
■ इन्द्रबहादुर बराल
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ जारीपश्चात् पनि अनेक शङ्का–उपशङ्का उब्जिराखेको छ, संविधान कार्यान्वयन हुन्छ कि हुन्न भनेर त्यस्तो शङ्का–उपशङ्का भनेको संविधान पूर्ण कार्यान्वयन नहुँदासम्म रहिरहने देखिन्छ । पूर्वनिर्धारित समयमा अर्थात् २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचनपछि सबैखाले अन्योलहरू स्वतः हटेर जान्छ भन्ने विश्वास जनमानसलाई महसुस गराउन र संविधान कार्यान्वयनमा पनि स्थानीय तहको निर्वाचन अपरिहार्य ठानिएको छ । यो सन्दर्भमा हालै मात्र ठूला पाँच राजनीतिक दलहरूको प्रतिबद्धता आउनु अत्यन्तै सकारात्मक छ । तथापि, मधेसवादी र अन्य स–साना दलहरूको चुनाव भड्काउने नियतका नकारात्मक विचारहरूले कतै चुनाव नै हुन नदिने हुन् कि भन्ने आशङ्का देखिन थालेकोप्रति पनि सरकार र जिम्मवार प्रमुख राजनीतिक दलहरू सजग र सचेत रहनैपर्छ ।
आसन्न स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रमुख प्रतिपक्ष नेकपा एमालेले एकाङ्की राष्ट्रवादको मुद्दा उठाएको छ । यस्तो एकाङ्की र अन्धो राष्ट्रले मुलुकको राष्ट्रियता अक्षुण्ण राख्न सक्दैन । राष्ट्रियताको अमूर्त कुरा गरेर आफ्नो लोकप्रियता बढाउँदै जाँदा कहाँ पुगिन्छ भन्ने पनि हेक्का राख्नैपर्ने हुन्छ । आफैँमा राष्ट्रवादीको सुन्दर शब्दले सिँगारिनु रामै्र हो, तर राष्ट्रियताका कम्पोनेन्ट (तत्वहरू) लाई पन्छाएर शाब्दिक हल्लाले राष्ट्रियता बलियो हुँदैन भन्ने वास्तविकता पनि बिर्सन हुँदैन, जुन आज सत्य भइराखेको छ । नेपाली–नेपालीबीच विभाजन ल्याएर कस्तो राष्ट्रवादको वकालत गर्न खोजिएको हो, त्यो पनि बुझ््न त्यति गाह्रो छैन । भारतले अघोषित रूपमा लगाएको नाकाबन्दीले नेपालमा राष्ट्रवादको भावना जागृत भएर आएको हो । भारतको नाकबन्दीजस्तो अमानवीय व्यवहारले सबै मधेसी मूलका नेपालीलाई अराष्ट्रवादी र अराष्ट्रिय देख्नु दुर्भाग्य हो । संविधान संशोधनको विषय उठ्नेबित्तिकै ठूलै होहल्ला मच्चाइहाल्छ एमालेले, अनि सबै मधेसी जनतालाई अराष्ट्रिय देख्छ । आवश्यकभन्दा बढी राष्ट्रियताको बहस छेडेर आफू महान् राष्ट्रवादी बन्ने दौडमा रहेको नेकपा एमालेले एकपटक ठण्डा दिमागले सोच्न आवश्यक छ । जति पनि आन्दोलन वा क्रान्ति भए ती सबै नेपाल र नेपालीलाई सार्वभौम बनाउनका लागि भएका हुन् । चाहे त्यो २००७ सालको क्रान्ति होस् वा २०४६ को जनआन्दोलन । यस्तै माओवादीको सशस्त्र क्रान्ति होस् वा दोस्र्रो जनआन्दोलन २०६२÷०६३ किन नहोस्, यी सबै प्रकारका परिवर्तन भन्नुहोस् वा क्रान्तिले नेपाली जनतालाई सार्वभौम बनाएको हो ।
यसरी नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउने सबै तप्कालाई पन्छाएर राष्ट्रवादको एकल ढ्वाङ फुक्नाले नेपाली राष्ट्रियता कमजोर बनाउँछ भन्ने तथ्य नबिर्संदा राम्रो होला । कुनै एउटा राजनीतिक दलका नेता भारतीय राजदूतावासमा छिर्दैमा राष्ट्रियतामाथि खतरा देख्ने हो भने भारतसँग दौत्य सम्बन्ध तोड्नुप¥यो, होइन भने को कहाँ गयो भन्दैमा त्यसैलाई आधार बनाएर राष्ट्रियताजस्तो अत्यन्त गम्भीर विषय उठाएर उफ्रनुको कुनै तुक रहँदैन । हो, एउटा सत्य के