चुनौती कि युगपुरुष बन्ने अवसर ?

चुनौती कि युगपुरुष बन्ने अवसर ?


amardeep-moktan

– अमरदीप मोक्तान

कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट चौथो पटक नेपालको ४०औँ प्रधानमन्त्री निर्वाचित भएका छन् । पटक पटक प्रधानमन्त्री बन्ने भाग्यशालीमध्येका एक नेता भए तापनि देउवामाथि हमेशा अक्षमको विशेषण झुण्डी नै रह्यो । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदाको समय परिस्थिति अनि यसपटकको प्रधानमन्त्री पदमा आकाशजमिनको फरक छ । यसपटकको प्रधानमन्त्री पद काँडा नै काँडाको बीचमा फुलेको गुलाब फुलजस्तै छ । जनताले सुम्पेको कार्यभार सफलतापुर्वक सम्पन्न गर्न सके देउवा गुलाब फुलजस्तै नेपालको इतिहासमा सुन्दर र सुभाषित हुनेछन्, यदि अभिभारा पुरा गर्न सकेनन् भने राष्ट्रले त कष्ट पाउने नै छ साथै शेरबहादुरको नाम पनि नेपाली इतिहाश फेरि धमिलिन सक्छ ।

विगतमा जेजस्ता आक्षेप लागे पनि प्रधानमन्त्रीको रुपमा बाबुराम भट्टराईदेखि प्रचण्डसम्म आइपुग्दा प्रायःजसो प्रधानमन्त्रीले कुनै न कुनै रुपमा राम्रो कार्य गरेर इतिहासमा नाम दर्ज गराएका छन् । बाबुराम भट्टराईको सडक विस्तार योजना, नेपालको अर्थनीतिलाई सहि दिशामा ल्याउन सबैलाई करको दायरामा ल्याउने कार्य तथा अनुगमन कार्यलाई तिब्रता दिएर उपभोक्ता हितको संरक्षन गर्ने कार्य सराहनीय थियो । रुग्ण स्वास्थ्यावस्थाका बाबजुद स्व. सुशील कोइराला द्वारा नेपालको ऐतिहासिक संविधानको घोषणा गर्नु प्रशंसनीय थियो । नेपालको ऐतिहासिक संविधान घोषणापश्चात क्षुब्ध हुँदै भारतले लगाएको अघोषित नाकाबन्दीविरुद्ध खड्गप्रसाद ओलीले अडिग र अटल भएर सामना गर्नुको साथै मित्रराष्ट्र चीनसंग ऐतिहासिक पारवहन सन्धि गरेर भारतको बङ्गाल बिहार, उत्तर प्रदेश, उत्तराखण्ड परिवेष्ठित मुलुकबाट उन्मुक्ति दिलाउँदै भूपरिवेष्ठित नेपालमा परिणत गर्नु नेपाल र नेपाली जनताले युगौँयुगसम्म याद रहने साहसिक कार्य थियो ।

यस्तै, खड्ग ओलीले देखाएको अदम्य साहसिक निर्णयको तत्कालिन रुपमा लाभ नदेखिएता पनि उल्लेखित ऐतिहासिक निर्णय का कारण भविष्यमा नेपाल विकासशील राष्ट्रको श्रेणीमा परिणत हुने अवश्यम्भावी छ । पुष्पकमल दाहालको दसमहिने कार्यकालको सन्दर्भमा भन्नुपर्दा यसपटक विगतको तुलनामा प्रचण्डमा धेरै परिपक्वता देखियो । प्रचण्ड कार्यकालको उपलब्धि प्रथम चरणको नगरपालिका तथा गाउँपालिकाको सफलताका साथ सम्पन्न गर्नु, मित्रराष्ट्र चीनसंग वन बेल्ट वन रोड परियोजनामा हस्ताक्षर गर्नु, काठमाडौँ बिरगंज फास्टट्रेक सडकको शिलान्यास एवं नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मा दिने निर्णय गर्नु हुन् । मधेशी दलद्वारा मधेशी शब्दरहित पार्टीको नामकरण पनि प्रचण्ड कार्यकालमा भएको हुनाले त्यसको श्रेय प्रचण्डको पोल्टामा नै जान्छ । सबैभन्दा महत्वपूर्ण दुबै छिमेकी मित्रराष्ट्र चीन र भारतसंग सन्तुलन बनाउँदै मित्रतापूर्ण सम्बद्ध कायम गर्नुले प्रचण्डको राजनीतिक परिपक्वता पुष्टि हुन्छ ।

