
– दामोदर पौडेल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यासित रूपले चुनाव जितेको भनिए पनि उनको विजयबारे गहन विश्लेषण हुन सकेको छैन । कतिपयले अमरिकीहरू अहिलेसम्म पनि जुन रूपमा महिलामैत्री हुनुपर्ने हो नभएको धारणा पनि रख्दछन् । यो भनाइ एकहदसम्म विरोधाभाषपूर्ण छ । अल्विन फुल्ब्राइट¸ कोन्डालिजा राइस तथा ट्रम्पकी आन्तरिक प्रत्याशी हिलारी क्लिटन अत्यन्त सफल विदेशमन्त्री मानिन्छन् । उनीहरूको तुलना केही वर्ष पहिलाका विदेशमन्त्री हेनरी किसिन्जरसँग एकहदसम्म गर्न सकिन्छ । त्यसैले महिला हुनु पनि अमेरिकामा चुनाव हार्नुको कारण हो भन्नुमा त्यति विश्वासिलो आधार दखिँदैन । अन्य विकसित मुलुकहरू बेलायत, जर्मन, अस्ट्रेलिया आदि देशलाई हेर्दासमेत महिला प्रमुख भएको र त्यही स्तरको अमेरिकी समाज भनिएजस्तो परम्परावादी नै छ भन्न सकिँदैन । विश्लेषकहरू कतिपय विषयमा सत्यको नजिक नपुगेकोजस्तो लाग्छ ।
प्रधान सत्य भनेको आतङ्कवादको बिगबिगी नै हो । संयुक्त राज्य अमेरिका विकसित र शान्त देशमा परिचित देश हो । केही समययता अमेरिका आतङ्कवादको पीडामा छ । सायद कुनै पनि अमेरिकी आतङ्कको भयबाट अलिकति भने पनि मुक्त छैन । ट्विनटावर बाँकी रहेन । अमेरिकी राष्ट्रपतिनिवास ह्वाइटहाउससमेत आतङ्ककारीले निसाना बनाउन प्रयास गरे । अन्य आतङ्ककारी घटना असामान्य रूपमा सामान्य भएका छन् । मानिस आतङ्कवादबाट त्रसित छैनन् भन्ने हुँदै होइन र अमेरिकी जनताको मूल चासो नै शान्ति रहेको छ । यो तथ्यपरक सत्य हो ।
ट्रम्पले आतङ्कवादविरुद्ध जुन प्रकारले चुनावी लहरमा आक्रमण गरे त्यसले अमेरिकी जनतामा एकैपटक दुईवटा भावनालाई जगायो । प्रथमतः उनीहरूले अशान्तिको अन्त्यको सङ्गठित चाहना राखे । अर्कोतर्फ अमेरिकामा आतङ्क बढ्नाको कारण र त्यसको पनि निराकरण चाहे ।
विश्वमा पनि आतङ्कवादको सञ्जाल बलियो बन्दै गयो । अमेरिकाले इरान, इराक, लिबियाजस्ता देशमा पुरानो सरकारको अन्त्य गर्न सफल भएर पनि नयाँ परिवेशमा शान्ति स्थापना गर्न असफल भयो । इराकमा त हजारौँ वर्षदेखि शान्तिपूर्ण रूपमा बसेका इसाई तथा अन्य धर्म मान्नेहरूप्रति आतङ्ककारीहरूको क्रूर व्यवहार सुरु भयो । उनीहरूका वासस्थानहरू तहसनहस भए ।
यी पीडाहरूको विश्वव्यापी परिवेश छ, समाधान संसारले चाहेको छ र अमेरिकीहरूले पनि चाहनु स्वाभाविक हो ।
अर्कोतर्फ मुसलमान आतङ्ककारीहरूको भनाइ अमेरिकासमेतले मुसलमानहरूमाथि अन्याय गरेको भन्ने नै छ । त्यो आरोपमा आंशिक सत्यता हुन सक्छ, तर त्यसको बदला विश्वका लाखाँै निर्दोषको हत्या र भौतिक एवम् पुरातात्विक सम्पदामाथिको आक्रमण तथा विनाश हुन सक्दैन भन्ने सत्यलाई पनि भुल्न सकिँदैन । यिनै लेखाजोखा अमेरिकी जनतामध्येका ठूलो हिस्साले गरेको हुनुपर्छ अर्थात् गरे । त्यसैको परिणाम पनि ट्रम्पको विजय हो । परम्परागत रिपब्लिकन मतहरूमा त्यो भावना राख्ने मत थपिनु उनको विजयको कारण हो । त्यो मत शान्तिप्रेमी मुसलमानहरूको पनि हो । भारतमा पनि वैचारिक रूपमा सल्टेका शान्ति चाहने मुसलमान समुदायले भाजपालाई मत दिएको अनुभव भइरहेको छ ।
