सिक्का आफ्नै खोटो छ

सिक्का आफ्नै खोटो छ


Sushil Devkota

■ सुशील देवकोटा

‘औँलो दिँदा डुँडुलो निल्ने’ ! यो भनाइ आजको दुनियाँमा धेरै हदसम्म मिल्छ, किनकि दुनियाँ धेरै स्वार्थी भइसकेको छ । मौका मात्रै पाउनुपर्छ यहाँ मानिसले स्वार्थ पूरा गर्न जे पनि गर्न पछि पर्दैनन् । अझ कतिपय मानिस त यस्तो मौकाको खोजीमा नै हुन्छन् जहाँ उनीहरूलाई आफ्नो स्वार्थ पूरा गर्ने कुनै अवसर मिलोस् । घर–परिवारमा झगडा वा समस्या परे र त्यो झगडा वा समस्या घर परिवारभित्रै सुल्झिन नसके छिमेकीले त्यसबाट आफ्नो स्वार्थ पूरा गर्ने अवसर पाउँछन् । त्यस्तै देशमा कुनै समस्या परे र देशको आन्तरिक समस्या देशभित्रै सुल्झाउन नसकिए छिमेकी देशहरूले त्यो झगडा वा समस्यामा समावेश हुने अवसर पाउँछन् र आफ्नो स्वार्थ पूरा गर्नपट्टि लाग्छन् ।

नेपाल र भारत यस कुराको राम्रो उदाहरण हुन् । केही वर्ष अगाडिदेखि नेपालले कहिले पनि आफ्नो आन्तरिक झगडा र समस्या आफैँ सुल्झाउनतिर लागेन र भारतले जहिले पनि नेपालको ती झगडा र समस्याबाट आफ्नो स्वार्थ पूरा गर्ने बाटो खोज्न थाल्यो ।

नेपाल र भारतको सम्बन्ध आजको होइन । यो धेरै पुरानो सम्बन्ध हो र यही मित्रता र सम्बन्धले गर्दा नै ०७ सालको परिवर्तनको बेलामा पनि भारतले नेपाललाई ठूलै सहयोग गरेको थियो । हाम्रो रहनसहन, संस्कृति र परम्परा धेरै हदसम्म एक–अर्कासँग मिल्ने भएकाले पनि हामी उत्तरी छिमेकी चीनभन्दा दक्षिणी छिमेकी भारतको धेरै नजिक छौँ । खुला सिमाना र दुवै देशको जनताबीच सहज रूपमा हुने वैवाहिक सम्बन्धले नेपाल र भारतलाई झन् नजिक ल्याएको छ । विश्वका कतिपय देशमा त भारत र नेपाल भनेको एउटै देश हो वा नेपाल भारतकै एउटा प्रान्त हो भन्नेसमेत बुझाइ रहेको छ । त्यो गलत बुझाइ हो । यसरी गलत बुझेकालाई नेपाल कहिल्यै कसैको अधीनमा नरहेको एक स्वतन्त्र देश हो भनेर सही कुरा बुझाउनुपर्छ । यो सबैभन्दा ठूलो आवश्यकता हो, यो सत्य हो । तर, त्यसरी बुझाउन नसकेसम्म उनीहरूले जसरी बुझेका छन् त्यही नै उनीहरूका लागि सत्य हो ।

यस्तो सम्बन्ध र यति घनिष्टता हुँदाहँुदै पनि किन हामी भारतको विरोध गर्छौं त ? किन भारतको विरोध गर्दा हामीले आत्मिक सन्तुष्टिको अनुभूति गर्छौं ? किनकि, हामीलाई थाहा छ– भारतले हाम्रो आन्तरिक कुराहरूमा धेरै चासो लिन्छ । हाम्रो आन्तरिक समस्याको बारेमा उसले आदेशात्मक सल्लाह दिन्छ । सहज भाषामा भन्ने हो भने उसले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्छ । कुनै पनि स्वाभिमानी नेपालीलाई अन्य कुनै पनि देशले आफ्नो देशमा यसरी हस्तक्षेप गरेको नपच्नु स्वाभाविक पनि हो । पच्नु हुँदैन पनि । त्यसैले हामीलाई पनि भारतले यसरी नेपालको स्वघोषित अभिभावक बन्न खोजेको वा ठुल्दाइ बन्न खोजेको हामीलाई पच्दैन र हामी खुलेरै भारतको विरोध गर्छौं ।

