नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पोखराका युवासँग अन्तरक्रिया गर्नुभएको छ । ग्लोकल प्रा.लि.द्वारा पोखराको होटेल ल्यान्डमार्कमा गत साता आयोजित अन्तरक्रियामा भारत र नेपालबीच जनस्तरको सम्बन्ध एवम् पारस्परिक हितबारे छलफल भएको थियो । राजदूत पुरीसँग पोखरेली युवाले हार्दिकताका साथ खुलेर नेपाल–भारत सम्बन्ध र आपसी हितका मामलामा विचार आदान–प्रदान गरेका थिए ।
यसैगरी गत बिहीबार राजदूत पुरीले भारतीय दूतावासको सहयोगमा नेपाल नेत्रज्योति सङ्घद्वारा पोखरामै आयोजित आँखा शिविरको उद्घाटन गर्नुभयो । स्थानीयको आँखा परीक्षण र उपचारमा सहयोग गर्ने उद्देश्यले लेखनाथस्थित सैनिकबस्तीमा आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा उपस्थित भई स्थानीय जनताले आँखा जाँच गराए भने आवश्यकताअनुसार उनीहरूलाई चस्मालगायत अन्य उपकरणसमेत निःशुल्क प्रदान गरिएको थियो ।
ज्ञातव्य छ, भारत–नेपाल संयुक्त कार्यक्रमअन्तर्गत वर्षेनी आयोजना हुँदै आएको आँखाको हेरविचार तथा उपचारसम्बन्धी कार्यक्रममार्फत सन् २००१ देखि हालसम्म मित्रराष्ट्र भारतद्वारा एक लाख २५ हजार नेपाली नागरिकले आँखाको उपचार सेवा एवम् आवश्यक चस्मासहितका उपकरण हासिल गरेका छन् । यस्तै, नेपालका विभिन्न स्थानका ६५ हजारभन्दा बढी विद्यालय जाने बालबालिकाका लागि समेत आँखासम्बन्धी उपकरण वितरण गरिएको दूतावासले जनाएको छ । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भारतबाट निकै ठूलो सहयोग प्राप्त हुँदै आएको छ भने भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत ५ सय ५२ वटा ठूला तथा साना विभिन्न परियोजनाका लागि भारत सरकारबाट अर्बौं आर्थिक अनुदान प्रदान गरिएको छ ।
प्रतिक्रिया