‘श्री ५ ज्ञानेन्द्रलाई जानकारी–पत्र’

‘श्री ५ ज्ञानेन्द्रलाई जानकारी–पत्र’


एउटा सर्वसाधारण नेपालीलाई लागेको कुरा

Sushil Devkota

– सुशील देवकोटा

श्री ५ महाराजाधिराज ज्ञानेद्रवीरविक्रम शाहदेव सरकारको जुनाफमा,

सबैभन्दा पहिले म मेरो परिचय दिन चाहन्छु । म कुनै ठूलो हैसियत नभएको, तर आफू नेपाली भएकोमा गर्व गर्ने एउटा साधारण नेपाली नागरिक हुँ । अब मैले यो पत्र लेख्नुको प्रयोजनको रूपमा आफूलाई लागेका कुरा राख्ने अनुमति चाहन्छु ।

बितेका १०–११ वर्षमा मौसुफ सरकारका धेरैवटा वक्तव्य आए । ती सबै वक्तव्यमा नेता तथा पार्टीहरूलाई समसामयिक राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा आशा गरिएअनुरूप सुधार हुन नसकेकोमा प्रश्न गरी देश र जनताप्रति चिन्ता व्यक्त भएको पाइयो । नयाँ वर्ष २०७४ सालको शुभकामना बक्स हुँदा पनि त्यस्तै प्रश्न र त्यस्तै चिन्ता व्यक्त भएको देखियो मौसुफको वक्तव्यमा । जब मानिसले आपूmलाई विचलित गरिरहेको कुनै विषयमा आफ्नो प्रश्नको जवाफ पाउँछन् तब उनीहरूले आफ्नो अगाडि बढ्ने एउटा निश्चित दिशा निर्धारण गर्छन् । मौसुफले देश र जनताप्रति चिन्तित भएर अझै पनि प्रश्न मात्र उठाइबक्सँदाचाहिँ लाग्यो– मौसुफले आफ्नो प्रश्नहरूको जवाफ पाइबक्सेको छैन र मौसुफलाई आफ्नो अगाडि बढ्ने दिशा निर्धारण गर्न कठिनाइ भएको छ । त्यसैले, मौसुफको ती प्रश्नहरूको जवाफको रूपमा हालको देशको परिस्थितिमा एउटा आमनेपाली जनताको सोचाइ र भोगाइ मौसुफ सरकारमा जाहेर गर्ने अनुमति चाहन्छु यो विश्वाससहित कि यसपछि प्रश्न सोध्ने क्रममा पूर्णविराम लाग्नेछ र मौसुफलाई अगाडि बढ्ने दिशा निर्धारण गर्न सहज हुनेछ ।

मुलुक अहिले इतिहासकै जटिल परिस्थितिमा छ । संविधान जारी भएर पनि कार्यान्वयन हुन नसकेको स्थितिमा छ । मौसुफलाई अवगत नै होला यो त्यही संविधान हो जसमा चोरबाटोबाट ल्याएर गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता हुलिएको छ । यो हामी बहुसङ्ख्यक नेपालीको माग हुँदै होइन र यसको प्रमाण दिन हामी जनमतसङ्ग्रहमा जानसमेत तयार छौँ, तर विदेशीको स्वार्थको गोटी बनेर डलर पचाएका केही पार्टी र तिनका नेताले निर्ममतापूर्वक हाम्रो यो इच्छा र अधिकारलाई कुण्ठित गरिरहेका छन् । साँच्चै भन्ने हो भने हाम्रो देशको वर्तमान समस्या नै यही संविधान हो र आउने दिनहरूमा यो संविधानले समस्या समाधान गर्दैन बरु झन् समस्या थप्दै जान्छ । तर, राष्ट्रको माया नभएका नेताहरूले यो कुरा बुझेका छैनन् या बुझ्न चाहेका छैनन् या बुझेर पनि बुझ पचाएका छन् । अनि राष्ट्रकै माया नभएपछि राष्ट्रिय पहिचानको कदर नहुनु स्वाभाविक नै हो । त्यसैले विश्वकै एक मात्र हिन्दूराष्ट्रको पहिचानलाई डलरको तापले खरानी बनाइएको छ । छिमेकी राष्ट्र भारतमा त्यस देशलाई हिन्दूराष्ट्र बनाउने गौरव किन नलिने भनेर बहस चल्न थालेको छ भने हाम्रो देशमा चाहिँ भइरहेको हिन्दूधर्म फ्याँकेर धर्मनिरपेक्षता लादिएको छ । देशको वर्तमान प्रधानमन्त्री दशैँ बहिष्कार गर्छन्, तर आपूmले डलर पचाएको नुनको सोझो गर्न क्रिसमस मनाउन पुग्छन् । राष्ट्रिय पोसाक नलगाउनुलाई आफ्नो शान सम्झिन्छन् अनि विदेशीको परम्परागत लुगा लगाएर शानसँग शयनकक्षमा खिचिएको तस्बिर सार्वजनिक गर्छन् ।

