यसरी हुन्छ प्रशासनभित्र राजनीति

यसरी हुन्छ प्रशासनभित्र राजनीति


लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक दलका नेताहरूबीच आम्दानीका स्रोतहरूमाथि पकड बनाउने होड व्यापक रूपमा चल्ने गरेको पाइएको छ । अर्थ, भौतिक योजना, स्थानीय विकास, सहरी विकास, गृह र पर्यटन मन्त्रालयलगायत त्यस्ता कतिपय विभाग छन् जहाँ आफ्नो मान्छेलाई राखेर नगद सङ्कलन गर्न दलका नेताहरूबीच तीव्र प्रतिस्पर्धा नै चल्ने गर्दछ । नयाँ सरकार गठनसँगै भौतिक योजना मन्त्रालयको सचिव र मुख्यसचिव चयन गर्न पनि भित्रभित्रै रोचक रोचक खेल सुरु भयो । यसक्रममा भौतिक योजना मन्त्रालयको सचिव बन्ने मौका देवेन्द्र कार्कीलाई प्राप्त भएको छ, तर असारसम्मको ‘उठ्ती–पुठ्ती’को कार्य भने उनले गर्न पाउने छैनन् । सोझा मानिने धनबहादुर तामाङले नै ‘उठाउने र बुझाउने’ कार्य सम्पादन गर्नुपर्नेछ । तामाङको यस काममा ‘डिस्टर्ब’ नगर्ने सर्तमा उक्त मन्त्रालयको सचिव बनाइएका कार्की ‘समय छल्न’ एउटा सानो टोलीसहित अमेरिका पुगेका छन् । आर्थिक वर्षको ‘सबै हिसाब’ तामाङले गरिसकेपछि मात्र कार्कीले मन्त्रालयको काम सम्हाल्न पाउने भएका छन् । त्यसैले आफ्नो अमेरिका भ्रमणलाई कार्कीले केही समय लम्ब्याउने सोच बनाएको बुझिएको छ । सचिवको पाँचवर्षे कार्यकाल पूरा भएर धनबहादुर तामाङ यही असार २८ गते सेवानिवृत्त हुँदै छन् । उनलाई मुख्यसचिवमा पदोन्नति गर्न एकथरी (जसले देवेन्द्र कार्कीलाई भौतिक योजना मन्त्रालयको सचिव बनाइदिएका छन्) ‘शक्तिशालीहरू’ जोडतोडका साथ लागिपरेका छन् ।

ज्ञातव्य छ, मुख्यसचिव सोमलाल सुवेदी आफ्नो कार्यकाल पूरा हुनुभन्दा चौध महिनाअगावै पद त्याग गर्दै छन् । मासिक अठार हजार यूएस डलर पारिश्रमिक पाउने गरी एसियाली विकास बैंकले ‘एड्भाइजरी’ भूमिकाको जागिर दिने भएपछि सुवेदीले मुख्यसचिवको जिम्मेवारी परित्याग गर्न चाहेका हुन् । सुवेदीलाई पद छोडेर एडीबी प्रवेश गर्न अनुमति प्राप्त भइसकेको छ, तर उनले कुन मितिमा पद त्याग गर्ने भन्ने कुराले भावी मुख्यसचिव तय गर्ने हुनाले यही बिन्दुमा ‘चर्को राजनीति’ भइरहेको छ ।

