सन्ततिलाई दुर्व्यसनबाट……

सन्ततिलाई दुर्व्यसनबाट……


सन्ततिलाई दुर्व्यसनबाट जोगाउन अभिभावकलाई सात सल्लाह -वसन्तराज कुँवर
नेपालमा अहिले स्कुल पढ्ने छात्र-छात्रामध्ये एक लाख सात हजारले ड्रग्स सेवन गर्दछन् । भनिरहनु नपर्ला कि यसरी कुलतमा फसेका केटाकेटीहरूको भविष्य अन्धकारमय हुने सम्भावना प्रबल रहन्छ । जो-जसका छोराछोरी हाल ६ देखि १२ कक्षासम्म अध्ययन गर्दै छन्, उहाँहरूले पङ्क्तिकारका निम्न सल्लाहमा ध्यान पुर्‍याउनुहुन अनुरोध गर्दछु ।
१) ड्रग्सका कारोबारीहरूले कक्षा ६ देखि १०±२ सम्मका छात्रछात्रालाई दुर्व्यसनमा फसाउन योजनाबद्ध रूपले काम गर्दै छन् ः
ड्रग्स अर्थात् लठ्याउने -लागू) वस्तुहरू कुनै निषेधित छन् त कुनै नियन्त्रित । निषेधित गरिएका गाँजा, अफिमजस्ता वस्तुहरू खुल्ला बेच्न नपाइने हुँदा यसका कारोबारीहरूले हजारौँ प्रतिशतसम्म नाफा लिएर भित्रभित्रै बजार विस्तार गर्दछन् । सुरुमा आफैं लगानी गरी गाँजा खुवाउँछन् -सस्तो भएको कारण) र दुर्व्यसनी बनाएपछि तिनैलाई बेचेर धन कमाउन थाल्छन् । झुक्याउन सजिलो हुने भएकोले स्कुल पढ्ने विद्यार्थीलाई गलत सूचना दिएर केटाकेटीलाई रमाइलो हुन्छ वा कुनै तरिकाले मद्दत गर्छ भनेर ड्रग्स खुवाउँछन् । तिनका निशानामा तपार्इंकै बच्चा पनि परेका हुन सक्छन्, बुझिहाल्नुहोस् ।
२) एक छोरा एक छोरी साथै प्रेमी-प्रेमिका खतरामा छन् ः
ड्रग्सका कारोबारीहरूले ड्रग्स सेवन गराउँदा पहिला एकजनालाई दुर्व्यसनी बनाएपछि त्यस व्यक्तिलाई गर्नुसम्मको आर्थिक शोषण गर्छन् र उसले पैसा ल्याउन नसक्ने भएपछि ‘तिमी अरू तीनजना जतिलाई ड्रग्स खुवाऊ र दुर्व्यसनी भएपछि तिनलाई नै ड्रग्स बेची आफूले ड्रग्स खाने खर्च नाफामा निकाल’ भन्ने सल्लाह दिन्छन् । यसरी नयाँ साथी बनाउँदा सकभर एउटा मात्र सन्तान भएको सम्पन्न परिवार छनोट गर्न भनिन्छ । एक छोरा या एक छोरी भएको परिवार हरदम उनीहरूको निसानामा हुन्छन् । यदि केटा वा केटी पहिल्यैदेखि दुर्व्यसनी रहेको भए त्यस्ताले आफ्ना प्रेमी वा प्रेमिकालाई पनि दुर्व्यसनी बनाइदिन्छन् । अतः यस्तो निसानामा पर्नसक्ने परिवारका अभिभावक र्सतर्क हुनुहोस् ।
३) ड्रग्सको बारेमा सही ज्ञान राख्नुहोस् ः
धेरै परिवारलाई ड्रग्स भनेको के-के नै होला भन्ने परेको छ तर रक्सी, गाँजा, अफिम -ब्राउनसुगर, हिरोइन आदि) लगायत न्रि्रा लगाउने, खोकी रोक्ने, एलर्जी ठीक गर्ने, दुखाइ कम गर्ने, डिप्रेसनमा दिइने औषधिहरू पनि ड्रग्स हो भन्ने उनीहरूले बुझेका छैनन् । उनीहरू मेरो मान्छे, रक्सी मात्र खाने हो वा गाँजा मात्र खाने हो भनेर ड्रग्स नखाएको मान्ने गर्दछन् । वास्तवमा ड्रग्स भनेको लाग्ने वा लठ्याउने वस्तु हो र रक्सी, गाँजा पनि खतरानाक छ भन्ने बुझ्नुपर्छ । अतः प्रत्येक परिवारले ड्रग्स के हो भन्ने सम्बन्धमा राम्ररी ज्ञान राख्नु जरुरी छ ।
४) ड्रग्स सेवन गरेको कुरा तत्काल थाहा पाउनुहोस् ः