अब यहाँ सोच्नुपर्ने कुरोचाहिँ के हो भने विश्वमा वीर गोर्खाली भनेर चिनिने हामी नेपाली र हाम्रो देशमा भारतले हस्तक्षेपको आँट कहाँबाट पायो ? त्यो हिम्मत कहाँबाट ल्यायो ? जवाफ सहज छ– हाम्रा नेताहरूको स्वार्थी चरित्रले । जब हामी हाम्रो आफ्नो समस्या आफैँ सुल्झाउन अक्षम हुन्छौँ, परायासमक्ष गएर समस्या सुल्झाइदिन गुहार लगाउँछौँ र त्यहाँ आफ्नो स्वार्थ पूर्ति होस् भन्ने चाहनासमेत व्यक्त गर्छौं भने पराइले हाम्रो समस्या सुल्झाइदिएबापत आफ्नो कुनै न कुनै स्वार्थ त पूरा गर्छ, गर्छ । नेपाल र भारतको सवालमा पनि यही भएको हो ।

राम्रा कुरा शत्रुबाट पनि सिक्नुपर्छ र बैरीको पनि असल कुराको अनुशरण गर्नुपर्छ । राष्ट्रप्रेम र राष्ट्रियता हामीले भारतबाट सिक्न सक्छौँ, सिक्नुपर्छ र त्यसलाई अनुशरण गर्दै अब देशको समस्या आफैँले सुल्झाउन सक्ने र देशको लगाम आफ्नै नियन्त्रणमा राख्न सक्ने नेतृत्वको खोजी गर्नुपर्छ । नेपालको अहिलेको समस्या भनेको राष्ट्रियता नभएका हाम्रा नेताहरू हुन् । विरोध यिनको हुनुपर्छ, यिनीहरूलाई चाहिँ हटाउनुपर्छ । टाउको दुखेको औषधि नाइटोमा लगाएर बेथा ठीक हुँदैन ।

०४६ सालमा आन्दोलन सुरु गर्नुअघि गणेशमान सिंहको ठमेल, चाक्सीबारीको निवासमा एउटा भेला आयोजना गरिएको थियो र त्यसलाई सम्बोधन गर्न चन्द्रशेखर, सुब्रमण्यम स्वामीलगायतका भारतीय नेताहरू आएको धेरै पुरानो कुरा होइन । त्यहाँ उनीहरूले नेपालमा बहुदलीय शासन व्यवस्थाको आवश्यकता भएको भाषण ठोकेपछि त्यही वर्ष फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो । जनआन्दोलनको बारुद पहिलादेखि नै जम्मा गर्न थालिएको थियो, तर त्यो बारुदमा औपचारिक रूपमा आगो लगाउने काम चाक्सीबारीको भेलाले गरेको थियो । पछि नेपालमा माओवादी विद्रोह सुरु भयो त्यतिबेला पनि भारत माओवादी नेताहरूको आश्रयस्थल भयो । माओवादीहरूले आतङ्कको बाटो छोडेर शान्तिको बाटोमा आउने बेलामा गरिएको १२बुँदे सम्झौतासमेत भारतमा भयो । यसरी हेर्दा २००७ सालदेखि हालसम्म पनि नेपालमा भएका वा गरिएका हरेक राजनीतिक निर्णयमा भारत प्रत्यक्ष वा परोक्ष रूपमा समावेश भयो वा समावेश हुने मौका दिइयो ।

