प्रजिअ सरुवा भएपछिका कुरा !

प्रजिअ सरुवा भएपछिका कुरा !


मेरो देश मेरो परिवेश

Krishna Raj Sharma 2

– कृष्णराज शर्मा

पञ्चायतकालदेखि नै सुन्दै आएको एउटा सत्य आजसम्म पनि अनवरत छ । अञ्चलाधीशका वरिपरि एकछिन नछोड्नेहरू पदमुक्त हुनासाथ सत्तोसराप लाउँथे । काठमाडौं पुगेपछि त यतिवटा बन्दुक लग्यो, उतिवटा मृग मारेर खायो, कस्तुरी लुकायो, फलाना साहुसँग यति खायोजस्ता अनेक कुरा अञ्चलाधीशको पद खुस्केपछि हुन्थे । व्यवस्थै त्यस्तो थियो कि अञ्चलाधीशका सामुन्नेमा बोल्ने छातीमा रौँ उम्रेका कुनै बहादुर थिएनन् । त्यसकारण उनी गएपछि उनले पदको दुरुपयोग गरी जोडजाम गरेका कुराहरू सुनिन्थे । दरबारनिकट सम्बन्ध भएका केही पञ्चहरू तै हल्का ढङ्गले केही असहमतिसम्म जनाउँथे । छाती फुकाएर बोल्न भने सक्दैनथे । त्यतिबेला अञ्चलाधीशका कर्तुतका बारेमा राजधानीबाट प्रकाशित हुने अखबारमा छाप्नेहरूले पनि ज्यानको बाजी थापेर छाप्थे । कि दरबारकै कुनै शक्तिशाली व्यक्तिको आड पाएपछि लेख्थे ।

तर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आउँदासमेत कन्नापछाडि किन कुरा काट्नु ! ऊ बेला बोल्ने स्वतन्त्रता, लेख्ने स्वतन्त्रता र मानवाधिकार केही थिएन रे । त्यही भएर डराई–डराई व्यक्ति पदमुक्त भएपछि कुरा चल्थ्यो रे ! कन्नोपछाडि कुरा काट्थे रे । अहिले त लेख्ने बोल्ने स्वतन्त्रता मात्रै होइन प्रधानमन्त्रीलाई गालैमा चड्काउनेदेखि जुत्ता हान्ने पनि स्वतन्त्रता आइसक्यो भने जाबो जिल्लाको प्रशासकलाई जिल्लामै उसका गलत क्रियाकलापको विरोध गर्न किन डराउँछन् ? यो चलन किन हटेन ? आमसर्वसाधारणका मनमा यस्ता कुराहरू खेल्छन् हिजोआज ।

अहिले जिल्लाका सीडीओप्रति ठ्याक्कै त्यही प्रवृत्ति दोहोरिएको छ । सीडीओहरू जिल्लामा आउँदा सुरुमा असल प्रशासकजस्ता देखिन्छन् । आउँदाआउँदै पत्रकार सम्मेलन गर्छन् । राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्छन् । स्थानीय टीभी–रेडियोमा धारावाहिक अन्तर्वार्ता दिन्छन् । स्थानीय सङ्घ–संस्थाहरूका स्वागत–सत्कारका कार्यक्रममा फूलमाला अबीरले रङ्गिन्छन् । यतिबेलासम्म सीडीओ साँच्चैका कुशल प्रशासक रहेछन् भन्ने जनसाधारणमा छाप पार्छन् ।

यतिसम्म ठीकै देखिन्छन् नयाँ सीडीओहरू । जब रैथाने जी–हजुरीको चङ्गुलमा फस्छन् तबदेखि सीडीओ वास्तविक प्रशासक हुन् कि होइनन् भन्ने अनुमान लगाउन सुरु हुन्छ । सीडीओले जिल्लाको शान्तिसुरक्षा र उनका मातहतका जिल्लास्तरीय कार्यालयहरूका गतिविधिमाथि निगरानी गर्ने र विकास–निर्माणका काममा भएका अनियमितता रोक्नेलगायत जिल्लाभित्रका सम्पूर्ण कामकारबाहीको अनुगमन र नियमन गर्न सक्छन् । तर, टुरिष्ट बनेर घुम्छन् उपतिचाहिँ केही देखिन्न । अघिल्लो सीडीओले एउटा गतिलो काम गरेन, खान मात्र जानेको रहेछ भन्ने व्यवहार देखेकाहरू नयाँ आउनेसँग त्यस्तो अपेक्षा राख्छन् । तर, नयाँ आउनेले पनि पुरानो सीडीओले छोडेको ‘सूत्र’अनुसार काम गर्न थालेपछि जनताको चाहना पानी–पानी बन्छ । आएका नयाँ सीडीओ पनि ‘गइल भैंस पानी में’ बन्न पुग्छन् । कतिसम्म भने सीडीओको काम नागरिकता र पासपोर्ट बनाउने अनि सहकारी र एनजीओका खुद्रा कार्यक्रममा उदघाटन गर्दै भाषण छाँट्ने मात्र यिनको जिम्मेवारी र कर्तव्य हो । सीडीओहरू यसरी नै भुमरिन्छन् । पुराना खाई पल्केकाहरूको रफ्फू चक्करमा तालमा ताल मिलाएर नाचिदिन्छन् । जिल्लामा जाने लगभग सीडीओप्रतिको धारणा जनमानसमा यसरी बसेको छ । तर, समग्र सीडीओलाई एउटै आँखाले देखेका पनि छैनन्, राम्रा पनि छन् ।

