नेतैनेताबाट ठगिन्छन् परदेशी !

नेतैनेताबाट ठगिन्छन् परदेशी !


Krishna Raj Sharma 2

– कृष्णराज शर्मा

नेपालवासी हामी नेपालीलाई कमै थाहा छ कि नेपालभन्दा विदेश बस्ने नेपालीलाई चर्को राजनीतिक नशा लाग्छ । नेपालमा खेल्ने नेतालाई भन्दा विदेशमा बस्ने प्रवासी नेतालाई नेपालको राजनीतिले लट्ठ पारेको हुन्छ । यताभन्दा उता बढी चिन्ता हुन्छ । त्यति ख्याल राख्छन् नेपालबारे विदेश बस्नेले ! अर्को कुरा, नेपालमा असफल भएका नेता, कलाकार–फलाकार सबै विदेशमा सफल बनेर बसेको पनि यहाँकालाई कमै थाहा छ । र, उहाँकालाई नेपाली राजनीतिमा पैसाको सख्त जरुरी हुन्छ भन्ने पनि राम्रो थाहा छ ।

विदेश जाँदा लाखौँ खर्च गरेर यताबाट घरबारी धितो राखेर गएको पनि तिनलाई थाहा छ । जब विदेश पुग्छन्, येनकेन ऋण भुक्तान गरेपछि नेपालका सांसद–मन्त्रीलाई हात लिएर फोनमा गफ गर्न पाए उनको वैदेशिक जीवन सफल हुन्छ । र, विदेशमै बोलाउँदै तिनै मन्त्री–सांसदलाई सँगसँगै घुमाएर एक रात आफ्नै आवासमा राख्न सके झन् राम्रो, नत्र होटेलमा कक्टेल पार्टी गराउन सके विदेश बसाइ भयङ्कर सफल हुन्छ । यसो गर्नेलाई नेपालमा चुनाव आउनु भनेको त विदेशमा बस्नेहरूको भाउ ह्वात्तै बढ्नु हो ।

यो मौकामा विदेशमा बसेकाहरूको पनि डब्बल चुरीफुरी हुन्छ । पैसा उठाएर नेपालमा आफ्नो मनपरेको नेतालाई चुनाव खर्च पठाइदिँदा उसले एउटा चुनाव उहीँ जितिसकेको हुन्छ । दोस्रो जित नेपालमा रहेका नेताको सामीप्यता बढेर हाई–हेलोमा रमाउँदा जित्छ । त्यसपछि पठाएको पैसाले आफ्नो उम्मेदवारले जित्यो भने त भिडियो च्याट गर्दै मोबाइलको स्क्रिनमै अबिर लगाइदिएर विजयोत्सव मनाउँछ । यस्तो राजनीति चल्छ विदेशमा ! सीधासाधालाई टाठाबाठा भएर बसेकाहरूले त्यत्तिकै राजनीतिमा मुछिदिन्छन् । र, उनीहरूलाई साप्ताहिक, पाक्षिक र मासिक जमघटमा उपस्थितिका आधारमा कुनै एक पद टाँसो लगाइदिँदै आफू विदेश जानुको उद्देश्य नै बिर्साइदिएर लफङ्गो बनाइएका पनि प्रशस्त भेटिन्छन् । यस्तो राजनीति लाग्छ विदेशमा ! यसरी र यस्ताबाट सङ्कलित रकममा टाठो नेतृत्वको हालीमुहाली रहन्छ ।

हालै सम्पन्न निर्वाचनमा बाग्लुङको छिमेकी गाउँपालिकाको एक वडाध्यक्षमा यसपालि त्यस्तै देखियो । सधैँभरि एउटा पार्टीलाई खन्याएको चन्दा यसपालि उसको विपक्षमा खनियो । चन्दा असुल्न सिपालु त्यस पार्टीका नेता चुनाव आयो कि उठिहाल्ने बानी परेको रहेछ । जापानमा न रातको निद्रा न दिनको भोक गरी कमाएको पैसा धुतुवाले निकै धुतेछन् । किन चुनाव हाम्रो पक्षमा आएन अङ्कल भन्दै सोध्थे जापानी भाइभतिजाहरू । अङ्कलले फोनमै जवाफ दिन्थे– पैसै पुगेन कसरी जित्नु ! पटक–पटकको चुनावमा यसरी नै पैसाले घरको जोहो गरेका उनले परारको उपचुनावमा त्यसरी नै ठगेका थिए । जापानी सभ्यता र संस्कृतिले सुसंस्कृत हुँदै गएका भाइभतिजाले त्यसैबेला बुझेका थिए । चुनाव जित्नुभन्दा पनि विदेशबाट आएको चन्दा बटुल्न उनी उम्मेदवार बन्थे । दुईचारचोटि उल्लु बनिसकेका प्रवासीले अघिल्लो चुनावमा उनलाई मजैले चिने । पार्टीको नाममा पठाएको पैसा पार्टीले चालै पाउन्नथ्यो । त्यो पैसा थुपुथुपु आफ्नै गोजीमा भरेको थाहा पाएपछि यसपालिदेखि चम्मुचतुरे नेताको विपक्षीलाई जिताएर दोस्रोपटक उसको नाक भाँचिदिए । यसपालि यिनको सेखी झार्ने योजना जापानी भाइभतिजाले गरे । इतिहास उल्टाइदिए । विपक्षीलाई जिताइदिए । अनि एक दिन तिनै चम्मु नेताको फोनमा वार्तालाप भयो । संवाद यस्तो थियो ।

