
– यादव शर्मा
नानीमैया दाहाललाई व्यवस्थापिकाको सदस्यमा काठमाडौंका मतदाताले निर्वाचित गराएको हेरियो र यसलाई निकै रमाइलो मानेर ग्रहण गरियो । गोल्छे सार्की मन्त्री बनेका, सुजाता कोइराला उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएको, ऋषि धमला पत्रकार बनेको पनि हेर्नुपरेकै हो । हेर्दाहर्दै हजारौँ निर्दोष मानिसको हत्या, लुटपाटमा संलग्न व्यक्तिहरू प्रधानमन्त्री, मन्त्री र अनेकौँ उच्च जिम्मेवारीमा पुगेको पनि देखियो । निर्धन र कमजोर चेतनास्तरको मुलुकमा यस्तै हुँदो रहेछ भनेर चित्त पनि बुझाइएको हो । हुँदाहुँदा यसपटक त प्रचण्डले ‘महान्’ नैतिकता प्रदर्शन गरेर प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्नेसम्म सुन्नुप¥यो । व्यापक प्रचारका साथ प्रचण्ड नैतिकवान भएको स्थापित गर्न खोजिँदै छ । चाल्र्स शोभराजलाई साधुसन्तका रूपमा कसैले चित्रण गरेमा उत्पन्न हुनेस्तरको पीडाबोध हुने गरी प्रचण्डलाई नैतिकवानका रूपमा प्रचार गरिएको छ ।
कसैको हत्या गर्न–गराउन चाहने कि नचाहने, मुख्य प्रश्न यो हो । कसैले कसैको हत्या गराउन या गर्न चाहेमा ढिलो–चाँडो त्यो सम्भव हुन सक्छ । हिंसा र उत्पात मच्चाउन धेरै ठूलो क्षमता र सामथ्र्य चाहिन्न, विकृत दिमाग र चरम महत्वाकाङ्क्षाले विक्षिप्त दिमाग हिंसा र उत्पातका लागि पर्याप्त हुन्छ । इमानदारी, क्षमता, दूरदृष्टि र प्रतिबद्धता हुनेले बिनारक्तपात नै परिस्थितिलाई बदल्न सक्छन्, देशलाई समृद्धिको शिखरमा पु¥याउन सक्छन् । करमचन्द गान्धीले शान्ति र अहिंसालाई साधन बनाएर पनि धेरै ठूलो राजनीतिक परिवर्तन गराएका हुन् । नरेन्द्र मोदी शान्तिपूर्ण तवरबाट नै भारतलाई परिवर्तन गर्न अग्रसर र सफल देखिँदै छन् । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालमा पनि शान्तिपूर्ण ढङ्गले धेरै ठूलो परिवर्तन भएको हो । सिङ्गापुरका ली क्वान यु, दक्षिण कोरियाका पार्क चुङ्ही र मलेसियाका महाथीर मोहम्मदले आफ्ना मुलुक बदल्न र समृद्धिको शिखरमा पु¥याउन शान्तिपूर्ण एवम् अहिंसात्मक मार्ग नै अवलम्बन गरेका हुन् । माओत्से तुङले करिब ६ करोड चिनियाँ नागरिकको हत्या गरेर पनि चीनको समृद्धिसँग उनलाई जोड्ने गरिँदैन । देङ सियाओ पिङले हिंसा र हत्याको सहारा नलिईकन नै चीनलाई रातारात समृद्ध मुलुकको कोटिमा पु¥याएका हुन् । प्रचण्डको पहिलो (२०६५) कार्यकालभन्दा दोस्र्रो (२०७३) कार्यकाल केही परिपक्व देखिनुको अर्थ यो होइन कि उनले देश तथा नेपाली समाजलाई पु¥याएको चोट र खति भुलाउने स्तरको काम उनीबाट भयो । समयाक्रममा प्रचण्ड वैराग्य उत्पन्न भएर वनकाली, काशी, देवघाट या मुक्तिनाथ प्रस्थान गरेछन् भने पनि विगतमा उनले देश र जनताविरुद्ध गरेको पाप भुल्नुपर्छ या भुल्न सकिने किसिमको हुन्छ भन्नेचाहिँ होइन ।
कथित जनयुद्धका क्रममा लुटिएका धनमाल र कब्जा गरिएका घरजग्गा प्रचण्डले अहिलेसम्म फिर्ता गरिदिएका छैनन्, के नैतिकताप्रति अलिकति पनि सचेत मानिस यसरी लुटपाटप्रति मौन रहन सक्छन् ? लुटलाई वैधानिकता दिन खोज्छन् ?
