कति भिन्न हुन् महन्थ र प्रचण्ड ?

कति भिन्न हुन् महन्थ र प्रचण्ड ?



– देवप्रकाश त्रिपाठी

माओवादी अध्यक्ष प्रचण्ड र सर्लाही आसपासलाई आधार बनाएर क्षेत्रीयतावादी राजनीतिक क्रियाकलापमा संलग्न महन्थ ठाकुरलाई तुलना मात्र गर्नु पनि परस्पर अपमानको विषय मानिन सक्छ । सर्वहारावादी अधिनायकत्व हुँदै राज्यविहीन तुल्याइने साम्यवादसम्म पुग्ने ‘महान्’ उद्देश्य बोकेका प्रचण्डलाई देशभित्र पनि आफ्नो बेग्लै राज्य पैदा गरेर ‘छोटे मालिक’ बन्न यत्नशील महन्थ ठाकुरसँग तुलना गरिनु क्रान्तिकारी कम्युनिस्टहरूका निम्ति लज्जा या क्षोभको विषय हुन सक्छ भने जीवनभर प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रियाहरूको पक्षमा लड्दै आएका महन्थ ठाकुरसँग प्रचण्डको तुलना गरिँदा ठाकुरका अनुयायीहरूले पनि अपमानबोध गर्न सक्छन् । उमेर, पृष्ठभूमि र वैचारिक एवम् सैद्धान्तिक मूल्य–मान्यता नितान्त भिन्न भएकोले मानिसलाई उल्लिखित दुई पात्रबीचको तुलना असान्दर्भिक प्रतीत हुन पनि सक्ला । जसले प्रचण्ड र महन्थलाई एउटै सिक्काको दुई पाटोका रूपमा बुझेका छन्, तिनका दृष्टिमा यी दुईबीचको तुलना स्वाभाविक र मान्य हुन सक्दछ ।

प्रचण्ड र महन्थबीचको पहिलो समानता भनेको दुवैको ढोंगी र झेली व्यक्तित्व हो । प्रचण्डले जनवादी क्रान्तिको सपना देख्नेहरूलाई झेल गरे, महन्थले संसदीय प्रजातान्त्रिक प्रणालीसहितको एकताबद्ध मुलुकका पक्षधरहरूलाई झुक्याए । माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद र माओवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएका प्रचण्डले नेपालका गरिब तथा क्रान्तिकारी ‘रोमान्स’प्रति आकर्षित युवाहरूलाई ‘महान् जनवादी’ क्रान्तिको सपना देखाए, उनको पार्टी–दस्तावेजमा कुँदिएका शब्दशिल्पले प्रचण्डलाई अहिले पनि कम्युनिस्ट क्रान्तिकारी भएको दर्शाउँछ । तर, व्यवहारतः एउटा कम्युनिस्टमा हुनुपर्ने कुनै गुण प्रचण्डमा पाइन छोडेको छ । पञ्चायतकालमा प्रहरी बिटहरूमाथि घातक आक्रमण गरेर सशस्त्र सङ्घर्षको अभ्यास गर्ने क्रममा भएको क्षति (जसलाई सेक्टर काण्ड पनि भनिन्छ) का निम्ति नैतिक जिम्मेवारी लिँदै महामन्त्री पदबाट राजीनामा दिइसकेपछि मोहन वैद्यले सीपी गजुरेलभन्दा उपयुक्त पात्र प्रचण्डलाई ठाने र केही ‘कामरेड’हरूको गहिरो असहमतिका बीच उनैलाई महामन्त्रीको जिम्मेवारी सुम्पिएका थिए । त्यसबेला (वि.सं. २०४४ सालतिर) वैद्यले सशस्त्र सङ्घर्षको थालनी गर्न सक्ने खुवीमा मात्र केन्द्रित भएर हेरेका कारण प्रचण्डमा त्यसप्रकारको क्षमता देखेको हुन सक्छ, क्रान्तिकारी सङ्घर्ष अघि बढाउने विश्वासका साथ आफूले ‘प्रमोट’ गरेका व्यक्तिको खुवीबारे मोहन वैद्य त्यसबेला पूरै स्पष्ट भए, जब दिल्लीमा बाह्रबुँदे सम्झौता भयो र उक्त सम्झौतायता प्रचण्डका क्रियाकलाप क्रमशः जसरी उजागर हुँदै गएका छन् । वैद्यहरूले प्रचण्डबारे सच्चाइ बुझे पनि कैयन युवा क्रान्तिकारी कम्युनिस्टहरूले माओवादी आन्दोलनभित्र लुकेको प्रचण्डको ‘रासपुटिन अनुहार’बारे भेउ पाइसकेका छैनन् । त्यसैले अझै पनि कतिपय मानिस प्रचण्डलाई कम्युनिस्ट क्रान्तिकारी ठानेर साथ दिँदै छन् । कम्युनिस्ट भएरै उनले जातिवाद र क्षेत्रीयतावादलाई उच्च प्रोत्साहन दिँदै नेपालको अस्तित्व र नेपालीको एकतालाई जरैदेखि भत्काउने अभियान सञ्चालन गरिरहेका छन् ।

