यस्ता पनि बाबु !

यस्ता पनि बाबु !


rape

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आफ्नै छोरीमाथि जबर्जस्ती गर्ने बलात्कारी बाबुलाई २१ वर्ष जेल सजाय गरेको छ । ठिमीका एक बाबुले ११ वर्षीया छोरीलाई स्कुलबाट घर फर्किएपछि यही पुस १ गते दिउँसो आफ्नै घरमा बलात्कार गरेका थिए । पीडित छोरीले दिएको बयानअनुसार स्कुलबाट उनी र बहिनी घरमा आएपछि बाबुले बैनीलाई नजिकै रहेको मामाघर पठाएर उनलाई कोठामा लगी बलात्कार गर्दै गर्दा आमाले देखेकी थिइन् । आफ्ना पतिले छोरी बलात्कार गर्दै गरेको देखेपछि उनले पतिविरुद्ध उजुरी गरेकी दिइन् । बालिकाको तत्काल स्वास्थ्य परीक्षणसमेत गर्न सकिएकाले कानुनी रूपमा सबै प्रमाण जुट्न सकेका थिए ।

सुरुमा बाबुले आफ्नी छोरीलाई बलात्कार गरेको स्वीकारे पनि पछि बयानका क्रममा इन्कार गरेका थिए । बलात्कारी बाबुलाई नाबालिकालाई बलात्कार गरेबापत ६ देखि १० वर्ष, अप्राकृतिक मैथुनबापत १ वर्ष र हाडनाता करणीको महलबमोजिम थप १० वर्ष सजाय तोकिएको छ । ठिमीमा भएको यो घटनाको संवेदनशीलतालाई ख्याल गरी पीडित र पीडक दुवैको नाम गोप्य राखिएको छ । आफ्नै बाबुबाट बलात्कृत भएको घटना भएकाले पीडक बाबुको नाम दिँदा पीडितलाई असर पर्ने हुनाले पीडकको समेत नाम गोप्य राखिएको हो । पीडकलाई थुनामा राख्न दिएको आदेशले भविष्यमा यस्ता घटनालाई निरुत्साहित पार्नेछ भनी यो फैसला र फैसला गर्ने न्यायाधीश श्रीकृष्ण भट्टराईको उच्च प्रशंसा गरिएको छ ।