बाजलाई पनि राहदानी

बाजलाई पनि राहदानी


Baaz

बाजको ठूलै समूहले हवाईजहाजमा यात्रा गरिरहेको तस्बिर हालै सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । साउदी अरबका राजकुमारले असीवटा बाजका लागि प्लेनमा सिट बुक गराएका थिए, त्यसैको तस्बिर खिचेर कसैले सोसल मिडियामा सेयर गरिदिँदा त्यो भाइरल नै हुन पुग्यो । प्लेनमा अन्य यात्रुलाई डिस्टर्भ नगरुन् भन्ने हेतुले बाजलाई शान्त राख्न तिनीहरूलाई हुड्स पहिराइएको थियो, जसले गर्दा ती झनै अनौठा देखिन्थे । कतिपय देशले बाजलाई हवाईजहाजमा यात्रा गर्न दिनबाट वञ्चित गर्न नमिल्ने कानुन नै बनाएका छन्, जो अरब कन्ट्रीमा पनि लागू छ । त्यहाँ बाज (पन्छी)को नाममा पासपोर्ट नै जारी गरिन्छ भन्ने सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ, जब कि यूएईलगायतका खाडी मुलुकमा यो सामान्य मात्र नभई एक संस्कृति नै बनिसकेको छ । यूएईको राष्ट्रिय चरा पनि हो बाज, जसलाई खाडी राष्ट्रका अमीरहरू अत्यन्त सोखका साथ पाल्छन् र साथमा बाज हुनुलाई आफ्नो शान ठान्छन् । आफ्नो पासपोर्टमार्फत बाजहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, पाकिस्तान, मोरक्को र सिरियाको यात्रा गर्न सक्छन् । बाजको पासपोर्ट अवधि तीन वर्षको हुने गर्दछ ।