‘राजा’सँग किन डराउँछ ‘गणतन्त्र’ ?

‘राजा’सँग किन डराउँछ ‘गणतन्त्र’ ?


Deva Prakash Tripathi

■ देवप्रकाश त्रिपाठी

विक्रम सम्वत् २०६३ को वैशाख ११ गते तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट संसद् पुनस्र्थापनाको घोषणा नभएको भए २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा असम्भव थियो भन्ने तथ्य हामी सबैलाई अवगत छ । तर, ‘वैशाख ११’ लाई ओझेलमा पार्न सो दिन दिने गरिएको सार्वजनिक बिदा केही वर्षअघि हटाइएको छ र, राजनीतिजीवीहरू ‘जेठ १५’लाई मात्र स्मरणीय बनाउन प्रयत्नशील छन् । वैशाख ११ गतेलाई लोकतन्त्र दिवस या त्यस्तै कुनै नाममा स्मरण गर्दा राजसंस्था र राजा ज्ञानेन्द्रको समेत सम्झना हुने ‘खतरा’ देखेर उक्त दिनलाई विस्मृतिमा लैजाने प्रयास भएको बुझ्न गाह्रो पर्दैन । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाइँदा पनि बडामहाराजाधिराज पृथ्वीनारायण शाहसहित नेपालको राजसंस्थाले पु¥याएको योगदान स्मरण हुने मनोदशाबाट आतङ्कित भएर उक्त दिनलाई बिर्साउने प्रयास हुँदै आएको छ । राजा, राजसंस्था र शाहवंशीय राजतन्त्रबाट मुलुकमा पु¥याइएको योगदान इतिहासबाट मेटाउनकै लागि शाही नेपाल वायुसेवा निगमदेखि शाही औषधि लिमिटेडलगायत दर्जनौँ निकाय वा संस्थाबाट ‘रोयल’ अर्थात् ‘शाही’ शब्द लखेटिए । ठूला सडकलाई राजमार्ग भन्ने गरिएकोमा ‘लोकमार्ग’ शब्दको प्रयोग गर्न थालियो । राजा, राजतन्त्र, शाह र शाहीजस्ता शब्दहरूबाट ‘क्रान्तिकारी शक्ति’ यति आतङ्कित भए कि कुनै मदिराको नामसँग जोडिएको ‘रोयल’ शब्दका कारण उक्त मदिरा कम्पनी नै बन्द गराइने या नाम बदल्न बाध्य पारिने हो कि भन्ने तहको आशङ्का मदिरापे्रमीहरूले गर्न थालेका थिए ।

