
आफ्नो समयको सबभन्दा ठूलो सामुद्रिक दुर्घटना झेलेको टाइटानिक जहाजको चालक दलमा सामेल तथा उक्त कालजयी दुर्घटनाबाट बच्न सफल रहेकी मबेल बेनेटले टाइटानिक दुर्घटनाको समयमा पहिरिएको भुवावाला कोट २ लाख ३२ हजार डलरमा लिलामी भएको छ । हालै भएको लिलामीमा अनुमान गरिएभन्दा करिब दुई गुणा ज्यादा मूल्य चुक्ता गरी ऐतिहासिक घटनामा साक्षी रहेको सो कोट एक बेलायती सङ्ग्रहकर्ताले हात लगाएका हुन् । जहाज डुब्दै गर्दा टाइटानिकका यात्रु तथा चालक दलका सदस्यले ज्यान जोगाउने प्रयत्नस्वरूप लाइफबोटमा सवार हुन तँछाडमछाड गरेका थिए । बेनेटले उक्त कहालीलाग्दो घडीमा चिसोबाट बच्ने इरादाले कसैको उक्त लामो कोट पहिरिएकी थिइन् । उक्त दुर्घटनाबाट बच्न मात्र सफल नभई मबेल बेनेटले ९६ वर्ष लामो आयु बाँचेर सन् १९७४ मा संसारबाट बिदा लिएकी थिइन् । साठीको दशकमा आफ्ना एक नातेदारलाई तिनले सो कोट उपहारस्वरूप दिएकी थिइन् । हालै अमेरिकामा आयोजित टाइटानिकसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीमा उक्त कोट पनि सामेल गरिएको थियो । प्रदर्शनीमा उक्त कोट सर्वाधिक चर्चा र आकर्षको केन्द्र बनेको थियो ।
प्रतिक्रिया