यसरी प्रत्यक्ष वा परोक्ष रूपमा नेपालको राजनीतिमा समावेश हुन पाएकाले भारतले नेपालको राजनीतिलाई झन् नजिकबाट चिन्ने मौका पायो । नेपालको राजनीतिक दलहरूको नाडी छाम्न पायो र को नेता कति पानीमा छन् भन्ने बुझ्ने राम्रो मौका पायो । उसले थाहा पायो कि नेपालको कुनै पनि पार्टीमा राजनीतिक अडान छैन र न कुनै नेतामा देशप्रेम छ । व्यक्तिगत स्वार्थ पूरा हुन्छ भने नेपालका प्रायः हरेक पार्टी र नेता जस्तोसुकै सम्झौता गर्न पनि तयार हुन्छन् । अनि भारतले नेपाली पार्टी र नेताहरूको यही चरित्रको फाइदा उठाउन थाल्यो ।

त्यसपछि भारतले नेपालका मामलामा निर्णायक भूमिका खेल्न थाल्यो । कहिलेकाहीँ यस विषयलाई लिएर हल्काफुल्का रूपमा विवाद वा विरोध हुँदा नेपालका पार्टी र नेताहरूलाई प्रलोभनमा पारेर त्यो विवाद वा विरोधलाई गर्भमै तुहाइदिन थाल्यो । लगाम जसको हातमा हुन्छ घोडा उसले चाहेजसरी नै कुदाउँछ । जबसम्म नेपालमा सक्रिय राजतन्त्र थियो वा संवैधानिक राजतन्त्र थियो त्यतिबेलासम्म नेपालको राजनीतिको लगाम आफ्नो हातमा लिने भारतीय इच्छामा लगाम लागेको थियो, तर जब १२बुँदे सम्झौता उसको भूमिमा गरियो तब सम्पूर्ण रूपमा नेपालको लगाम भारतको हातमा गयो । वा, १२बुँदे सम्झौताको अर्को एक बुँदाको रूपमा नेपालको राजनीतिक निर्णय गर्ने अधिकार भारतलाई हस्तान्तरण गरियो ।

आफ्नो देशको स्वतन्त्र अस्तित्व आफ्नो निजी स्वार्थका लागि विदेशीलाई सुम्पिने हाम्रा पार्टी र नेता अनि हामीले रिसचाहिँ भारतको गर्ने ? इतिहासदेखि वर्तमानसम्म भारतले नेपालमा जे–जति चलखेल गरेको छ त्यो आफ्नो राष्ट्रलाई थप शक्तिशाली र समृद्ध बनाउन गरेको छ । आफ्नो देशलाई शक्तिशाली र समृद्ध बनाउन खोज्नु र बनाउन सक्नु नै त्यस देशका नेताहरूको सफलता हो । एउटा असल नेताको लक्ष्य र धर्म यही नै हुनुपर्छ । यस अर्थमा त हामीले भारतबाट राष्ट्रियताको शिक्षा पो लिनुपर्ने होइन र ? आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न देशको अस्तित्वमाथि प्रश्नचिह््न लाग्ने गरी निर्णय गर्ने हाम्रा राजनीतिक पार्टी र नेताहरू अनि दोषचाहिँ हामीले भारतलाई दिने ? सिक्का आफ्नो खोटो छ दोष अरूलाई दिने ?

राम्रा कुरा शत्रुबाट पनि सिक्नुपर्छ र बैरीको पनि असल कुराको अनुशरण गर्नुपर्छ । राष्ट्रप्रेम र राष्ट्रियता हामीले भारतबाट सिक्न सक्छौँ, सिक्नुपर्छ र त्यसलाई अनुशरण गर्दै अब देशको समस्या आफैँले सुल्झाउन सक्ने र देशको लगाम आफ्नै नियन्त्रणमा राख्न सक्ने नेतृत्वको खोजी गर्नुपर्छ । नेपालको अहिलेको समस्या भनेको राष्ट्रियता नभएका हाम्रा नेताहरू हुन् । विरोध यिनको हुनुपर्छ, यिनीहरूलाई चाहिँ हटाउनुपर्छ । टाउको दुखेको औषधि नाइटोमा लगाएर बेथा ठीक हुँदैन ।