कुनै समय राजतन्त्र भएका मुलुकले राजाको दरबार तथा राजासँग सम्बन्धित हरेक विषय र वस्तुको संरक्षण त्यसको मौलिकता नमेटिने गरी गरेका छन् । फ्रान्सको भर्साई (भर्सेलिज सन्धि भएको स्थान) राजदरबारको सुन्दरता जोगाइराख्न फ्रान्स सरकारले कुनै प्रकारको कञ्जुस्याइँ गरकोे छैन । माओ त्से तुङजस्ता उद्दण्ड मानिने क्रान्तिकारीले पनि बेइजिङस्थित राजप्रासाद र राजाको जीवनसँग जोडिएका हरेक विषय वा वस्तुको संरक्षण गरेका थिए । ‘फ्रविडन सिटी’ र ‘समर प्यालेस’ नामले बुझिने राजा–महाराजाको चिनो जोगाउन चीनले कुनै कसर बाँकी राखेको छैन । यतिसम्म कि करिब पाँच सय वर्षअघि एक राजाले झुन्डिएर आत्महत्या गरेको रूखलाई समेत चिनियाँहरूले जस्ताको त्यस्तै संरक्षण गरेका छन् र विदेशी पर्यटक या अतिथिहरू जाँदा सो रूखसमेत देखाउने गरिन्छ । तर, यहाँ ऐतिहासिक नारायणहिटी राजदरबारलाई जस्ताको त्यस्तै संरक्षण गर्नुको सट्टा केही वर्षअघिसम्म त्यसको पर्खाललाई मूत्रत्यागका निम्ति कवचका रूपमा प्रयोग गरियो । राहदानी लिनका लागि राजधानी आउनेहरूलाई लामबद्ध भइ फोहोर गर्ने तुच्छ काम गर्न बाध्य गराएर ऐतिहासिक स्थलको चरम उपेक्षा र अपमान गर्ने कार्य ‘परिवर्तनकारी’हरूबाट भइसकेपछि नारायणहिटी राजदरबार परिसरभित्रै ‘गणतन्त्र स्मारक’को नाममा अवाञ्छित निर्माण कार्य गरी सो स्थानको मौलिकता मेटाउने प्रयास राज्यबाट नै भइरहेको छ । गणतन्त्र स्मारक बनाइदिएपछि राजा फर्किएर सोही स्थानमा आउने छैनन् भन्ने बालसुलभ उत्ताउलो मानसिकताबाट यस्तो कार्य गरिएको होइन भने सङ्घर्षको इतिहास बोकेका रोल्पाको थवाङ, काठमाडौंको इटुम्बहाल, कलङ्की चोक, गोंगबु या यस्तै कुनै स्थानमा त्यस्तो स्मारक निर्माण हुनुपर्दथ्यो । हामीलाई उपलब्ध राजनीतिजीवीहरूको मानसिक स्तर हेर्दा उनीहरू ‘नारायणहिटी परिसरमै गणतन्त्र स्मारक बनाइदिएपछि राजा या राजतन्त्र कहिल्यै फर्कनेछैन’ भन्ने रुग्ण सोचबाट अभिपे्ररित भएको देख्न–बुझ्न सकिन्छ ।

बाह्यबलमा गणतन्त्र घोषणा गरिएका कारण ‘गणपति’हरू आफ्नो ‘स्टे«न्थ’प्रति ढुक्क हुन सकेका छैनन्, न राजा र राजसंस्थाको शक्ति र प्रभावप्रति नै उनीहरू जानकार हुन सकेका छन् । बलवान देखिने राजसंस्थालाई विस्थापित गर्न सक्ने, शक्तिशाली ठानिएका राजालाई दरबारबाट बाहिरिन बाध्य पार्न सक्ने अदृश्य शक्तिले नजाने कुन बेला राजसंस्था पुनर्वहाली गराइदिने हुन् भन्ने त्रास राजनीतिजीवीहरूमा देखिन्छ, त्यसैले उनीहरू बारम्बार झस्किरहन्छन् ।

नेतृत्व अदृश्य शक्तिको नियन्त्रणमा, नेतृत्वको नियन्त्रणमा कार्यकर्ता र कार्यकर्ताको कब्जामा जनता रहनुपर्ने व्यवस्थाको नाम गणतन्त्र होइन । तर, हामीले भोगिरहेको गणतन्त्रचाहिँ यस्तै छ, जहाँ जनताको चाहना र भावना नियन्त्रित र नेताको सोच एवम् व्यवहारचाहिँ उन्मत्त छ । जसरी कुनै पनि प्रकारको निरङ्कुशता टिक्न केन्द्र अर्थात् शासकीय शक्ति बलियो हुनुपर्छ, त्यसैगरी गणतन्त्र बलियो हुन जनसमूहको भूमिका निर्णायक रहने अवस्था बन्नुपर्छ । यहाँ हामी गणतन्त्रको आधारभूत मूल्यभन्दा ठीक विपरीत अवस्था व्यहोर्दैछौँ– नेता सर्वशक्तिमान र जनता निरीह ।

विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा अहिले पनि राजतन्त्रात्मक प्रणाली कायम छ । तर, राजतन्त्र भएका जापान, नेदरल्यान्ड, ब्रिटेन, स्वीडेन, डेनमार्क, जोर्डन, साउदी अरब र थाइल्यान्डलगायतका कुनै पनि मुलुकको एकीकरण वा स्थापना राजाबाट भएको होइन । नेपाल मात्र एउटा यस्तो देश हो जसको स्थापना र एकीकरण राजाबाट भएको थियो र जुन राजाबाट देशको स्थापना भयो तिनै राजाको वंशजले राजसंस्थाको नेतृत्व गरिरहेको थियो । मुलुकभित्र प्रकोपको रूपमा भित्रभित्रै बढिरहेको बाह्य प्रभाव र जनतामा विकसित भिन्न चेतनास्तरबारे अनुभूत गर्न नसक्दा राजाले शासन गर्ने इच्छा राखे र राजाको त्यही इच्छा गणतन्त्र घोषणाको आधार–कारण बन्न पुग्यो । राजा आफैँ शासन गर्न अग्रसर नभइदिएको भए नेपालमा गणतन्त्र कम्युनिस्ट पार्टीहरूको दस्तावेज र अदृश्य शक्तिको मानसपटलमा मात्र सीमित रहन सम्भव थियो । यसर्थ गणतन्त्र घोषणा हुनुमा राजाको समेत ‘योगदान’ भएको बुझ्न सकिन्छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि जति सजिलै यहाँ गणतन्त्र घोषणा भयो त्योभन्दा सजिलोसँग राजाले नारायणहिटी राजदरबार छोडेका हुन् । राजाको नाममा शपथ खाएका सेना, प्रहरी, निजामती सेवा र तिनका साथमा यथेष्ट राजनीतिकर्मी रहेको अवस्थामा गणतन्त्र घोषणाको कल्पना एउटा दुरुह कार्य प्रतीत हुन्थ्यो, तर राजसंस्था सङ्कटमा परेका बेला ती कोही पनि काम लागेनन् । राज्य संरचनाका हरेक अङ्ग राजासँग यसरी टेढिए कि ती कसैले राजालाई साथ दिएनन् । बडो अपत्यारिलो किसिमबाट राजाको शासन–प्रशासन तासको महलझैँ गल्र्यामगुर्लुम ढल्यो । तथापि त्यसबेला राजाले सामान्य प्रतिरोधसमेत गरेनन्, गर्न खोजेनन्, बरु चुपचाप दरबार त्यागेर बाहिरिन राजा तयार भए, यति सजिलै राजा किन पछि हटे भन्ने प्रश्न जनजनको मनमा अझै छ ।

राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा भएपछि राजाले आफ्नो परिवारसहित देश त्याग्ने अनुमान गरिएको थियो । दुई ठूला छिमेकी मुलुकहरूबाट राजालाई शरण दिइने सन्देश प्राप्त नभएको पनि होइन, तर हाम्रो अनुमान र छिमेकीहरूको आमन्त्रणलाई राजाले स्वीकार गरेनन्, बरु नागार्जुनको वनमा बसोवास गर्न उनी तयार भए । जनता, सेना, प्रहरी र प्रशासन सबै पराया भएको अवस्थामा पनि राजाले यही देशमा जीवन बिताउने साहस कसरी गर्न सके होलान्, यो प्रश्नको जवाफ राजा स्वयम्बाट अहिलेसम्म आएको छैन र उनीसँग कसैले त्यसको जवाफ प्रत्यक्ष रूपमा खोजेका पनि छैनन् । गणतन्त्र घोषणाको दशकभित्रै परिवर्तनको संवाहक बनेका दलहरू रक्षात्मक अवस्थामा पुग्ने र दलका नेताहरू जनदृष्टिमा नालायक पुष्टि हुने कल्पना राजा स्वयम् र विश्लेषकहरूले गर्न सकेका थिएनन् । अहिले पनि राजाको कुनै पार्टी सङ्गठन छैन, संविधान, नियम, कानुन र राज्यसंयन्त्र राजाका अनुकूल छैनन्, राज्यसंयन्त्र र जनताको मालिकका रूपमा राजनीतिक दलका नेताहरू नै देखिएका छन् । राजा र राजसंस्था अनुकूल न बाह्य परिस्थिति बनेको छ न देशभित्र राजालाई काँध दिन कुनै सङ्गठित संस्था तयार भएको छ, यस्तो अवस्थामा पनि गणतन्त्र किन राजासँग डराउँदै छ– सोचनीय प्रश्न खडा भएको छ । समय–समयमा मठ–मन्दिरमा पुगी देवी–देवताको दर्शन तथा पूजाअर्चना गर्ने र नयाँ वर्ष, विजयादशमी, दीपावली तथा प्रजातन्त्र दिवसका अवसरमा शुभकामना मन्तव्य प्रकट गर्नेबाहेक अन्य कुनै क्रियाकलाप राजाबाट भएको पाइन्न । तथापि गणतन्त्र बेलाबखत राजासँग थर्कमान भएको व्यवहार किन प्रस्तुत भइरहेछ ? नागरिक भूमिकामा रहेका राजाले शुभकामनाका केही शब्द प्रकट गर्दा, सचेत नागरिकका रूपमा देश र जनताप्रतिको चिन्ता जाहेर गर्दा, उनका हात–पाउ चलमलाउँदा या राजाका आँखा झिम्किँदा गणतन्त्र किन झस्कन्छ, ‘गणपति’हरू किन रुवाबासी गर्न थाल्छन्– आमजनताले बुझ्न चाहेको विषय हो । त्यसैले नारायणहिटीबाट बाहिरिएका ‘राजा’सँग गणतन्त्र र ‘गणपति’हरू भयभित रहनुका केही कारणबारे सङ्क्षिप्त उल्लेख गर्नु वाञ्छनीय ठानिएको छ ।