प्रचण्ड सरकारले जाँदाजाँदै एघार जना सीडीओको सरुवा भएको खबर बाहिर आयो । पुरानो मितिमा यिनीहरूको सरुवा गरेको पनि सबैले थाहा पाए । बाग्लुङका सीडीओ भागीरथ पाण्डे पनि एघारजनाभित्र परे । उनको सरुवा गृहमै भयो । कुनै अर्को जिल्लामा यिनको हक चलेन । जे होस्, जब यिनको सरुवाको खबर बाहिर आयो पञ्चायतकालीन शैलीमा कुरा काट्नेहरूको ताँती गल्ली–गल्ली र पसल–पसलमा देखापर्न थाले । गल्ली र पसलमा कुरा काट्नेहरूले उनी बहालवाला रहँदै गर्दा त्यस्ता कुराहरू रोक्नुपथ्र्यो । तर, उनीहरू बोल्दै बोलेनन् । उनी जिल्ला छोडेर हिँड्न लाग्दा भने उनका गलत कामका फेहरिस्त फिँजार्न सुरु गरे । अनि भन्न थाले (अलि मजबुत व्यापारीहरूका व्यापारमा आँखा गाड्ने र मुद्दा लगाइदिने धम्की सुनाएर पदको मर्यादा नाघेर काम गर्ने सीडीओ भन्न थाले । मिल्दै नमिल्ने पासपोर्टहरू पनि मिलाइदिने र खाने सीडीओ भन्न थाले । सुन व्यापारीले तेजावी सुनलाई छापावालसरह बेचेको भेटाएर चुपचाप कुरो मिलाए र सुन पसलमा आफैँ गएर रोजेर चोरऔँलामा सुनको औँठी लाए पनि भन्न थाले । हिस्सा खाएका नेताहरू नै सीडीओलाई यसो भन्न थाले । अझ त्यति मात्र भनेनन् अझ, के भने भने जिशिअ र सडिीओको विगत दुई वर्षदेखि कहिल्यै मतो मिलेन ।

सीडीओले सरुवा नगरी नहुने एउटा मास्टरलाई जिशिअले नीतिसङ्गत नभएकाले मिल्दैन मैले गर्दिनँ भनेपछि सीडीओले कहिल्यै जिल्ला शिक्षा समितिको बैठकमा उज्यालो भएनन् । झनक्क झन्कँदै आए पनि खुसुक्क बैठकभत्ता खस्याक्क कोटको खल्तीमा हाल्दा भने मसक्क भएर फर्कन्थे । निर्णयमा पटक्कै सहयोग गरेनन् । जिशिअलाई असहयोग गरे । म सीडीओले भनेको एउटा काम पनि जिशिअले गर्दैन भने उसलाई किन मैले सहयोग गर्ने भन्दै हिँडेको चर्चा व्यापक बनेको हो पनि भने । सीडीओले जिल्ला छोड्नै लाग्दा थुप्रै कुरा बाहिर ओकल्न थाले कन्नापछाडि कुरा गर्नेहरू । यस्ता कुरा उनी रहँदै किन भएन भन्दै पत्रिका दोकानमा चर्चा चल्न थालेको देखेर सबै आश्चर्यचकित छन् । भन्छन् के पनि भने सीडीओको आगमनसँगै परम्परागत ढङ्गले ‘चक्रीय सम्बन्ध’ बढाउनेहरू शुरामा त डुबाउँछन्–डुबाउँछन्, सुन्दरीसँग पौडी पनि खेलाउँछन् । यस्तो चक्रीय सम्बन्धले बन्धनमा पार्ने जमातले पुराना सीडीओ फसेर पनि बाँचेको कथा छ । सहायक सीडीओ राजेन्द्र अधिकारी त पोखरामा गर्भ तुहाउन लाग्दा नर्सिङहोमबाट प्रहरीले समातेको समाचार पुरानै भइसकेको छैन । जनजनमा चलेका कुराहरूले सुरुमा कुशल र दक्ष प्रशासक देखिनेहरू अन्त्यमा निकम्मा बनेर फर्कने चलन बढेको मान्न हिच्किचाउनुपर्दैन । मैले र मेरो पार्टीले पठाएको सीडीओ भन्नेहरूले नै बढी कुरा काट्छन्, किन हो ? बुझिनसक्नु छ ।

यी त भए काटिएका कुरा । तर, उनले मनपरेका मान्छेले बोलाए रेस्टुरेन्ट उद्घाटन गर्न पनि पछि परेनन् । तर, चुनावको समयमा मतदाता शिक्षा कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश हिमलाल बेलबासे प्रमुख अतिथि बनेकाले म ती जिल्ला न्यायाधीश अतिथि बनेको ठाउँमा जान मिल्दैन, मेरो हैसियत उनैबराबर भएको भन्दै कार्यक्रम बहिष्कार गरे । पछि बुझ्दा आफ्नै निम्नस्तरका कर्मचारीको ‘रमाइलो’ कार्यक्रममा हिँडेछन् । यसले के पुष्टि गर्छ भने कुरा काट्नेहरूले भएकै कुरा गरेका रहेछन् भनेर पत्याउन कर लाग्छ । विगत त खराब भयो आगतमा देखिने सीडीओहरू जुन जोगी आए पनि कानै चिरेका भन्ने पुरानो नेपाली उखान हाल्न कसैलाई नपरोस् । सबैको जय होस् !