
– त्रिभुवनचन्द्र वाग्ले
नेपाली र भारतीयको नाक र रङ मिल्छ, दैनिक जीवन जोडिएको छ, समाज, संस्कृति पनि नेपाल भारतकै मिल्छ । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा भारतको सहयोग र संलग्नता रहेको छ, नेपालको विकासमा चीनको भन्दा भारतकै बढी आर्थिक सहयोग रहँदै आएको छ । र, पनि आमनेपाली भारतविरोधी छन् भन्ने भारतको बुझाइ छ भने यसो हुनुको कारण पनि भारतले आफैँतिर खोज्नुपर्छ । कतै भारतले गर्ने सहयोग वा संलग्नताको तौरतरिका मिलेको छैन कि ? कूटनीतिका मर्यादा वा सीमाहरू नाघिएका छन् कि यसको समीक्षा भारतले गर्नुपर्छ । यस्ता सन्दर्भमा नेपाली नेता खासगरी तराई–मधेसकेन्द्रित नेताको पनि ध्यान जानु आवश्यक छ ।
सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले देखाउनुभएको राजनीतिक सुझबुझले पाउनुपर्ने जति चर्चा पाएको छैन । तराई–मधेसको आन्दोलन र त्यसभन्दा अघि पनि कतिपय सन्दर्भमा नेता यादव अन्य मधेसी नेताभन्दा पृथक् देखिनुहुन्थ्यो । पुरानो राजनीतिक पृष्ठभूमिका कारण यसो भएको हुन सक्छ । वामपन्थी फाँटबाट उदाउनुभएका यादवलाई एकै साथ ‘मधेसवादी’ र ‘वामपन्थी’ हुनुपर्दाको राजनीतिक सकस बेलाबखत अनुभव गर्ने गरिएको हो । केही आफन्त र पत्रकारसँग नेता यादवले द्रवीभूत भएर कतै सङ्केत गर्दै भन्नुभएको थियो– मेरो पार्टीका सबै सांसदलाई पैसाको भरमा छिन्नभिन्न पारियो, तर म एकजनालाई भने कसैले यस्तो गर्न सक्दैन । मधेसी जनअधिकार फोरमका सांसदलाई प्रलोभनवश पार्टी फुटाउन लगाइयो भन्ने समाचार आइरहेका बेला नेता यादवले यस्तो सुस्केरा हाल्नुपरेको थियो । वामपन्थी र मधेसवादी हुनुको यो एउटा सकस थियो उहाँका लागि ।
भारत र चीनलाई हेर्ने यादवको सन्तुलित दृष्टिकोण पनि उहाँका लागि अर्को राजनीतिक सकस भएको देखिन्छ । नेपालले भारत र चीनसँग सम निकटताको सम्बन्ध राख्नुपर्छ, तर नेपालको भौगोलिक राजनीतिका कारण भारतसँग विशेष सम्बन्ध राख्नैपर्छ । क्यानाडाले बेलायत र अमेरिकासँग उस्तै सम्बन्ध राखेर आफ्नो राष्ट्रिय व्यवहार चलाउन सक्दैन । चिनियाँ नेता माओ त्से तुङले नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको चीन भ्रमणका क्रममा भन्नुभएको थियो, ‘नेपालले चीन र भारतसँग घनिष्ट सम्बन्ध राखोस्, तर विशेष सम्बन्ध भारतसँगै राख्नुपर्छ ।’ यो घामजत्तिकै छर्लङ्ग कुरा पनि हो । तर, अर्को छर्लङ्ग कुरा के पनि हो भने नेपाल–भारतबीचको विशेष सम्बन्ध भनेको न आत्मसमर्पण न लम्पसारवाद हो । नेपाल–भारतबीच विश्वेश्वरप्रसाद कोइरालाले जुन प्रकारको विशेष सन्तुलित सम्बन्ध राख्न चाहनुभयो, आफूलाई मात्र राष्ट्रवादी भन्ने पञ्च र दरबारियाले यस्तो सम्बन्ध रुचाएनन् । साथै, भारतका नेता नेहरू र इन्दिरा गान्धीले पनि मन पराएनन् ।