उता प्रजातन्त्रवादीको आवरणमा पनि महन्थ ठाकुरले त्यही गरिरहेका छन् जे प्रचण्डले भनिरहेका छन् । महन्थ ठाकुरजीको मामाघर नेपालमै भएको, वकिलको रूपमा आफ्नो कर्मथलो नेपाललाई नै बनाइरहेको र नेपालमा प्रजातन्त्र स्थापनाका निम्ति काङ्गे्रससँग निकट रही काम गरिरहेका कारण काङ्गे्रसका नेताहरूको आँखामा उनी परेका थिए । काङ्गे्रसले अङ्गीकार गरेको संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्र स्थापना गर्ने आन्दोलनप्रति उनको सक्रियता र प्रतिबद्धतालाई दृष्टिगत गरी नेताहरूले महन्थलाई केन्द्रीय स्तरको नेताको हैसियतमा पु¥याएका थिए । पार्टीको केन्द्रीय कोषाध्यक्ष र प्रजातन्त्र स्थापनापछि पटकपटक मन्त्री बनाइएका ठाकुरले २०६३ को परिवर्तनपश्चात् काङ्गे्रससँगको लामो आबद्धता र गिरिजाप्रसाद कोइरालासँगको विशेष सान्निध्य हठात् तोडेर क्षेत्रीयतावादी राजनीतिक क्रियाकलापमा आफूलाई सामेल गर्दा गैरकाङ्गे्रसीहरूले समेत आश्चर्यजनक र अस्वाभाविक मानेका थिए । जसरी प्रचण्ड कम्युनिस्ट क्रान्तिकारी आवरणमा रहेर नेपाली राष्ट्रियता र राष्ट्रिय एकता बिथोल्न क्रियाशील रहिआएका छन्, त्यसैगरी काङ्गे्रसले अवलम्बन गरेको विचार, दर्शन र सिद्धान्तको आवरणमा महन्थ बेग्लै अदृश्य भूमिकामा धेरै पहिलेदेखि नै क्रियाशील रहिआएको अनुभूति २०६३ पछिका उनको सोच र क्रियाकलापले आमनेपालीलाई गराएको छ । कतिपयले ठाकुर काङ्गे्रसमा कुण्ठित रहेको र आफ्नो सक्कली स्वरूपमा अहिले प्रस्तुत भएको पनि भनिरहेका छन् ।