देशमा प्रहरी, सरकारी कर्मचारी र नेताहरूको समेत मिलोमतोमा खुलेआम तस्करी हुन्छ र देशका बहालवाला मन्त्री गर्वका साथ आपूmहरू त सानो माछा मात्र भएको वक्तव्य दिन्छन् । प्रधानमन्त्रीका पुत्र स्वयम् देशको सुरक्षास्थितिप्रति आश्वस्त हुन नसकेर हतियार बोकेर हिँड्छन् । एउटा विदेशी कम्पनीलाई अर्बौं रुपैयाँ कर ठगी गर्न दिइन्छ । आफ्नै देशभित्र विदेशीको गोली खाएर नेपाली मर्दै छन् । जब कुर्सी र सत्ताको कुरा आउँछ तब हाम्रा नेताहरू कहिले पनि मिल्दैनन् । सधैँ एक–अर्कालाई धारेहात नै देखाउँछन् र दोषारोपण नै गर्छन् । सबैलाई सत्ता चाहिएको छ । कुर्सी नै चाहिएको छ । राजनीति भनेकै सत्ता र कुर्सी हो भन्ने सिद्धान्तले बढावा पाएको छ हाम्रो देशमा । अहिले त झन् कुर्सी भएर मात्रै पनि नहुने रे ! उसलाई मेरोभन्दा ठूलो कुर्सी किन भन्ने र त्यो झगडा निर्लज्ज तरिकाले सार्वजनिक गर्ने परम्पराको सुरुवात भएको छ । तर, जब स्वार्थ पूरा गर्ने कुरा आउँछ, भागबन्डाको राजनीतिको कुरा आउँछ तब उनीहरू कहिल्यै झगडा गर्दैैनन् । जस्तोसुकै अप्राकृतिक गठबन्धन गरेर पनि यसरी मिल्छन् उनीहरू मानाँै एकै आमाको सहोदर सन्तान हुन् । अहिले नेपालको राजनीतिक दल र तिनका नेताहरूको चरित्र र व्यवहारको कारण नेपाली जनताको मनमा जुन वितृष्णा उत्पन्न भएको छ त्यसलाई मध्यनजर गर्दा उल्लिखित घटना त सामान्य कुरा भएका छन् ।

देशको न्यायपालिकामाथि पूर्ण रूपमा विश्वास गर्न नसकिने धारणा जनमानसमा सुनिन थालेको छ । एउटा संवैधानिक निकायको प्रमुखलाई सो पदका लागि अयोग्य भनेर अदालतले निर्णय गरेर बर्खास्त गर्छ, तर त्यस्तो अयोग्य भनिएको व्यक्तिलाई सो पदमा नियुक्ति दिनेहरूचाहिँ योग्य ठहर्छन् । उनीहरूमाथि कुनै कारबाही हुँदैन । देश र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने नेपाली प्रहरी स्वयम् सुरक्षित छैनन् । दोहोरो मारमा परेको छ हाम्रो प्रहरी निकाय । एकातिर, विदेशीको डलर खाएर नेताहरूले लादेको सङ्घीयताको कथित र प्रायोजित आन्दोलनमा निमर्मतापूर्वक मर्नुपरेको छ हाम्रो देशका प्रहरी भने अर्कोतिर राम्रो काम गरेर आफ्नो सङ्गठनको उच्च पदमा पुुग्ने एउटा कर्मठ प्रहरीको सपनामा तुषारापात गर्ने काम गरिएको छ । देशको प्रहरी सङ्गठनजस्तो संवेदनशील निकाय हाँक्न योग्य मान्छेलाई पन्छाएर आफ्नो नजिकको मान्छे नियुक्त गर्ने होडबाजीमा लागेका छन् हाम्रा केही नेता । यसको अर्थ स्पष्ट छ– त्यसरी आफ्नो कृपाबाट नियुक्त भएको मानिसबाट उनीहरू आफ्नो निजी स्वार्थ पूरा गर्न चाहन्छन् ।

मौसुफको पूर्वज आदरणीय राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनिबक्सेको थियो, ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो, दुईवटै छिमेकीलाई अंगालो पनि नहाल्नू र टाढा जान पनि नदिनू ।’ तर, हाल हाम्रा राजनीतिक दल र तिनका नेताले यो समदूरीको सिद्धान्तलाई ठाडै अस्वीकार गरेका छन् र दक्षिणी छिमेकीलाई प्रभु मानेर पूजा गर्ने परम्पराको थालनी गरेका छन् । यसैको परिणाम हो एउटा स्वतन्त्र देशले आफ्नो संविधान जारी गर्दा ‘मलाई नसोधी र नभनी किन जारी गरिस्’ भन्ने हिम्मत गर्छ, अर्को देश नाकाबन्दीसमेत गर्छ । विडम्बना त के भने एकजना आफू प्रधानमन्त्रीबाट हटेर अर्को प्रधानमन्त्री भएपछि ‘मेड इन सम ह्वेयर, एसेम्बल्ड इन नेपाल’ भन्ने धारणा व्यक्त गर्छन् । यदि नेपालको प्रधानमन्त्री नेपाली जनप्रतिनिधिबाट नछानिएर ‘सम ह्वेयर’बाट बन्छन् भने उनी पनि त त्यही ‘सम ह्वेयर’बाट बनेका होइनन् भनेर पत्याउने आधार के भन्ने प्रश्न उठ्न सक्छ भन्ने पनि हेक्का राख्दैनन् यी निर्लज्ज नेताहरू ।

