जहाँ चल्छ महिलाको राज

जहाँ चल्छ महिलाको राज


Khasi Tribs

महिलामाथिका व्यवहारको सवालमा नेपाल, भारतजस्ता मुलुक आलोचित रहँदै आएका छन् । अझ भारतका कतिपय राज्य वा समाजमा त महिला साह्रै हेपिएका छन् भन्ने बुझाइ छ । केही हदसम्म यसमा सत्यता पनि होला । तर, त्यही भारतभित्र एउटा यस्तो समुदाय पनि छ जहाँ महिला नै सर्वेसर्वा हुन्छन् भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । भारतको मेघालयमा एक यस्तो जनजाति समुदाय छ जहाँको समाज पूरापूर महिलाप्रधान छ । यहाँ सबै सम्पत्ति महिला या आमाकै नाममा रहन्छ भने महिलाले कैयन पुरुषसँग विवाह गर्न सक्छिन् । ‘खसी आदिवासी’ भनेर चिनिने यस समुदायमा बिहेपछि पुरुष घर छोडेर ससुराली जान बाध्य हुन्छ भने आमापछि सम्पत्तिको हकदार छोरीहरू हुन्छन् न कि छोराले केही पाउँछ । सबभन्दा कान्छी छोरीलाई पारिवारिक सम्पत्तिको ठूलो हिस्सा प्राप्त हुन्छ । महत्वपूर्ण पारिवारिक फैसला पनि महिला सदस्यले नै लिन्छन् भने छोरीको जन्म हुँदा धुमधामले खुसीयाली मनाउने अनि छोरो जन्मिँदा खिस्रिक्क पर्ने यहाँको प्रचलन छ । रोचक के छ भने, आफूलाई समान हक–अधिकार चाहियो भन्दै पछिल्लो चरणमा यहाँका पुरुषले आवाज उठाउन थालेका छन् ।