– हेलो, जापान हो ?
– मुस् मुसी, वातासी रामु देश् । आनातावा दो को देस्का ? (हेलो, म राम बोल्दै छु । तपाईं को बोल्नुभयो ?)
– हेलो–हेलो ! (नम्बर फेरेछ कि क्या हो । मुसोमुसो बोल्छ । जापानी भाषा बोल्छ । फोन राखेको पनि छैन ।) हेलो… ? किन अर्कै भाषा बोलेको कान्छा ?
– अँ, हेलो । को बोल्नुभयो र ? मैले चिनिनँ नि !
– ल हेर नचिनेको ? म अङ्कल के । कँडेल अङ्कल बोलेको । कस्तो नचिनेको तिमीले मलाई !
– ए कँडेल अङ्कल पो हो । लालसलाम अङ्कल लालसलाम ! सञ्चै हुनुहुन्छ ?
– सञ्चै छु । अनि, किन लालसलाम भनेको त बाबु ? यो त अलि सुहाएन बा !
– किन भन्नु नि ? पहिला जति ‘जयनेपाल’ भने पनि ‘लालसलाम’लाई भोट हाल्नुभो । हामीले पठाएका पैसा सबै घरखर्ची गराउनुभएछ । यसपालि त ‘लालसलाम’ भन्न थालेको ‘जयनेपाल’लाई भोट हाल्नुभएछ । त्यही भएर लालसलाम भनेको नि अङ्कल !
– होइन, होइन बाबु । म जयनेपालको जयनेपालै छु । कसले पु¥याउँछ जापानमा नचाहिँदा कुरा । मलाई भन त । मैले जानेको छु त्यसलाई ।
– भो–भो ठिक्क नपार्नुस्, यहाँ सबैले बुझिसके । अहिले पनि त्यै पैसा माग्न होला फोन गरेको । यसपालि हाम्ले अर्कैलाई पैसा पठायौँ । जित्यो पनि ।
– होइन के बाबु… अहिलेदेखि नै तालमेल भयो । ऊ बेला नदेखिने तालमेल गरियो । कुरो बुझेनौ तिम्ले । त्यसै आरोप नलगाउन बा’ । अर्को चुनावमा फेरि उठ्नु छ ।
– भो–भो नफकाउनुस् । अब तपाईंजस्तालाई विदेशबाट चन्दा पठाइँदैन । हाम्रो रगतपसिना यस्ता झुठ र बेइमान नेतालाई दिन्नौँ । तपाईं दलाल बन्न योग्य हुनुहुन्छ । दलाली नै गर्नुस् । बाई–बाई ! सायोनारा !!
– हेलो ..हेलो .. ए बाबु !…
(फोन सम्पर्क विच्छेद भयो ।)

चुनाव हारेको कथा सुनाएर भाइभतिजाहरूबाट एक–दुई लाख झार्ने नेता कँडेल अङ्कलको मनसुवा पूरा भएन । विगत लामो समयदेखि युवाहरूलाई विदेश पठाइदिने र त्यसबापत लाखौँ आम्दानी गर्ने नेताहरू आजकल फेरि उनै बिदेसिएका दाजुभाइसँग उपरोक्त ढङ्गले विभिन्न बहानामा ठगिने गरेको परदेशबाट आएकाहरू गुनासो गर्छन् । उनीहरूले लामो समयपछि आफ्नो जन्मगाउँ आउँदा हिजोका आदर्शवान नेताहरू महाका भ्रष्ट बनेको देखेपछि निकै सतर्क बनेको त्यो गाउँपालिकाको चुनावसँगै सतहमा देखाप¥यो । भ्रष्ट नेताहरूको लोकाचारमा समुद्रपार पुगेका नेपाली नेपालीबाटै ठगिन नपाउन् ! जय देश जय जनता !