सामाजिक सद्भाव भड्काउन र देशको अस्तित्व भत्काउन प्रचण्डले जे गरे, के त्यो उनको नैतिकवान कार्य थियो ? थिएन भने उनी आफ्ना गल्ती सच्याएर माफी माग्न किन तयार हुँदैनन् ?
कथित जनयुद्धका क्रममा प्रचण्डले प्राप्त गरेको विदेशी सहयोग र हातहतियारबारे उनी अझै किन मौन छन् ? युद्धकालमा आफूले प्रयोग गरेका घातक हातहतियारहरू विदेशी खुफिया एजेन्सीलाई बिक्री गर्न भएको डिलबारे प्रचण्ड किन मुख खोल्दैनन् ? के यस किसिमको व्यवहार गर्नुलाई माओवादी आन्दोलनमा ‘महान् नैतिकवान कर्म’ मानिन्छ ?क्यानडामा ज्वाइँ, ब्रिटेनमा भाइ र अस्टे«लियामा अन्य नातेदारलाई राखेर नेपालबाट अर्बौं रुपैयाँ ती मुलुकमा पु¥याइएको आरोप प्रचण्डमाथि छ, के एउटा नैतिकवान मानिसले यस्ता आरोपबारे जनतालाई स्पष्टीकरण दिन आवश्यक ठान्नुपर्दैन ?
उद्यमी व्यवसायी उपेन्द्र महतोको बीस अर्ब रुपैयाँ कब्जा गरेको र उक्त रुपैयाँ फिर्ता माग्दा डर, धाक, धम्की दिएर महतोलाई तर्साउने गरेको तथ्यबारे आममानिस पनि जानकार छन् । गत वर्षको दशैँमा उपेन्द्र महतोलाई सपत्नी रात्रिभोजमा बोलाइँदा महतोपत्नीले आफ्नो पैसा नदिएसम्म तपाईंकोमा पानीसम्म पिउँदिनँ भनी बालुवाटारस्थित प्रधानमन्त्रीनिवासबाट फर्केको पनि धेरैको जानकारीमा छ । के नैतिकता भएका मानिसले यसैगरी अर्काको धन कब्जा गर्छन् ?
प्रचण्डका सोच, व्यवहार र क्रियाकलापको समग्र अध्ययन गर्दा नैतिकता भन्ने शब्द र अर्थसँग उनको कुनै प्रकारको सम्बन्ध, सम्पर्क र साइनो भएको देखिन्न । यसपटक पनि मित्रराष्ट्रले ‘दह्रो सुझाव’ नदिएको भए खुरुक्क राजीनामा दिन सम्भव थिएन । नेपालीहरू भुलक्कड छन्, जस्तोसुकै घटना या पीडा पनि उनीहरू चाँडै भुल्छन् । महाभूकम्पको चरम पीडा र माओवादीहरूको आततायी हिंसात्मक क्रियाकलापले दिएको असैह्य पीडा पनि नेपालीले करिब भुलिसकेका छन् । कसैसँग भएको सम्झौता पालना गर्नु र सम्झौताअनुसार राजीनामा दिनुलाई नै नैतिकताको महान् प्रदर्शन मान्नुपर्ने हो भने यसलाई एउटा रमाइलो सन्दर्भका रूपमा बुझ्न सकिन्छ ।
प्रचण्डले दिएको राजीनामासँग तुलनासम्म गर्न नमिल्ने स्तरको राजीनामा कीर्तिनिधि विष्ट र केशरबहादुर विष्टले धेरै पहिले नै दिएर उच्च नैतिकता दर्शाएका थिए । सिंहदरबार जल्नुमा तात्कालिक प्रधानमन्त्री कीर्तिनिधि विष्टको कुनै दोष थिएन, तर उनले त्यसैलाई कारण देखाएर राजीनामा दिएका थिए । त्यस्तै, काठमाडौंमा आँधीबेहरीसहित वर्षा हुनु र दशरथ रंगशालामा दर्जनौँ मानिसको अकाल मृत्यु हुनुमा तात्कालिक शिक्षा तथा खेलकुदमन्त्री केशरबहादुर विष्टको कतै दोष थिएन, तथापि उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए । यस्ता उच्चकोटिका ‘राजीनामा’ र ‘नैतिकता’ प्रस्तुत भइसकेको देशमा शेरबहादुर देउवासँग भएको लिखित सम्झौताअनुरूप (अझ डेढ महिना विलम्ब गरेर) राजीनामा आउनुलाई प्रचण्डबाट महान् नैतिकता प्रदर्शन भएको भनी बाजा बजाइँदै छ । नैतिकता शब्दकै बदनाम हुने गरी प्रचारबाजीमा उत्रनुअघि प्रचण्डले केही विचार गर्नुपथ्र्यो कि ?
प्रतिक्रिया