हो जस्तो लाग्दछ भने दोस्रो जनआन्दोलनपछि नेपालको राजनीतिलाई केही समय अराजनीतिक रूपले ट्र्याकबाहिर लगियो । जातीयता र क्षेत्रीयताका अशोभनीय चर्का नाराले देशैभर भयानक र त्रासदीपूर्ण अवस्था सिर्जना ग¥यो । झण्डै जातीय सफायाको स्थितिमा पु¥याइसकेको अवस्था थियो । तथापि नेपाली जनता चाहे जुनसुकै जाति वा क्षेत्रका किन नहुन उनीहरूले बिग्रन लागेको जातीय एवम् क्षेत्रीय सद्भाव र भाइचाराको सम्बन्धलाई जोगाइराख्न सके ।
त्यसकारण हामी नेपालीको सदियौँदेखिको एकता र सामाजिक सद्भाव अब कसैले तोड्न सक्दैन भन्ने बलियो प्रमाण पेस गरिसकेका छन् । को आदिवासी-जनजाति, को गैरआदिवासी÷जनजाति भन्ने विषय पनि अब असान्दर्भिक भइसकेको छ । किनकि, आदिवासी-जनजाति भन्ने शब्द पनि कुनै खासखास नश्ल मात्रै हो भन्ने गलत बुझाइ पनि अब सबैले बुझिसकेको अवस्था हो भन्नु न्यायसङ्गत हुन सक्छ । जो–जसले जातिवादी र क्षेत्रीयतालाई मुद्दा उठाए राजनीतिमा तिनीहरू आफैँ नाङ्गिइसकेका छन् । नेकपा माओवादीको हैसियत त्यही कारणले उदाङ्गिएको हो भने मधेसवादी पनि त्यसैको अर्थात् माआवादीको सिको गर्दा मधेसमै नाङ्गिइसकेको देखिन्छ । सायद यिनै घटनाक्रमबाट राजनीतिक लाभ लिन फेरि नेकपा माओवादी राष्ट्रवादको नारामा आत्मकेन्द्रित भएको देखिन्छ । आत्मकेन्द्रित भएर आफू मात्रै राष्ट्रवादको हिमायती हुँदा प्रथम विश्वयुद्ध हुनुको धेरै कारणमध्ये प्रमुख कारण थियो भन्ने तथ्यतिर पनि ध्यान जानु आवश्यक छ । भनाइ नै छ– आगोको बिउ र झगडाको बिउ धेरै चाहिँदैन ।
तसर्थ, अरूको भावनामा चोट पु¥याउने कामले राष्ट्रियता बलियो बनाउन सकिँदैन, बरु सम्मान गर्नु नै राष्ट्रवादलाई मलजल गर्नु हो । राष्ट्रियताको बहस–परैवी गर्नेहरूले बिर्सन नहुने तथ्य नै त्यही हो । चाहे नेपाली जुनसुकै भूगोलमा बसेका किन नहुन् । तराई–मधेसमा बस्नेहरूको भारतीय आकृति देखिनु, हिमालमा बस्नेहरूको उत्तरतिरको झलक देखिनु भूगोलको कारण हो । भूगोल र बसोवास अनि रहनसहनले छिमेकी मित्रराष्ट्रसँग कहीँ न कहीँ कुनै न कुनै लक्षणहरू मिल्नु स्वाभाविक हो । त्यसैलाई आधारमा मानेर राष्ट्रियताको सम्बन्धमा शङ्का गर्नु नितान्त गलत हुन सक्छ । तसर्थ राष्ट्रियताका कडीहरूलाई टुटाएर होइन जुटाउन सके मात्र हाम्रो राष्ट्रियता कसैले हल्लाउन सक्दैन भन्ने शाश्वत सत्यलाई बिर्सन हुँदैन ।
महाभूकम्पपछिका घटनाक्रमलाई हेर्दा धुर्मुस–सुन्तली फाउण्डेसनले गरेका कार्य अत्यन्तै प्रशंसनीय र अनुकरणीय छन् । हिमाल, पहाड र मधेसका पीडित परिवारको पीडामा मल्लहपट्टी लगाउने काम न्यायपूर्ण रूपमा भएको छ । भूगोल, हवापानी र रहनसहनमा एकरूपता नभए पनि मानिस मानिस नै हो, उसको रूपरङ र बनोटजस्तो भए पनि । त्यसैले भोक, रोग र घरबारविहीन भएर छटपटिएका जीवित आत्माहरूको पीडाबोध गरेर धुर्मुस–सुन्तली फाउण्डेसनका संस्थाका कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले गरेका कामबाट राज्य र राजनीतिक दलहरूले आदर्शको रूपमा लिन आवश्यक छ । एकाध व्यक्तिको इच्छाशक्तिले गिरानचौरदेखि मुसहरबस्तीसम्म पु¥याएको मानवीय राहत अरूले पु¥याउन सकून् जसले राष्ट्रियताको मलजल गर्न सकोस् ।

प्रतिक्रिया