माओवादीको सशस्त्र सङ्घर्ष भने अब करिब पूर्णविराम लागिसकेको अवस्था छ । इथियोपियामा भने माओवादीले अवलम्बन गरेको ‘पहिचान’को मुद्दा अन्ततः देश विभाजनसम्म पुगेर विसर्जित भयो । माओवादी कम्युनिस्टहरू पहिचानको नाममा जातीय, क्षेत्रीय र भाषिक मुद्दा उठाउँछन्, उक्त मुद्दाको उठान भइसकेपछि त्यसलाई बोकेर हिँड्न अर्कै थरी तयार भइसकेका हुन्छन् । नेपालमा प्रचण्डको अगुवाइमा जातीय र क्षेत्रीयतावादी मुद्दा सशक्त ढङ्गले उठ्यो, उनी अहिले पनि तिनै मुद्दाको वरिपरि घुमिरहेका छन् । तर, उक्त मुद्दा बोकेर हिँड्ने कामचाहिँ महन्थ ठाकुरहरूले गरिरहेका छन् । हो, प्रचण्ड र महन्थ यही अर्थमा एउटै सिक्काको दुई पाटा बन्न पुगेका छन् ।

प्रचण्डले जातिवाद र क्षेत्रीयतावादलाई पहिचानको मुद्दाका रूपमा अघि सारे । टर्कीमा पनि माओवादी सङ्घर्ष र जातीय तथा क्षेत्रीयतावादी सङ्घर्षको अगुवाइ एउटै पक्षले गरेको थियो । तर, पछि माओवादी सङ्घर्ष नै विस्थापित हुने गरी पहिचानको नाममा जातीय र क्षेत्रीयतावादी सङ्घर्ष अघि बढ्यो । एउटा निश्चित बिन्दुमा पु¥याइनु अगावै पहिचानको नाममा चलाइएको सङ्घर्षले आज पनि टर्कीलाई शान्त रहन दिएको छैन । माओवादीको सशस्त्र सङ्घर्ष भने अब करिब पूर्णविराम लागिसकेको अवस्था छ । इथियोपियामा भने माओवादीले अवलम्बन गरेको ‘पहिचान’को मुद्दा अन्ततः देश विभाजनसम्म पुगेर विसर्जित भयो । माओवादी कम्युनिस्टहरू पहिचानको नाममा जातीय, क्षेत्रीय र भाषिक मुद्दा उठाउँछन्, उक्त मुद्दाको उठान भइसकेपछि त्यसलाई बोकेर हिँड्न अर्कै थरी तयार भइसकेका हुन्छन् । नेपालमा प्रचण्डको अगुवाइमा जातीय र क्षेत्रीयतावादी मुद्दा सशक्त ढङ्गले उठ्यो, उनी अहिले पनि तिनै मुद्दाको वरिपरि घुमिरहेका छन् । तर, उक्त मुद्दा बोकेर हिँड्ने कामचाहिँ महन्थ ठाकुरहरूले गरिरहेका छन् । हो, प्रचण्ड र महन्थ यही अर्थमा एउटै सिक्काको दुई पाटा बन्न पुगेका छन् । आत्मनिर्णयको अधिकारसहित जातीय र क्षेत्रीयतावादी राज्य खडा गर्नुपर्छ भन्ने प्रचण्ड र महन्थले आफ्नो गन्तव्यमा बाधक बन्न सक्ने सबैजसो अवरोधलाई पन्छाउँदै आएका छन् ।