कुनै पनि मानिस आफ्नो पौरखमा प्राप्त उपलब्धिप्रति गौरवान्वित हुन्छ र आफ्नै बुतामा बाघलाई काबुमा राख्ने क्षमता कसैमा हुन्छ भने त्यस्ता मानिसलाई बाघसँग पनि डर हुँदैन । सार्वजनिक भाषणहरूमा ‘गणपति’हरू आफैँले गणतन्त्र ल्याएको दाबी गर्ने गरे पनि उनीहरू स्वयम् आफूहरूले गणतन्त्र स्थापना गरेकोमा विश्वस्त छैनन् । कसले कसरी गणतन्त्र घोषणाा गर्ने तहसम्म आफूहरूलाई पु¥याइदियो भन्ने विषयमा ‘गणपतिहरू’ राम्रोसँग जानकार छन् । कुनै विभागमा कसैलाई ‘निमित्त’ दिएर सर्वाधिकारसम्पन्न हाकिम बनाइए पनि त्यस्ता मानिस वास्तविक हाकिमसँग सधैँ डरको भाव राख्दछन्, उनीहरूमा आफू साँच्चै हाकिम बनेको अनुभूति हुँदैन । त्यस्तै, नेपालमा जो–जसले गणतन्त्र स्थापना गरेको दाबी गरेका छन् तिनले ‘निमित्त’को भूमिका मात्र निर्वाह गरेका हुन् । त्यसैले साँच्चै ‘गणपति’ बनेको महसुस नेपालका कुनै पनि दलसम्बद्ध नेताहरूले गर्न सकेका छैनन् । बाह्यबलमा गणतन्त्र घोषणा गरिएका कारण ‘गणपति’हरू आफ्नो ‘स्टे«न्थ’प्रति ढुक्क हुन सकेका छैनन्, न राजा र राजसंस्थाको शक्ति र प्रभावप्रति नै उनीहरू जानकार हुन सकेका छन् । बलवान देखिने राजसंस्थालाई विस्थापित गर्न सक्ने, शक्तिशाली ठानिएका राजालाई दरबारबाट बाहिरिन बाध्य पार्न सक्ने अदृश्य शक्तिले नजाने कुन बेला राजसंस्था पुनर्वहाली गराइदिने हुन् भन्ने त्रास राजनीतिजीवीहरूमा देखिन्छ, त्यसैले उनीहरू बारम्बार झस्किरहन्छन् । राजसंस्था पुनस्र्थापित हुँदा आफूहरू विस्थापित हुने अवस्था आउन सक्छ भन्ने आशङ्काले पनि उनीहरू राजासँग त्राहीमाम भएका हुन् भन्न सकिन्छ । आफ्नै शक्ति र सामथ्र्यमा गणतन्त्र घोषणा गरिएको भए ‘गणपति’हरूमा आत्मविश्वासको बढोत्तरी हुन सक्थ्यो र उनीहरूमा गणतन्त्र खारेज हुने या राजतन्त्र पुनर्वहाली हुनेस्तरको शङ्का या त्रास उत्पन्न नहुन पनि सक्थ्यो । अर्काको बलमा ‘गोल’ गरेकै हुनाले समकालिक राजनीतिजीवीहरूमा आत्मविश्वासको कमी भएको र आफूले गरेको भनिएको ‘गोल’को रहस्य जनताले बुझेका दिन खारेजीमा पर्ने सन्त्रासले पनि उनीहरू सधैँ आतङ्कित बनेका हुन् ।