आतङ्कवादको विश्वव्यापी जालोलाई परास्त पार्न शान्तिका लागि सहकार्य र आतङ्की गतिविधिमा असहिष्णु व्यवहार नै अहिलेका प्रमुख आवश्यकता हुन् । अर्कोतर्फ बाटो फरक भए पनि गन्तव्य समान भएकाहरूबीच एकता भन्ने सवाललाई पनि त्यत्तिकै महत्व दिन आवश्यक छ । अर्थात् अमेरिका, रुससमेतका देशहरू या त आतङ्कवादबाट त्रसित छन् या आतङ्कवादको विपक्षमा छन् । आतङ्कवादको विपक्षको सोच सकारात्मक पाटो हो ।
लामो समयपछि पनि विजय–पराजयको लेखाजोखाको औचित्यमा हामीले ध्यान दिन सकेनौँ भने सामूहिक लक्ष्य र नीति बन्न सक्दैन । प्राप्ति शून्य होइन, बरु नकारात्मक हुन सक्छ । चुरो विषयमा नलागेर हामी विवादका सहायक आधारमा अल्मलिन सक्दछौँ र त्यस्तै भइरहेको पनि छ । त्यसको परिणाम आतङ्कवादको पीडा कायम रहन सक्दछ ।
हामीले अरू आवश्यकता देखेमा अझै खोज गरेर तत्पश्चात् निर्मम भएर परिणाम भन्न सक्नुपर्दछ कि अमेरिकी डेमोक्रेटहरूले उदारताको माध्यमबाटै आतङ्ककारी र अतिवादीहरूलाई उदारताको मूल्य सिकाउन सकिन्छ र उनीहरूलाई विश्व–समाजको मान्यताको मूलधारमा ल्याउन सकिन्छ भन्ने मान्यता पनि राखेकोमा त्यो नराम्रो होइन । तर, त्यसो भनिरहँदा उदारतालाई कमजोरी मानिए उदारहरूसँगै मानवीय मूल्य र मान्यता पनि हराउँछ । अहिलेसम्मको उदारतालाई कमजोरी नै मानेर अशान्ति बढेको अर्थ लगाउँदा बढी वास्तविकताको नजिक पुगेको देखिने अवस्था छ ।
तसर्थ अमेरिकी राजनीतिमा डेमोक्रेटहरू मानवीय मान्यताको रक्षाका लागि जतिसम्म उदार हुनुपर्ने हो त्यसभन्दा बढी उदार भएकाले पनि अमेरिका असुरक्षित भएकै हो । उनीहरूको उदारताको दुरुपयोगको कारणले नै अशान्ति हरेक शान्तिकामी अमेरिकीको मनसम्म डरको रूप लिएर पुग्न सकेको हो । त्यसैले ट्रम्पले चुनाव जित्दा अमेरिकामा पहिलोपटक विशेषतः अनुदारवादी अतिवादीहरूबाट उदारवादी भनिने डेमोक्रेटहरूको पक्षमा रहेर ट्रम्पको व्यापक विरोध भयो । अर्थात् उदारवादीहरूकै माध्यमवाट आतङ्कवादलाई फैलाउन सकिन्छ भन्नेहरू दुःखी भए, विरोध गरे र पीडा पोखे ।
केही पर हटेर सत्य भन्नैपर्छ कि अमेरिकाले राज्यआतङ्कको अन्त्य गर्दा विद्रोहीहरूको आतङ्क बस्ती–बस्तीमा फैलियो । राज्यआतङ्कबाट जति मानिस पीडित थिए त्योभन्दा धेरै ठूलो पीडा विद्रोहीबाट विशेषतः मुसलमान बहुल क्षेत्रले भोग्नु परिरहेको छ । हामी आशा गर्दछौँ कि ट्रम्पले त्यसतर्फ ध्यान दिनेछन् । राज्य आतङ्कको अन्त्यका लागि वैकल्पिक कारगार उपायको खोजी र प्रयोग तथा अन्यत्र फैलिएको आतङ्कको निराकरणलाई योजनाबद्ध रूपमा नै सबैको सहयोगले अगाडि बढाउनुपर्ने हुन्छ ।
ट्रम्पले चुनाव जित्दा जनमतको कदर नगरी ट्रम्पको विजयमा व्यापक विरोध गरिनु डेमोक्रेटहरूको नाममा भएको लोकतन्त्रको अपमान थियो । अमेरिकामा यस्तो हुनु शोभनीय होइन । विश्वभर जनमतको कदर गर्नुपर्छ भनेर अर्ती दिने अमेरिकीहरूको देशमा नै यो असहिष्णु व्यवहार देखियो । जब कि डेमोक्रेटहरूको वैचारिक लक्ष्यअनुसार यस्तो हुनु हुँदैन । तर, जे वा जसरी भए पनि अमेरिकामा पहिलोपटक जनताको भावनाको विरुद्धमा ठूलो सङ्ख्यामा विरोध देखियो । आतङ्ककारी वा उनीहरूसँग नजिक रहने वा सहानुभूति राख्नेहरूको मत आतङ्कवादलाई बढावा दिन होइन, बरु उनीहरूलाई राजनीतिको मूल प्रवाहमा ल्याउनका लागि हुनुपर्छ भन्ने सबैले मनन गर्न आवश्यक छ भन्ने सन्देश यसले दिएको छ । त्यसैले अबका दिनमा टम्पले गर्नुपर्ने कार्य र विश्वमा देखिएका चुनौतीको समायोजन नै विश्वलाई कुन दिशामा लग्न सक्छन् भन्ने पक्षमा महत्वपूर्ण रेखा हुनेछन् ।