लेनिनको राज्य विलोपसम्बन्धी सिद्धान्तलाई अवलम्बन गरेको दाबी गर्ने प्रचण्ड देशविशेषको अस्तित्वप्रति सिद्धान्ततः मोह राख्दैनन् । राज्य अर्थात् देश विघटन नभएसम्म साम्यवाद स्थापना हुन सक्दैन भन्ने विचार–ग्रन्थी प्रचण्ड र प्रचण्डहरूको चिउँडोमा जसरी झुन्डिएको छ, त्यही विचार–ग्रन्थीले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई साम्राज्यवादी, सामन्ती, अधिनायकवादी आदि के–के ठहर ग¥यो र उनका सालिक तथा विरासत ढाल्दै जाने सोचलाई अनुमोदन ग¥यो । महन्थ ठाकुर र ठाकुरहरूको दृष्टिमा पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु जायज कर्म हुन सकेन । तिनका दृष्टिमा पनि पृथ्वीनारायण सामन्ती र साम्राज्यवादी ठहर भए । नेपालको इतिहासप्रति कम रुचि राख्ने महन्थ ठाकुर विजयपुर, चौदण्डी, मकवानपुर, तनहुँ, पाल्पा, गुल्मी, बझाङ र बाजुरालगायतका स्थान (देश)का राजाको अधीनस्थ तराईको कुन–कुन भूक्षेत्र कहाँसम्म थियो भन्ने विषयमा सम्भवतः सरोकार पनि राख्दैनन् । विजयपुर, चौदण्डी, मकवानपुर, पाल्पा, गुल्मी या बझाङ मात्र होइन तनहुँजस्तो राज्यका राजाको जमिन्दारीसमेत तराईमा थियो । हाल भारतीय सार्वभौमिकताभित्र रहेको चम्पारणसम्म तनहुँका राजाको प्रभाव थियो । हिउँदमा जाडो छल्न तनहुँको राजपरिवार चम्पारण गई बस्ने गर्दथे । सन् १७४९ को डिसेम्बरमा तनहुँका राजा त्रिविक्रम सेन जाडो छल्न चम्पारण जाने क्रममा चितवनको देवघाटमा विवाह गरेर ल्याउँदै गरिएकी एक दुलहीको घुम्टो खोलेर उनले मुहार हेरेको घटनालाई लिएर पृथ्वीनारायण शाह क्रूद्ध भएको तथ्य इतिहासमा पाइन्छ । बाइसी र चौबिसे राज्यहरूमध्ये गोरखा, लमजुङ र काठमाडौंलगायतको अधीनमा तराई नभए पनि अन्य अधिकांश राज्यले तराईको ठूलो भूभाग ओगटेका थिए । एकीकरणका क्रममा विजयपुर, चौदण्डी, मकवानपुर, गुल्मीलगायतलाई नेपालमा समेटिएपछि तराईका भूभाग पनि स्वतः समेटिन पुगेको यथार्थप्रति महन्थ ठाकुर संवेदनशील नभए पनि प्रचण्ड हुनुपर्ने थियो, दुःखका साथ भन्नुपर्छ, प्रचण्ड पनि नेपालको ऐतिहासिक तथ्यप्रति बेसरोकार महसुस भइरहेछन् ।

तराईको ठूलो सहर वीरगन्जको आवादी वीरशमशेरले गराएका हुन्, पश्चिम तराईको ठूलो सहर नेपालगन्ज नामाकरणसहित आवादी गराउने काम सिद्धिमान राजभण्डारीबाट भएको हो । कुनै ठाकुर, मियाँ वा यादवले स्थापना गरेको सहर नेपालगन्ज होइन । चन्द्रपुर भनिने चन्द्रनिगाहपुर र अमलेखगन्जको स्थापना चन्द्रशमशेरबाट भएको हो । महेन्द्रनगर, भद्रपुर र बुटवल–भैरहवालगायतका सहरको आवादी र विकासमा राजा महेन्द्रको महत्वपूर्ण योगदान रहेको ऐतिहासिक तथ्यलाई पनि भुल्न सकिँदैन । महन्थ ठाकुरले राजनीतिक कर्मथलो बनाएको सर्लाही नेपालभन्दा बाहिर नरहेको ऐतिहासिक तथ्यबारे स्पष्ट हुने जाँगर महन्थले नचलाए पनि बागमीत नदीमा बाँध बनाई कृषियोग्य जमिन तथा बस्तीको रक्षा गर्न डेढ सय वर्षअघि वि.सं. १९२२ मा स्थानीय चौधरी र जमिनदारहरूलाई दश हजार रुपैयाँ उपलब्ध गराएको, १९२४ मा सर्लाहीसहित तराईको ठूलो भूक्षेत्रमा अनिकाल पर्दा जंगबहादुर राणाले तीन लाख रुपैयाँको अन्न भारतबाट खरिद गरेर ल्याई जनतामा वितरण गरेको व्यहोरा इतिहासमा उल्लिखित छ ।

