२३औँ वर्ष प्रवेशको खुड्किलोमा

२३औँ वर्ष प्रवेशको खुड्किलोमा


सत्य, तथ्य, निष्पक्ष समाचार सम्प्रेषणको प्रतिबद्धताका साथ २०५२ असार ७ गतेदेखि प्रकाशनमा आएको घटना र विचार साप्ताहिक प्रकाशन आरम्भको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । देशमा प्रजातन्त्रको पुनरोदय भई प्रजातान्त्रिक परिपाटी संस्थागत हुने बाटोमा लागेको ठानिएको उक्त समय यथार्थमा सहज, सरल थिएन । बहुदलीय प्रजातान्त्रिक पद्धति विकृतिको पथतर्फ उन्मुख बनेको टीका–टिप्पणी सुरु भइसकेको थियो भने संसदीय शासन–व्यवस्थाको विरुद्धमा कथित ‘जनयुद्ध’ घोषणा गरी देशलाई द्वन्द्वको भूमरीमा होम्ने दुष्कार्यको पृष्ठभूमि तयार गरिँदैको बेला थियो त्यो । प्रजातन्त्रका लागि दशकौँ लडेको दल नेपाली काङ्ग्रेससमेत बीपीको आदर्शबाट स्खलित भई सत्तालाई नै सर्वोपरि ठान्ने, मुलुक र जनताको निम्ति काम गर्नेभन्दा पनि शक्तिको खिचातानीका कारण आपसी गुटबाजीले निम्त्याएको आन्तरिक समस्या निप्ट्याउनमै समय खेर फाल्न विवश देखिँदै थियो । शासन–सत्ताको कुनै अनुभव नभएको र तत्कालीन परिवेशमा ‘उद्दण्ड र अराजक’ छवि बनाएको नेकपा एमाले आफ्नै शैलीको सरकार सञ्चालनको अभ्यास गर्दै थियो । समष्टिमा भन्नुपर्दा त्यतिबेलाको भाषामा ‘शिशु प्रजातन्त्र’ भनिने पुनस्र्थापित बहुदलीय प्रजातन्त्र स्वाभाविक रूपले हुर्कन नसकी सङ्क्रमणकालीन राजनीतिको सिकार बनेर ‘सुकेनासग्रस्त’ हुने खतराको सङ्केत मिलिसकेको परिवेश थियो त्यो ।

जब देशको राजनीतिक अवस्था नै स्वच्छ, स्वस्थ र नागरिक एवम् मुलुकमैत्री हुँदैन, यस्तोमा जतिसुकै इमान र लगनसाथ सुरु गरे पनि कुनै पनि कर्म या ‘मिसन’ सहज हुने अपेक्षा खासै गर्न सकिन्न । प्रस्ट भन्नुपर्दा हाम्रो यात्रारम्भ पनि सहज थिएन, रहेन र अझै अप्ठ्यारो यात्रा जारी नै छ । विविध प्रतिकूलताका बाबजुद आफूले पस्किने समाचार, विचार तथा विश्लेषणहरू समयसापेक्ष, स्वच्छ र मुद्दाविशेषमा आधारित रहिरहनुपर्छ भन्नेमा घटना र विचार अडिग छ । मुलुकको सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय स्वाभिमान हरदम यसको उच्च प्राथमिकतामा रहँदै आएको छ भने जनताको जीवनमा सुखद एवम् सकारात्मक परिवर्तन ल्याउन सक्ने शासन व्यवस्थाको पक्षमा घटना र विचार उभिएको छ, उभिइरहनेछ । मुलुकलाई स्थायित्व र आर्थिक समृद्धिको दिशातर्फ लम्काउन पत्रकारिता पनि एक सशक्त माध्यम हुन सक्छ भन्ने मान्यताप्रतिको विश्वासबाट घटना र विचार टिम अभिप्रेरित छ । आफ्नो प्रयासबाट यस्तो उपलब्धि हासिल भएको देख्ने हाम्रो सपना हो ।

नेपालले लोकतान्त्रिक गणतन्त्रमा छलाङ मारेकै पनि लगभग डेढ दशक पूरा हुन लागिसक्यो । प्रजातन्त्र पुनप्र्राप्ति हुँदै गणतान्त्रिक सङ्घीय व्यवस्थासम्मको झन्डै तीन दशक अवधि बित्न लाग्दा पनि देशको दशा सुध्रिएको अनुभूति गर्न सकिएको छैन । तीव्र गतिमा परिवर्तित विश्वपरिवेशले प्रदान गर्ने परिवर्तन या विकास–आयामका स्वतः आगमनबाहेक मुलुकले आफ्नै प्रयत्न र परिश्रममा हासिल गरेका उपलब्धि खोजियो भने हात लाग्यो शून्य भन्नुपर्ने अवस्थामै छ नेपाल । राजनीतिक हिसाबले देशभित्र निकै उथलपुथल र परिवर्तनहरू भए पनि पच्चीसौँ वर्षयता सङ्लिन नसकेको राजनीतिक वातावरण अझै धमिलो नै छ । दूरावस्थाको एउटा चरण पार गर्दानगर्दै अर्को दुर्दशाले पछ्याउने दुर्नियतिको सिकार भइरहेको छ देश । यस्तै–यस्तै परिवेशसँग पौँठेजोरी खेल्दै दुई दशकभन्दा ज्यादाको यस अवधिभर अविच्छिन्न तवरले पाठक वर्गसँग हातेमालो गर्ने सिलसिलामा घटना र विचारले अनेक उतारचढाव देखेको, भोगेको र अनुभूत गरेको छ । यस्तोमा आफ्नो कर्तव्य यसले झन् गहन भएको महसुस गरेको छ । यस विकारपूर्ण राजनीतिका कारण सिर्जित विक्षिप्त परिवेश या दलदलबाट बाहिर निस्कने कसरतमा हामी अनवरत क्रियाशील छौँ । २३औँ वर्ष प्रवेशको विशेष अवसरमा घटना र विचार साप्ताहिक आफ्नो गौरवपूर्ण विगतको साख रक्षा गर्दै आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्षपूर्ण सामग्रीका साथ आफ्ना पाठकसँग हातेमालो गरिरहने प्रण गर्दछ ।

आमपाठकको बदलिँदो रुचि र सुझावलाई ध्यान दिँदै अखबारलाई परिमार्जित, परिष्कृत गर्ने उपक्रमका साथ प्रविधिको विकसित आयाम पछ्याउँदै अनलाइन संस्करणलाई थप चुस्त–दुरुस्त तुल्याएर छिटो–छरितो ढङ्गले थप ताजा सामग्री पाठकसमक्ष पु¥याउने तयारी अन्तिम चरणमा पुगेको सुखद जानकारी गराउन पाउँदा घटना र विचार गर्व र सुखदानुभूति गर्दछ । आफ्नो गौरवमय यात्रामा महत्वपूर्ण योगदान पु¥याउनुहुने पाठकवर्ग, सञ्चारकर्मी मित्रहरूका साथै विज्ञापनदातालगायत तमाम शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गर्दै शुभसञ्चार प्रकाशन प्रा.लि. अन्तर्गत रङ्गीन कलेवरमा प्रकाशन आरम्भ गर्दैगर्दा सदाझैँ साथ–सहयोग र स्नेहको अपेक्षा घटना र विचारले गरेको छ । अस्तु ।