अहिले पनि कुरो त्यही नै हो, नेपालले मात्र होइन भारतले पनि नेपालसँग विशेष सम्बन्ध राख्नुपर्छ । यसो गर्नु दुवै देशको ऐतिहासिक, सांस्कृतिक, भौगोलिक बाध्यता हो । के भारतले नेपालसँग जस्तो ऐतिहासिक, सांस्कृतिक, भौगोलिक विशेष सम्बन्ध छिमेकी मुलुकहरू पाकिस्तान, बङ्लादेश, भुटान, माल्दिभ्स, श्रीलङ्का वा अफगानिस्तानसँग राख्न सक्छ ? कदापि सक्दैन । यो सत्यलाई दुवै देशले स्वीकार गर्ने हो भने यहाँका सम्बन्धमा बेलाबखत देखिने उतारचढावको स्थायी व्यवस्थापन गर्न सकिन्छ । यी यथार्थभन्दा बाहिर, अति बहकाउ वा अति अव्यावहारिक भएर केही मधेसवादी नेताका व्यवहारबाट नेता यादव वाक्क हुनुभएको पोलिटिकल फोनोमेनन् अनुभव गर्न सकिन्छ । मधेस आन्दोलनताका मित्रराष्ट्र चीनको झन्डा जलाउनेजस्तो उशृङ्खलतालाई नेता यादवले डटेर विरोध गर्नुभयो । यो यादवको परिपक्व अडान थियो ।
कुनै पनि नेपालीले आवेगमा आएर भारत वा चीनप्रति देखाउने असन्तुलित व्यवहारले नेपाललाई फाइदा गर्दैन । केही मधेसी नेताका व्यवहारले नेपाल, भारत र चीनको सम्बन्धलाई विवादास्पद बनाएको छ । बेलाबखत त्यस्ता नेताबाट नेपाली राष्ट्रियताका सन्दर्भमा व्यक्त हुने घुर्की र धम्कीपूर्ण विचारले उनीहरूलाई मात्र होइन भारतको भूमिकालाई समेत आमनेपालीबीच अलोकप्रिय बनाउने काम गरेका छन् । भारतीय वर्तमान सत्ताले मधेस आन्दोलनका क्रममा नेपालमाथि लगाएको आंशिक नाकाबन्दीले नेपाली जनस्तरमा जुन प्रकारको आक्रोश ल्यायो त्यसलाई नेपालीले नेपालको संविधानप्रति भारतको प्रतिक्रियाका रूपमा बुझे । ठूलो चर्चा–परिचर्चा भयो । अन्तर्राष्ट्रिय मञ्चमा समेत बहस गराइयो । तर, भूकम्पपछि केही सामान्य व्यावहारिक तथा बढी मात्रामा नीति, कूटनीति र रणनीतिले कोदारी राजमार्ग बन्द गरिएको प्रति कुनै नेपालीको खासै चासो नरहनुमा भारत र चीनको ‘काम गर्ने तौरतरिका’मा रहेका भिन्नता भनेर बुझ्नुपर्छ ।

नेपाली र भारतीयको नाक र रङ मिल्छ, दैनिक जीवन जोडिएको छ, समाज, संस्कृति पनि नेपाल भारतकै मिल्छ । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा भारतको सहयोग र संलग्नता रहेको छ, नेपालको विकासमा चीनको भन्दा भारतकै बढी आर्थिक सहयोग रहँदै आएको छ । र, पनि आमनेपाली भारतविरोधी छन् भन्ने भारतको बुझाइ छ भने यसो हुनुको कारण पनि भारतले आफैँतिर खोज्नुपर्छ । कतै भारतले गर्ने सहयोग वा संलग्नताको तौरतरिका मिलेको छैन कि ? कूटनीतिका मर्यादा वा सीमाहरू नाघिएका छन् कि यसको समीक्षा भारतले गर्नुपर्छ । यस्ता सन्दर्भमा नेपाली नेता खासगरी तराई–मधेसकेन्द्रित नेताको पनि ध्यान जानु आवश्यक छ ।