पहिला त्यस्तो समस्या त्यो घरमा कहिल्यै नभएकोले धेरै परिवारका सदस्यहरू आफ्ना केटाकेटीहरूले ड्रग्स सेवन गरिसकेका कुरा पनि थाहा पाउन सक्तैनन् । यसो हुँदा त्यो बच्चा झन्झन् दुर्व्यसनको दलदलमा फस्दै जान्छ । केटाकेटी दुब्लाउँदै जानु, राति अबेरसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने गर्नु, पढाइमा कम नम्बर ल्याउनु वा पढ्ने रुचि घटाउनु, पहिले-पहिलेझैँ आमाबाबुसँग झ्याम्मिएर कुरा नगरी एक्लै बस्ने गर्नु वा कोठामा चुकुल लगाएर बस्नु, पैसा मागिरहनु आदि ड्रग्स लिन थालेको लक्षण हुनसक्छ । अझ यसलाई पुष्टि गर्नुपरे पिसाब जाँच गरी एक मिनेटभित्रै थाहा पाउन सकिन्छ । अतः ड्रग्स लिएको पत्ता लगाउन सिक्नुहोस् ।
५) स्कुलहरूलाई दुर्व्यसनमुक्त राख्न सल्लाह सुझाव र दबाब दिनुहोस् ः
अधिकांश आमाबाबु आफ्ना छोराछोरीले हिसाब, अङ्ग्रेजी, विज्ञानलगायतका विषयहरूमा धेरै अङ्क ल्याऊन् भन्ने चाहन्छन् । त्यसका लागि स्कुलसमयपछि पनि ट्युसन पढाउँछन् । तर, ड्रग्सको बारेमा पनि ज्ञान राख्नु र त्यसमा नपरून् भनेरचाहिँ केही पनि गर्दैनन् । यसैले जुन विषयमा ज्ञान थिएन त्यही धरापमा उनीहरू पर्दछन् । अतः कक्षा ६ देखि १०±२ सम्म आफ्ना केटाकेटी अध्ययन गर्ने स्कुलमा गएर त्यहाँका व्यवस्थापकहरूलाई आफ्ना केटाकेटीहरूलाई ड्रग्सबाट जोगाउन त्यस स्कुलमा के-कस्ता प्रयास गरिएका छन् भन्ने बुझ्नुहोस् र दुर्व्यसनमुक्त स्कुल छ-छैन हेर्नुहोस् ।
६) दुर्व्यसनमा परेको भए नलुकाई उपचार केन्द्र लैजानुहोस् ः
यदि आफ्ना केटाकेटीहरू लागूपदार्थका दुर्व्यसनी भइसकेका भए नलुकाई उपचार केन्द्रमा लगिहाल्नुहोस् । त्यस्तो अवस्था या समयमा अध्ययनका लागि विदेश पठाउने, व्यवसाय गराउने वा नियन्त्रण गर्ने प्रयास नगर्नुहोस् । मोटरसाइकललगायतका सवारीसाधन प्रयोग गर्न नदिनुहोस् । फकाएर, झुल्याएर वा जबर्जस्ती भए पनि उपचार केन्द्रमा लैजान ढिला नगर्नुहोस् । व्यक्ति दुर्व्यसनमा एक्लै छिर्न सक्छ तर निस्कन कठिन हुने भएकाले अर्काको सहारा चाहिन्छ । उपचार केन्द्रबाट बाहिर आई फेरि ड्रग्स सेवन गरे फेरि पनि उपचार केन्द्र लैजान नछोड्नुहोस् ।
७) समाजलाई दुर्व्यसनमुक्त बनाउन सधंै आफ्नोतर्फबाट योगदान दिनुहोस् ः
छोराछोरी ड्रग्समा फसेपछि अभिभावकहरू रुने कराउने गर्दछन् तर तिनले आफू बस्ने समाजलाई ड्रग्सबाट सुरक्षित होस् भनेरचाहिँ आफ्नातर्फबाट कुनै पनि प्रयास वा योगदान गरेको प्रायः देखिँदैन । घरमा बार बनाई छोराछोरीकै अघिल्तिर रक्सी खाई अझ कतिपयले त छोराछोरीलाई पनि पिलाउँछन्, पार्टी भोजमा लाखौँ रुपैयाँ रक्सी खुवाउन उडाउँछन् तर लागूपदार्थ रोक्न भने एक रुपैयाँ पनि दान दिँदैनन् । यस्तो आचरणका कारण पनि समाजमा दुर्व्यसन फैलन्छ र केटाकेटीहरू फस्न पुग्दछन् । अतः आफ्ना छोराछोरीको सुरक्षाका लागि पनि प्रत्येक आमाबाबुहरूले आफू बस्ने समाजलाई दुर्व्यसनमुक्त बनाउन योगदान दिनुहोस् र यस्तो अभियानलाई मद्दत गर्ने बानी बसाल्नुहोस् ।