आतङ्कवादको विश्वव्यापी जालोलाई परास्त पार्न शान्तिका लागि सहकार्य र आतङ्की गतिविधिमा असहिष्णु व्यवहार नै अहिलेका प्रमुख आवश्यकता हुन् । अर्कोतर्फ बाटो फरक भए पनि गन्तव्य समान भएकाहरूबीच एकता भन्ने सवाललाई पनि त्यत्तिकै महत्व दिन आवश्यक छ । अर्थात् अमेरिका, रुससमेतका देशहरू या त आतङ्कवादबाट त्रसित छन् या आतङ्कवादको विपक्षमा छन् । आतङ्कवादको विपक्षको सोच सकारात्मक पाटो हो ।
अहिले रुस र अमेरिका सिरियामा आतङ्ककै विपक्षमा छन् । बाटो फरक होला । यो शीतयुद्धको समय होइन । रुसजस्ता देशसँग अमेरिकाको अब कटु वैचारिक लडाइँ बाँकी छैन । राज्यका सिमानाहरू खुकुला हुँदै छन् । मानवताको पक्ष अगाडि आइरहेको छ । सिमानाका विवाद भएका केही देशहरूबाहेक समस्त लोकतान्त्रिक देशहरूका सामूहिक स्वार्थ छन् । जासुसीका विषय उठ्ने गरेकामा परम्परागत जासुसीका विषय आधाभन्दा बढी अर्थहीन भइसकेका छन् । उदाहरणका लागि रुस र अमेरिकाबीचको जासुसी उद्योग–व्यवसाय प्रविधिका विषयमा हुन सक्छ, आक्रमण–प्रत्याक्रमणका सम्बन्धमा हुने सम्भावना कम छ । चीनले पनि निजी सम्पत्तिको प्रत्याभूति र सम्पन्नताको कारणले पहिलाजस्तो अति उग्र हुने भित्री क्षमता गुमाएको छ । राजनीतिक रूपमा त्यो क्षमता उत्तर कोरियासँग मात्र छ । त्यस्तो अवस्था अन्य केही धार्मिक कट्टरता भएका देशमा एक हदसम्म कायम रहेको हुन सक्छ । किनभने युद्धका लागि एकोहोरो पारिएको घातक जत्था गरिबीबाट पिल्सिएका र त्रास तथा भोक मेटाउने आशाको भ्रममा रहेकाहरूबाटै हुन सक्दछ ।
हामी के भन्न सक्छौँ भने अतिवादीहरूलाई प्रचार, संवाद आदिको माध्यमबाट शान्तिपूर्ण किसिमले आउन मार्गप्रसस्त गर्ने उदारता पनि आवश्यक छ । तर, आतङ्कवाद छिर्ने वा माध्यम बन्ने तथा आतङ्कवादीको मानवअधिकारभन्दा सर्वसाधारणको मानवअधिकारलाई उच्च स्थानमा राख्ने र आतङ्कवाद र अतिवादलाई लोकतन्त्रको माध्यम बनाएर उनीहरूको सञ्जाल र आतङ्क फैलाउने माध्यम बनाउन नदिने कार्य अहिलेका अहम् आवश्यकता हुन् ।
ट्रम्प त्यस दिशामा लाग्न दृढ बन्न आवश्यक छ र सबै शान्ति चाहनेले आतङ्कवादको मुद्दामा सहयोगी बन्न आवश्यक छ । लोकतन्त्र र बहुलवादलाई बलियो बनाउने हो भने अमेरिकी डेमोक्रेटहरू र बुद्धिजीवीहरूले आफ्ना परम्परागत विचारलाई बदलेर नयाँ सोचका साथ सुदृढ भएमा विश्वले नै नयाँ गति पाउन सक्छ । अन्यथा चुनावमा मतका लागि गरेका कतिपय काम लोकतन्त्रकै लागि प्रत्युत्पादक हुन सक्छन् । आतङ्ककारीको सहयोगी हुन पुगेकाहरूको मानसिकता भएकाहरूको मत लिनु र लोकतन्त्रको विपक्षमा हुने काम गर्नु भनेको सर्पले भ्यागुता निल्दै गर्दा भ्यागुताले अगाडि परेको किरालाई खानुजस्तै हो जसको फाइदा अन्ततोगत्वा सर्पलाई नै हुन्छ ।

प्रतिक्रिया