NEWLY_ELECTED_PM

नेपाल संवेदनशील घडीमा उभिएको बेला ४० औँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाको कार्यकाल सफल हुने वा नहुने त्यो नेपाली जनताले हेर्न बाँकी नै छ । शेरबहादुरको विगतको प्रधानमन्त्रित्व काललाई फर्केर हेर्दा सफल र असफलको मिश्रण भएता पनि असफलताको पल्ला नै भारी देखिन्छ । स्मरण रहोस, शेरबहादुर प्रधानमन्त्रीत्व कालमा राजनीतिलाई दुर्गन्धित गर्ने पजेरो काण्ड, सांसद खरिद बिक्रि जस्तो राजनतिक बिकृति को सुरुवात भएको थियो भने तत्कालिन माओवादीसंग राजनैतिक परिपक्वता प्रदर्शित नगर्नु को कारण नेपाल दसबर्षे जनयुद्धमा होमिन पुग्यो । तेस्रो पटकको प्रधानमन्त्रित्व कालमा राजा ज्ञानेन्द्रले असफलताको बिल्ला भिराउँदै शेरबहादुरलाई अपदस्थ गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

एकातर्फ शेरबहादुर ३८८ सभासदको विशाल बहुमत प्राप्त गर्दै नेपालका ४०औँ प्रधानमन्त्री बनेको अवस्था छ भने दोस्रोतर्फ दोस्रो चरणको नगरपालिका, गाउँ पालिका को चुनावलगत्तै प्रदेश र केन्द्रको चुनाव सम्पन्न विगर्नुपर्ने, एमाले जस्तो शक्तिशाली विपक्षको सामना गर्नुपर्ने, संधानमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु पर्ने, संविधानको पूर्ण रुपमा कार्यान्वयनका चरणमा आउने व्यवधानलाई कुशलतापुर्वक समाधान गर्नुपर्ने र संविधान संशोधन गरेर सम्पूर्ण नेपालीको चित्त बुझ्ने गरी सर्वस्वीकार्य बनाउने विशाल अभिभारा पनि शेरबहादुरको काँधमा छ ।

कहिलेकाहीँ समय र परिस्थिति नकारात्मक देखिएता पनि त्यसभित्र सकारात्मकता लुकेको हुन्छ । देउवासमक्ष समय कम र चुनौतीको भण्डार धेरै छ तर महत्वपूर्ण परीक्षाको घडी पनि हो यो । यो कार्यकालमा राम्रो असल उत्कृष्टबाहेक भुल गल्ति भन्ने शब्दको कुनै स्थान छैन र स्थान पाउनु पनि हुँदैन । प्रधानमन्त्री शेरबहादुरको एक भुलले उनको राजनीति हमेशाका लागि अन्त नै हुने छ भने नेपाल र नेपालीमाथि भयंकर विपदको पहाड उभिन सक्ने छ । तसर्थ, शेरबहादुर देउवाले बुद्धिमता प्रकट गर्दै बिनाभेदभाव सबैलाई साथ लिएर एक एक पाइला अगाडी बढाउनु पर्छ । उनको काँधमा आएको चुनौती ठुलो अवसर पनि हो यो अवसरको दुरुपयोग गरिए नेपाल अस्वस्थ हुने छ भने सदुपयोग गर्न सके नेपाल स्वस्थ, सबल नेपालमा परिणत हुने बाटो खुल्ने छ । साथै नेपालको इतिहासमा कुनै पनि राष्ट्रमा बिरलै नेताले प्राप्त गर्ने युगपुरुषको उपाधिले शेरबहादुर देउवा विभुषित हुने छन् ।