इथियोपिया, क्राइमिया या सुडान विभाजित हुनुको विशिष्टता नेपालसँग मेल खाने दखिन्न । क्राइमिया पहिले पनि युक्रेनको थिएन र अब पनि रहेन । स्टालिनको शासनकालमा युक्रेनका मूलवासीलाई तेजोबध गरी उनीहरूलाई काबुमा लिनका लागि मात्र क्राइमिया अर्थात् क्रिमियालाई युक्रेनमा मिलाइएको थियो । कृत्रिम ढङ्गले मिलाइएको भूभाग पानीमा तेलझैँ छुट्टिनु अस्वाभाविक होइन । तर, आदि कालदेखि नै हिमाल, पहाड र तराईको समष्टिका रूपमा नेपाली रहिआएको हो । ब्रिटिसहरूले शताब्दीयौँसम्म भारतमा राज गर्दा पनि नेपालसँग तराईलाई अलग गर्न नसकेका या आवश्यक नठानेका हुन् । महन्थ ठाकुरहरूले तराईको खास भूभागमा स्वशासनको सपना देखेका छन् भने त्यो निकै कठिन कार्य हुन सक्छ । कुनै सीके नामक विखण्डनको स्वप्नदर्शीले गुगललाई उपलब्ध गराएको क्षुद्रकथ्यका आधारमा तराईको कतिपय भूभागलाई विभाजनको तहसम्म पु¥याउने या विशेष अधिकारसम्पन्न बनाउने नियत राखिएको हो भने त्यो पनि सहज देखिँदैन । छिमेकी मित्रराष्ट्र भारतमा कस्मिर र सिक्किमले विशेष सुविधा पाउनुको कारण तिनको पृष्ठभूमि र इतिहास विशिष्ट भएकोले पनि हो । नेपालमा समथर, पहाडी र हिमाली भूक्षेत्रलाई राजनीतिक रूपले बेग्लाबेग्लै तरिकाबाट ‘डिल’ गर्नुपर्ने कुनै ऐतिहासिक आधार भेटिन्न । प्रचण्डहरूले जातीय–क्षेत्रीय पहिचानको मुद्दा उठाएकै आधारमा सुरु गरिएको क्षेत्रीयतावादी अवधारणालाई प्रोत्साहन गर्न नेपाल राज्य बाध्य हुनुपर्ने अवस्था देखिँदैन । महन्थहरूले प्रचण्डहरूको बुई चढेर किस्ताबन्दीमा अधिकार थप गर्दै जाने र कालान्तरमा दक्षिणी सुडान नै बनाउने तानाबाना बुनिएको हो भने पनि तराईका नेपाली जनता अनेकौँ कारणवश त्यस्तो योजनामा सहयोगी बन्ने देखिन्न । तर, सिक्काको अर्को पाटो प्रचण्डहरूको भूमिका नेपाली राजनीतिमा यसैगरी बढ्दै जाने हो भने केसम्म हुन सक्छ, त्यसको पनि अन्दाज गर्न सकिँदैन । प्रचण्डले देश विखण्डनको सूत्र प्रतिपादन गरे, महन्थले सार्वभौमिकता विभाजनको जग राख्दै छन् र योभन्दा अगाडिको कार्य सीके या अरू कुनै ‘राहु’ले अघि बढाउन सक्ने सङ्केतहरू देखिँदै छन् । नेपाली जनता प्रचण्ड र महन्थको चरित्र र नियतबारे स्पष्ट नहुँदासम्म मुलुकमा हाल उत्पन्न तनाव अन्त्यको सम्भावना कम देखिएको छ ।