मठ–मन्दिरमा पुगी देवी–देवताको दर्शन तथा पूजाअर्चना गर्ने र नयाँ वर्ष, विजयादशमी, दीपावली तथा प्रजातन्त्र दिवसका अवसरमा शुभकामना मन्तव्य प्रकट गर्नेबाहेक अन्य कुनै क्रियाकलाप राजाबाट भएको पाइन्न । तथापि गणतन्त्र बेलाबखत राजासँग थर्कमान भएको व्यवहार किन प्रस्तुत भइरहेछ ? नागरिक भूमिकामा रहेका राजाले शुभकामनाका केही शब्द प्रकट गर्दा, सचेत नागरिकका रूपमा देश र जनताप्रतिको चिन्ता जाहेर गर्दा, उनका हात–पाउ चलमलाउँदा या राजाका आँखा झिम्किँदा गणतन्त्र किन झस्कन्छ, ‘गणपति’हरू किन रुवाबासी गर्न थाल्छन्– आमजनताले बुझ्न चाहेको विषय हो ।

‘गणपति’हरूको हातमा सम्पूर्ण सत्ता आएपछि देशको सर्वभौमिक स्वतन्त्रतामा क्षति पुगेको, राष्ट्रियता कमजोर बनेको, सामाजिक सद्भाव खलबलिएको, अपराध र अपराधीकरण बढेको, अधिक राजनीतीकरणले राज्यसंयन्त्र र समाजलाई क्षतविक्षत बनाएको, भ्रष्टाचार तथा अनियमितता प्रोत्साहित हुँदै गएको, जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन नसकेको र विकास तथा समृद्धिको गति शिथिल तुल्याइएकोले जनतामा निराशा बढेको छ । राजनीतिजीवीहरूको सोच, शैली र व्यवहारका कारण गणतन्त्रप्रति जनतामा ‘वैराग्य’ पैदा हुन थालेको देखिन्छ भने राजाका प्रति सहानुभूति बढ्ने क्रमारम्भ भएको छ । गणतन्त्र स्थापनामा जनताको प्रत्यक्ष सहभागिता नगराइएकोले पनि एकप्रकारको असन्तुष्टि समाजमा जीवित छँदै थियो, नेतृत्वको व्यवहार र तिनको कार्य–परिणामले राजाप्रति सहानुभूति बढाउने स्थिति पैदा गरेको हो । नागरिक जीवन बिताउने सहज अभ्यास राजाबाट भइरहँदा पनि उनीप्रति जनताको बेग्लै र विशिष्ट आकर्षण जीवित रहनु पनि ‘गणपति’हरूको लागि चुनौती बन्न पुगेको हो भन्न सकिन्छ । कारण र अवस्था जे रहे पनि विश्वमा नागरिक बनेका राजासँग भयभित गणतन्त्र कहीँ छ भने त्यो नेपालमा हामीले व्यहोरिरहेका छौँ र साँचो अर्थको प्रजातन्त्र स्थापना नभएसम्म हामी सम्भवतः यस्तै अन्योलको भुमरीबाट गुज्रिरहनेछौँ ।