
संसारकै सबभन्दा मोटी महिलाको पहिचान पाएकी मिश्रकी इमानको तौल घटाउने अप्रेसन यतिबेला भारतको मुम्बईस्थित सैफी हस्पिटलमा जारी छ । ठूलो यत्नका साथ विमानमार्फत भारत पु¥याइएपछि ११ फेब्रुअरीका दिन अस्पताल भर्ना गरिएकी इमान शरीरको अलमस्त मोटोपनकै कारण बितेको २५ वर्षदेखि घरबाट बाहिर निस्कन सकेकी थिइनन् । चाहेर पनि आफ्नै शरीर चलाउनसम्म पनि नसक्ने हालतमा रहेकी उनको उपचार सुरु भएको दुई सातामै ६० किलो तौल घटाउने सफलता सम्बन्धित चिकित्सकलाई मिलेको छ । बेडमा उत्तानो परेर सिलिङ नियालिरहन विवश इमान यतिबेला ओल्टोकोल्टो फर्किन मात्र नभई कुनै बस्तुको सहारा लिएर आफैँ उठ्न सक्ने हालतमा आइपुग्नुलाई चिकित्सा क्षेत्रमा ठूलै उपलब्धि मानिएको छ । करिब दुई वर्ष त हलचल नै गर्न नसक्ने अवस्थाबाट गुज्रिएकी उनलाई ‘मास मुभमेन्ट’ गर्न सक्ने क्षमता प्रदान गर्न चिकित्सक मिहिनेत गरिरहेका छन् । अप्रेसन नगरी उनको तौल चाहेजसरी घटाउन नसकिने, तर अप्रेसन थिएटरमा लैजान पनि इमानको जिउ एलिवेटरभन्दा ठूलो भएकाले समस्या उत्पन्न भएको छ । पाँच सय केजी तौल भएकी इमानलाई एक वर्षभित्रै २ सय केजी साइजमा ल्याउने चिकित्सको लक्ष्य रहेको बताइन्छ ।
प्रतिक्रिया