यी र यस्ता विभिन्न व्यावहारिक र सैद्धान्तिक पक्षले नेता उपेन्द्र यादवलाई संवेदनशील बनाएको हुन सक्छ । सारा परिस्थिति आफ्ना अनुकूल नहुँदानहुँदै पनि बीपीले २०३७ को जनमतसङ्ग्रहमा सहभागी हुने राजनीतिक हिम्मत गर्नुभयो । अहिले अस्पष्ट मधेस आन्दोलन, मधेसी दलबीचको विभाजन, विवाद र व्यक्तित्व टकरावले उपेन्द्र यादवका लागि निर्वाचन त्यति सहज छैन । यो कुरा उहाँले बुझेकै छ, तर यसबीच उहाँले निर्वाचनका सन्दर्भमा दुईवटा कुरा प्रस्टसँग राख्नुभयो । उहाँले सार्वजनिक रूपमा देशको माटोको लागि र तराई–मधेसका मुद्दा बुलेटबाट नभई ब्यालेटबाट स्थापित गर्न निर्वाचनमा जाने निर्णय गरेको बताउनुभएको छ । यस्तो निर्णयपछि आन्दोलनरत मधेसी मोर्चाबाट यादवलाई निकालियो, तर उहाँको यो निर्णय मेलमिलापको नीति लिएर नेपाल फर्कने वा २०३७ को जनमतसङ्ग्रह स्वीकार गर्ने बीपीको निर्णयजस्तै चुनौतीपूर्ण, तर साहसिक निर्णय हो । यसलाई इतिहासले मूल्याङ्कन गर्नेछ । यादवकै कारण अन्य मधेसवादी दल पनि निर्वाचन ‘उपयोग’ गर्ने अवस्थामा पुग्दै छन् । यसो भयो भने यादवले तराईको आन्दोलनलाई निर्वाचनमा ल्याउन गर्नुभएको निर्णयक नेतृत्व पुष्टि हुन्छ ।
मधेसी आन्दोलनका सन्दर्भमा हेर्ने हो भने अधिकार नपुगेरै आन्दोलन गर्नुपर्ने अवस्था छैन । तुलनात्मक अध्ययनमा मधेसले पाएको अधिकार राष्ट्रिय औसतमा कुनै पनि अवस्थामा कम देखिँदैन । कम प्रमाणित गर्न सक्दा तत्कालै त्यो माग पूरा गर्नुपर्छ । कहीँकतै मधेस, पहाड वा हिमालका जनतालाई क्षेत्र तथा जातीय आधारमा विभेद भएको छ भने तत्कालै त्यो विभेद अन्त्य गरिनुपर्छ । मधेसका नेताले पनि समग्र नेपालको नेता भएर हेर्नुपर्छ ।
ओलीको गाली वा पहाडी राष्ट्रवादले मात्र नेपाल बलियो हुने होइन । आज हामीले महन्थ ठाकुर, उपेन्द्र यादव वा अन्य जिम्मेवार मधेसी नेतालाई अराष्ट्रिय भनियो भने पञ्चायतले बीपी, गणेशमान वा किसुनजीजस्ता नेतालाई अराष्ट्रिय तत्व भनेर लगाएको आरोप–सूत्र अनुशरण गरिएको ठहर्नेछ । अति राष्ट्रवादले कुनै पनि देशको हित गर्दैन । तर, नेपालको अखण्डताविरुद्ध बोल्ने केही गैरजिम्मेवार, अतिवादी पात्र, प्रवृत्ति र यदाकदा जिम्मेवार भनिएका मधेसी नेताहरूबाट व्यक्त हुने असन्तुलित तथा आवेगयुक्त भनाइले मधेसका न्यायपूर्ण माग र सबै नेतालाई विवादास्पद गराउने गरेका छन् । यसको उपचार मधेसी नेताहरूले खोज्नुपर्छ । राष्ट्रियता, झापामा केपी कुर्लिएर मात्र हुँदैन, सप्तरीमा उपेन्द्र पनि उभिनुपर्छ ।
वामपन्थी पार्टीको चौवन्नी सदस्यताबाट राजनीति यात्रा गर्नुभएका यादव नेपालका सबैजसो प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुहुन्छ । उहाँले व्यक्ति–हिंसाको माओवादी राजनीतिलाई उचित ठान्नुभएन । न त अन्त्यहीन मधेसकेन्द्रित आन्दोलनलाई मात्र उचित देख्नुभयो । आन्दोलनका माग र मुद्दा थाती राखेर वा त्यसलाई जनताबाट अनुमोदन गराउन यादवले निर्वाचनको बाटो अपनाउनुभएको हो । एउटा प्रजातन्त्रवादीले जनता र निर्वाचनमा विश्वास गर्नु उच्च राजनीतिक संस्कार र हिम्मत हो । मधेस आन्दोलनमा केही अस्पष्टता, केही विग्रह, केही कुण्ठा र लघुताभाष हुर्किएकाले ती सबै प्रवृत्ति र पात्रलाई मुलुकी राजनीतिको मूलधारमा ल्याउन र थमाइराख्न यादवका आगामी राजनीतिक निर्णय अझ महत्वपूर्ण हुनेछन् ।
प्रतिक्रिया