
– त्रिभुवनचन्द्र वाग्ले
देउवाले पदको एउटा इतिहास बनाइसक्नुभएको छ तीनपटक प्रधानमन्त्री भएर । अब उहाँले त्याग र फराकिलो हृदय देखाएर अर्को इतिहास बनाउन सक्नुहुनेछ । पौडेललाई अवसर दिनुभयो भने देउवाको उचाइ चुलिने मात्र नभई पार्टीलाई एकताबद्ध गर्न ठूलो योगदान पुग्नेछ । आगामी निर्वाचनमा एकताबद्ध काङ्ग्रेसले देशव्यापी विजयको लहर ल्याउनेछ जसबाट स्थानीय तहमा ‘देउवाको नेतृत्वले गर्दा हारियो’ भन्ने बुझाइ मेटिएर नयाँ इतिहासको रचना गर्ने अवसर देउवाले पाउनुहुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि सामाजिक सञ्जालमा त्यसको व्यापक प्रशंसा भयो । यद्यपि यो पूर्वनिर्धारित सहमति नै थियो । यसलाई राजनीतिक नैतिकतासँग जोडेर व्याख्या गर्न हुँदैन । केवल उहाँले सहमति पालना गर्नुभयो, यही राम्रो भयो । सहमतिका नाममा राजीनामापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले नौ महिना शासन चलाउनुभएको थियो, यो पनि बिर्सन हुँदैन ।
सत्तामा दाहाल हुनुहुन्थ्यो, तर प्रहरीप्रमुख नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीलाई लगाइएको महाअभियोग प्रकरणमा देउवा विवादास्पद हुनुभयो । जब कि त्यस्तो विवादमा पदीय हिसाबले प्रधानमन्त्री दाहाल पर्नुपर्ने थियो । प्रहरी प्रमुखको सन्दर्भमा त देउवाले आफ्नै गृहमन्त्रीलाई पनि पन्छाएर अगाडि बढ्नुभएको आरोप लाग्यो । पार्टीमा पदाधिकारीसहितको नियुक्तिमा देउवा अकर्मण्य देखिनुभएको आरोप छ । स्थानीय तहको निर्वाचनमा भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा गरिएको तालमेल अप्राकृतिक थियो भन्ने कार्यकर्ताको आरोपमा पनि देउवा पर्नुभयो । तराई–मधेसको आन्दोलन वा प्रदेशको सीमाङ्कनमा देउवाको व्यापक विरोध भएको थियो । प्रधानमन्त्री दाहाललाई राजीनामा नदेऊ भन्न प्रतिपक्षी एमाले र मधेसवादी अघि सरे । यो फगत आवेशमा आएर गरिएको आग्रह होइन, देउवाको विकल्पमा ल्याइएको प्रस्ताव हो ।
नेपाली काङ्ग्रेसबाट को प्रधानमन्त्री बन्ने भन्ने काङ्ग्रेसले निर्णय गर्ने हो, ओलीहरूले बोल्ने होइन । तर, वस्तुगत धरातलको विश्लेषण गर्दा देउवाका लागि अहिले अवस्था अनुकूल छैन । ओलीले ०४६÷४७ को आन्दोलनमा देउवाको संलग्नता थिएन भन्नुभएको छ । हो, त्यतिखेर देउवा बेलायतमा हुनुहुन्थो । उहाँले त्यहाँको सञ्चारसँग समन्वय गर्नुभएको थियो । प्रजातान्त्रिक आन्दोलनलाई जहाँ बसेर पनि देउवाले सहयोग गर्नुभएको थियो । केही व्यावहारिक र व्यक्तिगत कमजोरी देउवामा होलान् । त्यो सबैमा हुन्छ । थोेरै–धेरैको कुरा मात्र हो । तर, प्रजातन्त्रप्रति देउवाको निष्ठामा कमसे कम ओलीले औँला उठाउनु अशोभनीय हुन्छ । ०६३ को आन्दोलनमा काठमाडौंमा रहनुभएका ओली निष्क्रिय मात्र होइन आन्दोलन गर्नुहुँदैन भन्दै आन्दोलनमा सहभागी नहुनु भनेर अनेरास्ववियुकीे नेता रामकुमारी झाँक्रीलाई दबाब दिनुभएको झाँक्रीले सार्वजनिक रूपमा नै जानकारी दिनुभएको थियो । ओलीले त्यो बिर्सन हुँदैन, तर यसो भन्दैमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओलीको भूमिकै रहेन भनियो भने ठूलो असत्यको पक्ष लिइएको ठहर्नेछ ।

