
राजस्थान (भारत)मा कन्जड समुदाय बस्ने रामनगर नामक एउटा सानो गाउँ छ । लगभग पाँच सयजति मानिसको बसोबास रहेको रामनगर पुग्नुभयो भने त्यहाँ तपाईंले ‘राष्ट्रपति बाख्रा चराउन गएको’, ‘प्रधानमन्त्री घरायसी सामान किन्न बजार गएको’ जस्ता कुरा सुन्नुहुनेछ । राष्ट्रपति बाख्रा चराउन गए होला्न ? अनि प्रधानमन्त्री किनमेलमा निस्केकै हुन् त ? यस्तो कुतूहल जो–कसैमा पैदा हुनु स्वाभाविक छ । वास्तवमा रामनगरका लागि प्रधानमन्त्री किनमेलमा जाने, राष्ट्रपतिले गाईवस्तु चराउने कुरा कुनै अनौठो होइन । बालबच्चाको नाम नै प्रधानमन्त्री, राष्ट्रपति राखिदिएपछि त्यस्तो हुने नै भयो । बिमार भई अस्पताल पुग्ने कन्जडहरू डाक्टरसँग ‘एन्ड्रोएडलाई पखाला लागेको छ’, सामसुङको टाउको तीन दिनदेखि दुखिरहेको छ,’ ‘एप्पललाई ज्वरो आएको तीन दिन भयो’ जस्ता गुनासोसहित उपचार गरिदिन अनुरोध गर्छन् । यथार्थ के हो भने कन्जड समुदायका मानिस अशिक्षित छन्, तर आफ्ना बालबालिकाको नाम भने प्रधानमन्त्री, राष्ट्रपति, सामसुङ, सिमकार्ड, मिसकल, जियोनी, राज्यपाल, हाइकोर्ट आदि यस्तै–यस्तै राखिदिने गर्छन् । जम्मा पाँच सयजतिको आवादी रहेको सो समुदायमा यसरी नाम राख्ने प्रवृत्ति कसरी विकास भयो– बेग्लै चासोको विषय हो, तर यस्ता नामकै कारण सो समुदाय विशेष चर्चामा भने आएको छ ।
प्रतिक्रिया