पात्र बालचन्द्र शर्मा

पात्र बालचन्द्र शर्मा


sn-karki

– स्वयम्भूनाथ कार्की

बालचन्द्र शर्मा बीपीको आत्मवृत्तान्त किताबमा देखापरेका रोचक पात्र हुन् । भारतीय स्वतन्त्रता आन्दोलनमा पनि सक्रिय बालचन्द्रको बीपीसँग पहिलो भेट भने बीपीको सङ्गठन गर्ने प्रयत्नमा भयो । परिच्छेद १० अनुसार जयप्रकाश नारायण, राममनोहर लोहियासँगको सङ्गठन खोल्ने सल्लाहपछि बीपी बनारस आए । त्यहाँ उनले कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराईसँगै बालचन्द्र शर्मालाई पनि भेटे । बालचन्द्र एम.ए. पास गरेर नोकरी खोज्दै थिए । बालचन्द्रसँगको पहिलो भेटबाटै बीपी उनीसँग प्रभावित भएको छनक पाइन्छ । नेपाली राष्ट्रिय काङ्ग्रेसको पहिलो सेक्रेटरीको रूपमा बालचन्द्र शर्माको नाम निर्विवाद रह्यो । डिल्लीरमण रेग्मीसँगको खिचखिचले जेलमा भएका टंकप्रसादलाई मानार्थ अध्यक्ष बनाएर आफूले कार्यबाहक अध्यक्षको जिम्मेवारी लिए पनि सेक्रेटरी बालचन्द्र शर्मा निर्विवाद र सम्भवतः निर्विरोध सेक्रेटरी चुनिएका थिए । बालचन्द्रले कार्यबाहक अध्यक्षको साथ आँखा चिम्लेर दिएका थिए ।

गठनको पुगनपुग दुई महिनामा नै विराटनगरमा गिरिजाको नेतृत्वमा सुरु भएको आन्दोलनमा साथ दिन आएका बीपी जब परिवारसहित पक्राउ परे त्यसबेलामा गोपालप्रसाद भट्टराईसँगै महामन्त्री बालचन्द्र पनि पक्राउ परे । जुटमिलको आन्दोलन र भर्खर जन्मेको नेपाली राष्ट्रिय काङ्ग्रेसको सुदृढीकरण गरेर राष्ट्रिय आन्दोलनको विजारोपणमा कुन कुरा प्राथमिकतामा हुनुपर्ने थियो भन्ने केलाउने यस आलेखको उद्देश्य होइन । जे होस्, मातृका सो पक्राउबाट बच्न सफल भए, उनले आफूलाई राणाशासनको अन्त्यसम्म पक्राउबाट बचाएर राखे । यसरी उनले आफूलाई मात्र होइन नवजात काङ्ग्रेसलाई पनि नेतृत्वविहीनताबाट बचाए । बालचन्द्र बीपीसँगै जस्तो पक्राउ परेको भए पनि सम्भवतः छिट्टै छुटे । परिच्छेद १४मा जेलमा बीपीको घाँटीको बिमारीमा गान्धीसँग सहानुभूति लिन जानेमा कृष्णप्रसाद भट्टराईसँगै बालचन्द्र पनि भएको उल्लेखले उनी छुटेको प्रमाणित गर्छ ।

जब नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाली डेमोक्रेटिक काङ्ग्रेसको एकीकरण भयो, धेरैजसो कुरा बीपीको प्रस्तावअनुसार नै भयो । यस बखतका दुई कुरामा बीपीको चित्त बुझेन, पहिलो कुरा आफ्नोतर्पmले अध्यक्षता पाउँदा पनि त्यो पद आफूले पाएनन्, मातृकाले पड्काइदिए । अर्को कुरा लेख्ने, पढ्ने सारा व्यवस्था गर्ने बालचन्द्र शर्मा सेक्रेटरी हुन पाएनन् । आफ्नो पदबारे त बीपी मौन नै रहे, तर बालचन्द्रको निमित्तचाहिँ मनमुटाव हुने गरेर भनेको कुरा परिच्छेद २५मा उल्लेख गरेका छन् । बालचन्द्र सेक्रेटरी नभएकोमा चित्त नबुभ्mनेमा बीपी एक्ला भने थिएनन्, के.आई. सिंहलाई पनि चित्त बुझेन । त्यो जमानामा एम.ए. पास निकै ठूलो योग्यता थियो । बी.ए. पासले त आफ्नो नामको पछाडि सगर्व बी.ए. भनेर उल्लेख गर्ने जमानामा एमए योग्यताले सम्भवतः बीपीलगायत मन्त्रमुग्ध भएका थिए । जे होस्, के.आई. सिंहलाई यसोउसो गरी ठिक पार्न सुवर्णशमशेरलाई कठिन भएन ।