त्यही ‘सम ह्वेयर’ले हाम्रो देशको एउटा भूभागको केही नेतालाई आफ्नो स्वार्थका लागि उचालेका छन् र सधैँ असहमत हुने गुरुमन्त्र दिएका छन् । जति वार्ता गर्दा पनि, नेपालीले जति दुःख पाउँदा या आन्दोलनको नाममा नेपाली मारिँदा पनि उनीहरू सहमत हुँदैनन् । बरु उनीहरू आन्दोलनमा मारिए यति पैसा दिन्छौँ भनेर नेपालीको ज्यानको मूल्य तोक्छन्, तर देशलाई निकास दिन सहमत हुँदैनन् । त्यस भूभागको नेताहरूको ताल देख्दा र कुरा सुन्दा लाग्छ स्वयम् उनीहरू त्यस क्षेत्रको समस्या सुल्झियोस् भन्ने चाहँदैनन् किनकि उनीहरूलाई थाहा छ त्यहाँको समस्या सकिए उनीहरूको राजनीति गर्ने मुद्दा पनि सकिन्छ । यसरी आफ्नो निहित स्वार्थका लागि देशको एउटा ठूलो भूभागलाई उनीहरूले देशबाटै टुक्र्याएर लाने आफ्नो फोहोरी चाल चल्दै छन् ।
सङ्क्षिप्तमा भन्दा देशको समस्या यिनै हुन् जुन हाम्रा नेताहरूबाट सम्बोधन होला र समाधान होला भन्नेमा अधिकांश नेपाली विश्वस्त छैनन् । यसको विपरीत अधिकांश नेपाली त यो भयमा छन् कि नेपाल भन्ने देशको अस्तित्व त रहन देलान् यी नेताहरूले ? यसै शङ्का र डरको परिणाम हो हालका दिनहरूमा मौसुफको सवारी भएका ठाउँहरूमा उर्लेको जनसागर र मौसुफको पक्षमा गरिएका जयजयकार । सबैतिरबाट ठक्कर र ठोकर खाएका नेपाली जनता एकपटक फेरि राजसंस्थाप्रति आशावादी भएर हेरिरहेका छन् । मनमा यो विश्वास साँचेर कि आशाको एउटा त्यान्द्रोको रूपमा मौसुफ त होइबक्सन्छ ।

तर, मौसुफलाई पनि निर्णय लिन त्यति सजिलो भने पक्कै छैन किनकि गल्ती हिजो मौसुफबाट पनि भएको छ । मौसुफले अहिलेसम्म पक्कै बुझिबक्सेको हुनुपर्छ सल्लाहकार र चाटुकारमा फरक हुन्छ । प्रत्यक्ष शासन चलाउने चाटुकारहरूले देखाएको लोभमा फसेर मौसुफबाट जुन निर्णय लिइबक्स्यो त्यो स्वयम् मौसुफको लागि त घातक भयो नै देशको लागि पनि प्रत्युत्पादक सिद्ध भयो । झन् तुलसी गिरीजस्ता सारथिको चयनले राजसंस्थाप्रति नै अनादर जगाउने काम ग¥यो । तसर्थ सबैभन्दा पहिले त मौसुफले हिजो गरिएको गल्तीका लागि नेपाली जनतासँग क्षमा माग्नैपर्छ । त्यसपछि एकीकृत हिन्दूराष्ट्र नेपालको रक्षार्थ आफू अगाडि बढेर जनतालाई आफ्नो साथ आउन आह्वान गर्नुपर्छ । सबैभन्दा पहिला अस्तित्व नै सङ्कटमा परेको देशको रक्षा गरौँ भन्ने सन्देश दिन अब ढिलो गर्नुहँुदैन । खोपीमा बसेर प्रश्नका पेटाराहरू मात्र खोलेर केही हुँदैन किनकि यी राष्ट्रप्रेम नभएका नेताहरूले कुनै जवाफ दिँदैनन् । उल्टै जति ढिलो ग¥यो उति मौसुफको पनि उमेर ढल्कँदै जान्छ र नेपाल देशको आयुु पनि कम हुँदै जान्छ । तसर्थ, अब प्रश्न गर्ने क्रमलाई पूर्णविराम लगाएर के गर्न सकिन्छ त्यो गर्दाखेरि नै सामूहिक हित हुन्छ जस्तो यो नेपालीलाई लागेको छ ।
धन्यवाद, जयनेपाल ।