सबैको अग्रज ‘बूढो बाह्रसिङ्गे’

सबैको अग्रज ‘बूढो बाह्रसिङ्गे’


Muktinath Khanal

– मुक्तिनाथ खनाल

यतिखेर बिस्तारै स्थानीय तहको चुनावी माहोल बन्दै छ । राजनीतिक पार्टीहरू कुन स्थानमा कस्तो उम्मेदवार चयन गर्दा आफ्नो दलले विजय हासिल गर्छ बुझ्दै आ–आफ्नै किसिमले राजनीतिक आमसभा गर्ने लहरमा तैरिएका छन् । एमाले पार्टीले त केही अघि नै चुनावलक्षित मेची–महाकाली अभियान सम्पन्न गरिसकेको छ । बिस्तारै नेपाली काङ्ग्रेस, माओवादी, राप्रपाको पनि प्रचारप्रसार अभियान चल्न थालेको बुझिन्छ । यसरी आ–आफ्नो सिद्धान्त जनतालाई बुझाउनु कुशल नेतृत्वको परिचय पनि हो, तर आफ्नो पार्टीको सिद्धान्त र अब स्थानीय तहमा विकासका कामहरू के–के गर्न सकिन्छ जनतालाई सुसूचित गराउनुभन्दा एकले अर्को पार्टीलाई गालीगलौज गरेरै समय बिताउनु कुन हदसम्मको निचता हो ? यस्तो कुराको ख्याल गर्न नसक्ने राजनीतिक पार्टी आफैँ गिर्दै गइरहेका छन् र उनीहरूको इमेज गिर्दै जानेछ । अहिले जनता धेरै बुझेर नेताका बोली वा शब्दको तौल गर्न सक्ने भइसकेका छन् ।

साँचो भन्नुपर्दा यस्ता गालीगलौजमा अहिले एमाले नै अगाडि छ । उसका नेता तथा कार्यकर्ताको एउटै आवाज गालीगलौजका एउटै शब्द फिटी अरूलाई तथानाम भन्नैपर्ने कस्तो स्कुलिङ हो ? जोसुकै एमालेजनले बोल्दा पनि एउटै शब्दका गाली वा भ्वाइस मिल्न सक्नु पनि त्यो पार्टीभित्रको एक खास विशेषता हो । एमाले अध्यक्ष केपी ओलीमा त यस्ता शब्दको भण्डार नै छ । अरूलाई पिन्च नगरी, नहोच्याई बोल्दा आफ्नो राजनीतिक उचाइ नै गिर्छ कि भन्ने सोचले उहाँ ग्रस्त हुनुहुन्छ भन्ने ठान्दा अतिरञ्जना नठहरिएला । भद्र नेतामा गनिने एमालेका झलनाथ खनाल, माधव नेपाल, शंकर भण्डारी, प्रदीप ज्ञवालीजस्ता अलिक चिन्तनशील नेताहरूको लवजमा पनि अरूप्रति उस्तै तिखोपन सुन्नमा आउँदा एमालेको स्कुलिङकै दोष हो, व्यक्तिविशेषको होइन भन्नुपर्ने हुन्छ ।

एमालेका नेताका कटु–भाषणको सन्दर्भमा भन्नुपर्दा गत साता पोखरामा एमाले अध्यक्ष ओलीले दिनुभएको एक अभिव्यक्ति यहाँ उल्लेख गरेर हेरौँ । उहाँले काङ्ग्रेसलाई बाह्रसिङ्गे बूढो जनावर बनाउन खोज्नुभएको रहेछ । आफ्नै सिङका कारण हिँड्दाहिँड्दै जङ्गलमा जरायो अड्किन्छ भन्दै साङ्केतिक रूपमा काङ्ग्रेस पार्टीलाई व्यङ्ग्य गर्न खोज्दा उहाँ चुक्नुभएको छ । कुन शब्दले कतिबेला कहाँ कुन अर्थ निस्कन्छ भन्ने होसै नपु¥याई ओली बोल्नुभएजस्तो छ । काङ्ग्रेसलाई गाली गर्छु भन्दा उल्टो प्रशंसा पो हुन गएको छ, त्यो ओलीले ख्याल राख्न सक्नुभएन होला । त्यसो त आफ्नो पार्टीको मूल सिद्धान्त नै छोडेर दिशाहीन ढुलमुले नीतिमा अलमलिएको एमालेले अरुलाई जङ्गलमा अल्झिएको देख्नु स्वभाविक पनि हो ।