जति तीतो ओकले पनि मुलुकको राजनीतिमा हालको शक्ति सञ्चयका कारण नेपाली काङ्ग्रेस, एमाले, माओवादी र तराई–मधेसकेन्द्रित दलहरूलाई उपेक्षा गर्न सकिने अवस्था छैन । यो अवस्थामा एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ । त्यसका लागि मध्यमार्गी पात्र र प्रवृत्तिको आवश्यकता रहन्छ । नेपाली राजनीतिमा मध्यमार्गी र अर्थ व्यवस्थामा असली समाजवादी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यसका लागि विकल्प हुन सक्नुहुनेछ । अहिलेको परिस्थितिमा पौडेललाई राजनीतिका ठूला शक्तिले सहजै समर्थन गर्न सक्छन् । देउवाले यो कठिन परिस्थितिमा पौडेललाई कार्यकारीको भूमिकामा पु¥याउन सहयोग गर्नुभयो भने माओवादी–काङ्ग्रेस सरकारका पालामा देउवामाथि लगाइएका आरोपको व्यावहारिक खण्डन पनि हुनेछ । देउवाले सत्ताकै लागि सबै कुरा गर्नुभएको छ भनेर जसरी आमरूपमा सन्देश गएको छ यसलाई रोकेर पार्टीलाई भावनात्मक रूपमा समेत एकताबद्ध गर्न सहयोग पुग्छ । देउवाले पदको एउटा इतिहास बनाइसक्नुभएको छ तीनपटक प्रधानमन्त्री भएर । अब उहाँले त्याग र फराकिलो हृदय देखाएर अर्को इतिहास बनाउन सक्नुहुनेछ । प्रचण्डले जुन सहमतिको पालना गर्नुभयो त्यसले प्रचण्डको उचाइ बढेको छ । त्यसैगरी पौडेललाई अवसर दिनुभयो भने देउवाको उचाइ चुलिने मात्र नभई पार्टीलाई एकताबद्ध गर्न ठूलो योगदान पुग्नेछ । आगामी निर्वाचनमा एकताबद्ध काङ्ग्रेसले देशव्यापी विजयको लहर ल्याउनेछ जसबाट स्थानीय तहमा ‘देउवाको नेतृत्वले गर्दा हारियो’ भन्ने बुझाइ मेटिएर नयाँ इतिहासको रचना गर्ने अवसर देउवाले पाउनुहुनेछ ।
प्रजातान्त्रिक आन्दोलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पु¥याउनुभएको योगदान, पाउनुभएको दुःख उहाँका मित्र देउवालाई भन्दा बढी थाहा अरूलाई छ भन्नुपर्दैन । देउवा स्वयम् नै यसका साक्षी हुनुहुन्छ । वरिष्ठ राजनीतिकर्मीलाई देशको कार्यकारी प्रमुख हुने अभिलाषा रहनु अन्यथा पनि होइन । स्वाभाविक रूपमा पौडेलमा पनि त्यस्तो अभिलाषा हुनुलाई उहाँको लोभ वा कमजोरी भनिनुहुँदैन ।
सत्य कुरा गर्नुपर्छ । भावनात्मक रूपमा पार्टीलाई एकढिक्का बनाउन पछिल्लो समयमा आएर गिरिजाबाबुले पनि सक्नुभएन । गिरिजाबाबुले रातारात जुरुक्कै उचालेका मानिसहरू कालान्तरमा गिरिजाबाबुको मात्र प्रखर विरोधी भएनन्, काङ्ग्रेसकै लागि पनि घातक भए । चौधौँ महाधिवेशनपछि पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध गराउने सङ्कल्प गर्नुभएका देउवाले आजसम्म त्यसका लागि केही पनि पहल र सदासयता देखाउनुभएको छैन । यद्यपि पार्टीको भावनात्मक एकताका लागि देउवाले मात्र चाहेर हुँदैन । सबैको रचनात्मक र सहयोगात्मक भूमिका आवश्यक हुन्छ, तर देउवा वर्तमान पार्टी सभापति हुनुभएकाले र विगतमा उहाँकै नेतृत्वमा नेपाली काङ्ग्रेस विभाजनसमेत भएकाले देउवाले इतिहासमा आफूलाई ती सबै यथार्थ र आरोपबाट मुक्त पनि उदार निर्णय लिनुपर्ने बेला आएको छ । जसबाट उहाँको कदम व्यापक उच्च हुनेछ ।
