो ।
हङकङका नेपालीलाई यो यथार्थ बुझाउन फानलाई समेत ठूलो सास्ती छ । आफूकहाँ आउने नेपाली बिरामीलाई खानपानमा ध्यान दिन र कसरत गर्न सुझाव दिँदा कतिपयको जवाफ माथिको गलत धारणामा आधारित हुने फान बताउँछन् । ‘तेल र पिरोले रोगसँग लड्ने क्षमता बढाउँछ, रक्सी पिउने हाम्रो संस्कृति भएकाले छाड्न सक्दैनौँ,’ नेपाली बिरामीका भनाइ उद्धृत गर्दै फान भन्छन्, ‘हामीलाई कसरत पनि गर्नुपर्दैन, किनकि हामी निर्माण क्षेत्रमा दिनहुँ १२ घन्टा काम गर्छौं ।’
रोग लागेपछि अस्पताल पुग्नुपर्छ भन्ने सोच राख्ने नेपालीलाई ७० प्रतिशत रोग खानपानका कारण लाग्छ भन्ने ज्ञान नै नभएको उनी बताउँछन् । कसरतबारे उनी भन्छन्, ‘३० प्रतिशत रोग शारीरिक अभ्यासले नियन्त्रण गर्न सकिन्छ, तर सडक र चौरमा हिँडडुल गर्दैमा स्वस्थ भइँदैन । दैनिक कम्तीमा आधा घन्टा कसरत गर्नुपर्छ । दौडने, पौडने, फुटबल, ब्याडमिन्टन खेल्नेजस्ता कर्मले शारीरिक अभ्यास हुन्छ ।’
अस्वस्थ जीवनशैलीले रोगीहरू बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तीनवटा रोग मधुमेह, मोटोपन र उच्च रक्तचापमा विशेष ध्यान दिन सचेत गराएको छ । डा. फानको भनाइमा हङकङमा ६ मध्ये एकजनालाई उच्च रक्तचापको समस्या छ, तर यो रोग लागेकामध्ये आधा मानिसलाई उच्च रक्तचापको बिरामी छु भन्ने थाहै हुँदैन । डा. फान भन्छन्, ‘धेरै सोच्नैपर्दैन, खानपान र जीवनशैलीमा सुधार गर्नुभयो भने खतरनाक रोगहरूबाट धेरै बच्न सकिन्छ ।’

– जेबी पुनमगर (नेपाल खबर)
प्रतिक्रिया