Nepali Congress

बाह्रसिङ्गे भनेको जरायो हो । त्यो सिङ भएको जरायो जङ्गलको प्रसिद्ध जनावर हो भन्ने सबै जान्दछन् । जसको सिङबाट बुझिन्छ– ऊ यथार्थमा उचाइ भएको अवश्य नै बढी उमेरको हो र अरू जनावरभन्दा आकर्षक एवम् सौन्दर्य–सामथ्र्यमा पनि अग्रज छ । ऊ पुरुष लिङ्गको नाइके नेता जसले अरू पोथी लिङ्गका जनावरलाई गन्दैन, तर सबैलाई संरक्षण गर्छ । ऊ प्रायः जङ्गलमा जाँदैन खुला मैदानमा सङ्घर्ष गर्न बस्छ । पोथी लिङ्गका जरायो एवम् स्याल, मुसालगायतका अन्य जनावर डरले जङ्गलभित्र लुक्न खोज्छन् । भयग्रस्त ती कमजोर मानसिकताका जनावरहरू जङ्गलका ओडार, कुना, झाडीभित्र लुकेर कोही हुइँया–हुइँया, कोही न्याउ–न्याउ र प्याउ–प्याउ गर्न थाल्छन् । बाह्रसिङ्गे भने लुक्दैन, यसरी आँट देखाएर खुल्लै बस्ने जरायोबाट अन्य कमजोरले संरक्षणको आशा गर्छन् । बूढो बाह्रसिङ्गे जरायोको प्रसङ्ग भयो यो ।

अब हेरौँ नेपालको राजनीतिक सन्दर्भ । राजनीतिमा एकले अर्कोलाई होच्याउने, व्यक्तिगत गालीगलोज गर्ने चरित्र राम्रो होइन । आफ्नो पार्टीको नीति, सिद्धान्त र आफूले भविष्यमा गर्न सक्ने विकासको प्रारूप (भिजन) जनतासामु राखेर भोट लिन सक्नुप¥यो । पाखुरे बल र व्यक्तिगत गालीगलौज गर्न ठूलो पार्टीलाई शोभा दिँदैन । एउटा अर्को प्रसङ्गमा केही दिनअघि काङ्ग्रेसलाई होच्याउँदै उनै एमाले अध्यक्ष ओलीले ‘काङ्ग्रेस जनताबाट रित्तिएको भाँडो…’ यस्तै केही बोल्नुभएको थियो । त्यसको जवाफ दिनैपर्ने भएर नेका केन्द्रीय सदस्य प्रदीप पौडेल र गोविन्द भट्टराईले मर्म पुग्नेगरी शिष्ट भाषामा दिएका थिए ।

हुन त नेपाली काङ्ग्रेसमा मात्र सर्वगुणसम्पन्न मानिस छन् भन्ने होइन । त्यहाँ पनि कैयन अवगुण भएका व्यक्ति छन् । नेता–कार्यकर्तामा सर्वगुण सम्पन्नता भएको भए यतिबेला नेपाली काङ्ग्रेसका केही नेताका काम–कारबाहीबाट समष्टि रूपमा काङ्ग्रेसको इमेज गिर्दै गएको दुःखद आलोचनात्मक गतिविधिले केही बुझ्ने कार्यकर्ता स्वयम् दुःखी र लज्जित हुनुपर्ने थिएन । कतिले त म काङ्ग्रेस हुँ भन्न पनि सकिरहेका छैनन्, लजाएका छन् । यसतर्फ नेपाली काङ्ग्रेस नेतृत्वले अत्यन्त गम्भीर भएर सोच्नु अपरिहार्य छ । अन्यथा सबैभन्दा ठूलो भाले लिङ्गको बाह्रसिङ्गे अग्रज जसले आजसम्म अरूसँग सङ्घर्ष गर्दै देश र जनताको संरक्षण गरिआएको छ, यस्तो अग्रज र ऐतिहासिक पार्टीको छविमा कतै नमेटिने दाग नलागोस् । बोलीमा छुरा राखेर अभिव्यक्ति दिनेहरूले साँच्चै काखी बजाएर खुसी मान्ने अवस्था नआओस् । अस्तु ।