यसका साथै, पार्टीमा भावनात्मक एकताको जग बसाउन आवश्यक छ, त्यसका लागि उहाँले वरिष्ठ नेता पौडेललाई विश्वासमा लिई मुलुकको कार्यकारी जिम्मेवारी दिनुहुँदा पौडेललाई भन्दा देउवालाई नै राजनीतिक फाइदा हुनेछ । कथंकदाचित अब बन्ने भनिएको देउवा नेतृत्वको सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन गराउन सकेन भने देउवा मात्र होइन काङ्ग्रेस पनि सङ्कटमा पर्नेछ । त्यसका लागि पनि देउवाले एउटा डुङ्गामा मात्र खुट्टा राख्नु राम्रो हुनेछ । विगतमा देउवाले एक व्यक्ति एक पदको नारा निकै घन्काउनुभएको थियो । अहिले विगतमा आफैँले लगाएको नारालाई मूर्तरूप दिने अवसर देउवामा आएको छ । पौडेलका बारेमा देउवा उदार हुन सक्दा देउवालाई व्यक्तिगत र काङ्ग्रेसलाई संस्थागत लाभ हुनेछ । नेपालको इतिहासमा देउवाको सुझबुझको प्रशंसा हुनेछ । पौडेलको राजनीतिक योगदान, इतिहास र क्षमताको पनि सम्मान हुनेछ ।
प्रजातान्त्रिक आन्दोलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पु¥याउनुभएको योगदान, पाउनुभएको दुःख उहाँका मित्र देउवालाई भन्दा बढी थाहा अरूलाई छ भन्नुपर्दैन । देउवा स्वयम् नै यसका साक्षी हुनुहुन्छ । वरिष्ठ राजनीतिकर्मीलाई देशको कार्यकारी प्रमुख हुने अभिलाषा रहनु अन्यथा पनि होइन । स्वाभाविक रूपमा पौडेलमा पनि त्यस्तो अभिलाषा हुनुलाई उहाँको लोभ वा कमजोरी भनिनुहुँदैन । त्यस्तो पद पाउन अन्यथा पो गर्नुहँुदैन । पौडेलको राजनीतिक अडानमा कहीँकतै औँला उठाउने ठाउँ छैन । साथै, औसत रूपमा पौडेल स्वच्छ आर्थिक छवि भएका समकालीन नेता हुनुहुन्छ । हिजो पार्टीले चुनाव हार्ने बहुमत र अल्पमतको स्पष्ट अङ्कगणित भएका बेला पौडेललाई दर्जनौँपटक हार्नकै लागि पार्टीले उम्मेदवार बन्न लगाउने, तर अवसर आउँदा उहाँलाई केही पनि नदिनाले पार्टीमा रहेका मध्यमार्गीहरूले पराजित भएको महसुस गर्नेछन् ।
नेपाली राजनीतिका समकालीन पात्रहरूमा पौडेल उमेर वा योगदानका दृष्टिले सबैभन्दा वरिष्ठ व्यक्ति हो । उहाँको योगदान र समन्वयकारी भूमिकाको कदर गरी सबैले उहाँप्रति उदार हुँदा नेपालकै लागि राम्रो परिणाम आउन सक्छ । त्यसमा पनि देउवाले उदारता देखाउनुभयो भने देउवाको नयाँ राजनीतिक इतिहास बन्नेछ । यसपटक पौडेललाई प्रधानमन्त्री बनाएर निर्बिघ्न रूपमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराएर देउवाका लागि थप मार्ग प्रशस्त गराउन पौडेल नै अहिलेको विकल्प हो ।
प्रतिक्रिया