बालचन्द्र शर्मा

क्रान्तिमा बालचन्द्र शर्मा भैरहवा खटाइएका थिए, केआई सिंह पनि त्यतै थिए । किताबका अनुसार गडबडी त्यतैतर्पm भयो । त्यो गोलमालको उल्लेख गर्दा भने बीपीले केआई सिंह र बालचन्द्र शर्मालाई गडबडी गर्ने तत्व भन्न पुगेका छन् । परिच्छेद ३१मा बालचन्द्र शर्मा समूहको कामबाट आफू र सङ्गठनलाई तटस्थ राखेका छन् ‘बालचन्द्र शर्मा त्यतैपट्टि थिए, स्वतन्त्र रूपमा काम गरिरहेका थिए । उनको भूमिका उचि राम्रो थिएन । बालचन्द्रले लुट्ने र यस्तै काम गरिरहेका थिए ।’ केआई सिंहको विद्रोहजस्तै असन्तोषको सम्बोधन गर्न भैरहवा पुगेका बीपीले बालचन्द्रलाई बाटोमा ल्याउने कुनै प्रयत्न गरेको उल्लेख छैन । त्यसैले बालचन्द्रले क्रान्तिको मौका छोपेको जस्तो पनि लाग्न जान्छ । किताबमा पहिले बालचन्द्र ठुटीबारी, भैरहवातर्पm राखेको र बालचन्द्रले स्वतन्त्र रूपमा काम गरेको कुरा एउटै परिच्छेदमा हुनुले गरेको सङ्केत के हो भने त्यसबेला बालचन्द्र शर्माले केन्द्रीय नेतृत्वसँग वा केन्द्रीय नेतृत्वले बालचन्द्रसँग सम्बन्धविच्छेद गरेको थियो ।

बीपी गृहमन्त्री भएपछि अर्थात् क्रान्तिको समाप्तिपछि पनि भैरहवातर्पm लुटपाट भइरह्यो । परिच्छेद ३९को थप खण्डमा उल्लेख छ– बालचन्द्र शर्माले भयानक लुटपाट र उत्पात गरेको रिपोर्ट आएकाले केआई सिंह र बालचन्द्र शर्मालाई (भारतीय) बोर्डर पुलिस को सहयोगमा समातियो । रक्सौलमा हुन लागेको नेपाल–भारत सुरक्षा सम्मेलनमा जानुभन्दा पहिले नै बीपीले केआई सिंहलाई थुनामै राम्रो व्यवहार गर्ने र बालचन्द्रलाई रिहा गर्ने आदेश दिए । संयुक्त सुरक्षा सम्मेलनमा भारतीय पक्षले आफ्नो सहायताले पक्रेको बालचन्द्रलाई छोडेकोमा आपत्ति जनायो । जवाफमा बीपीले क्रान्तिकालमा कुराहरू अपराध नहुने र आपूmले बालचन्द्रलाई रिहा गर्न उचित सम्झेको जवाफ दिए । यसरी आफ्नो रोचक व्यक्तित्वले बालचन्द्र रिहा मात्र भएनन् काङ्ग्रेसभित्र प्रभावशाली स्थान पनि हासिल गर्न सफल भए ।

बालचन्द्र शशिभवनको मिटिङमा बीपीको आलोचना गर्न पुगे । यो मिटिङ नै केवल आफूलाई विरोध गर्न सुनियोजित ढङ्गले बोलाएको निष्कर्षमा बीपी पुगेका छन् । यसमा खरो रूपमा केदामान व्यथितले बोलेको र बालचन्द्र पनि आफूप्रति आक्रामक भएको बीपीको ठम्याइ छ । आफूमाथिको अनुशासनको कारबाहीको मागमा बीपीले भावुक कुरा राखेपछि मातृकाले त्यो जवाफलाई पर्याप्त मानेर थामथुम पार्ने कोसिस गरे । अध्यक्षको यो निर्णयको विरोधमा बालचन्द्रहरूले सभा बहिष्कार गरे । किताबको पात्रको रूपमा बालचन्द्र–बीपीको सम्बन्धको यो मोड बुभ्mन कठिन छ । छायाजस्तो हमेसा बीपीलाई साथ दिएका बालचन्द्र भैरहवामा किन लुटपाट मच्चाउन पुगे, केआई सिंहलाई थुनेर करिब सुपुर्दगीजस्तै भारतले पक्रेर बुझाएको बालचन्द्रलाई किन रिहा गरे, अनि आफूलाई यसरी काखी च्याप्ने बीपीको मानमर्दनको प्रयत्न शशिभवन काण्डमा किन भयो ? यस्ता प्रश्नहरू किताबमा अनुत्तरित नै छन् ।