यही असार २८ गते अवकाश पाउँदै गरेका धनबहादुर तामाङले मुख्यसचिवको जिम्मेवारी पाएमा ५८ वर्षे उमेर अवधिका कारण उनी थप करिब ६ महिना सेवामा रहन पाउनेछन् । सचिवहरूमध्ये राजेन्द्रकिशोर क्षेत्री आगामी साउन २ गते तथा शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ आउँदो कात्तिक ७ गते सेवानिवृत्त हुँदै छन् । असार २८ गतेभन्दा अघि नै सोमलालले मुख्यसचिव पदबाट राजीनामा दिएमा वरीयताक्रमका आधारमा धनबहादुर तामाङ मुख्यसचिव हुनेछन् भने साउनदेखि कात्तिक पहिलो साताभन्दा यता राजीनामा दिएमा शान्तराज सुवेदी या शान्तबहादुर श्रेष्ठलाई मुख्यसचिव बन्ने अवसर प्राप्त हुनेछ । यदि सुवेदी र श्रेष्ठमध्ये मुख्यसचिव बनेमा करिब पूरै कार्यकाल (तीनवर्षे) सेवा गर्ने मौका उनीहरूले पाउनेछन् र ‘शक्तिकेन्द्रको आँखा’मा राम्रोसँग परेका हालका गृहसचिव लोकदर्शन रेग्मी सचिवबाट नै अवकाश पाएर घर जानुपर्ने हुन्छ । रेग्मी मुख्यसचिव बन्न शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ अवकाश भइसक्नुपर्ने हुन्छ । सोमलाल सुवेदीले यही असार २८ गतेभन्दा पहिले राजीनामा दिएको अवस्थामा करिब ६ महिनाका लागि मुख्यसचिव बनेका धनबहादुर तामाङको कार्यकालभित्रै शान्तराज तथा शान्तबहादुरले पनि अवकाश पाएर स्वतः लोकदर्शन रेग्मी वरीयताक्रममा अगाडि आइपुग्नेछन् ।

त्यसैले यतिबेला लोकदर्शन रेग्मी तथा उनको पक्षमा रहेका शक्तिकेन्द्रहरू सोमलाललाई असार २८ गते अगावै राजीनामा गराएर धनबहादुर तामाङलाई मुख्यसचिव नियुक्त गराउन सक्रिय भएका छन् । यद्यपि त्यस्तो अवस्थामा रेग्मीसँगै शङ्कर अधिकारीलाई पनि मुख्यसचिव बन्ने अवसर प्राप्त हुनेछ र अधिकारीलाई मुख्यसचिव बनाउन चाहनेहरूले पनि अहिले सोमलाललाई राजीनामा गराएर धनबहादुर तामाङलाई मुख्यसचिव नियुक्त गराउने खेल खेलिरहेका छन् । यदि शक्तिकेन्द्रहरूको खेल सफल भएमा धनबहादुर तामाङ ६ महिनाका लागि मुख्यसचिव बन्नेछन् र शान्तराज सुवेदी तथा शान्तबहादुर श्रेष्ठ उक्त अवसर पाउनबाट वञ्चित हुनेछन् । सत्तारुढ पक्षभित्रकै एउटा खेमा शान्तराजलाई मुख्यसचिव बनाउने पक्षमा भएकोले उनीहरू भने सोमलाललाई धनबहादुर तामाङले अवकाश पाएपछि मात्र राजीनामा गराउने पक्षमा छन् ।

लोकदर्शन रेग्मी सचिवहरूमध्ये सबैभन्दा ‘सक्रिय’ र शक्तिकेन्द्रका ‘प्रिय’ मानिन्छन् । ‘सङ्ग्रह गर्ने’ र ‘बुझाउने’ मामिलामा समेत अगाडि रहेकाले रेग्मीको पक्षमा अनेक थरी शक्तिकेन्द्रहरू सक्रिय भएको पाइएको छ । वास्तविक शक्ति कहाँ छ भन्ने पत्ता लगाउने र शक्तिकेन्द्रको इच्छा र इसाराभन्दा बाहिर गएर केही नगर्ने, तर तिनले अह्राएको जस्तोसुकै काम पनि गर्ने हुनाले रेग्मी सधैँ शक्तिकेन्द्रको रोजाइमा पर्ने गरेका छन् । देशभित्रको मात्र नभई बाह्य शक्तिको समेत रोजाइमा परेका रेग्मी तत्कालका लागि अर्थ मन्त्रालयको सचिव बन्न प्रयासरत छन् ।