दोस्रो चरणको चुनावी परिणाम : काङ्ग्रेसका लागि अर्को धक्का

दोस्रो चरणको चुनावी परिणाम : काङ्ग्रेसका लागि अर्को धक्का


दोस्रो चरणको निर्वाचन सम्पन्न भएकै दिन नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक वक्तव्य दिँदै स्थानीय तहको पहिलो र दोस्रो चरणमा देखिएको जनताको उत्साहजनक सहभागिताले लोकतन्त्रको जगलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । ‘१४ गतेको निर्वाचन आगामी असोज २ गते हुने अन्तिम चरणको स्थानीय चुनाव र त्यसपछि हुने प्रदेश एवम् केन्द्रको चुनावको सफलताको पूर्वसङ्केत’ भन्दै उहाँले हर्ष प्रकट गर्नुभएको सन्दर्भ मननीय छ । छोटो अवधिभित्रै बाँकी तीन तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेका प्रधानमन्त्रीका नाताले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुँदा देउवामा खुसी छाउनु स्वाभाविक नै हो । तर, व्यक्तिगत तवरमा शेरबहादुर देउवा प्रसन्न बन्नुभए पनि उहाँले नै नेतृत्व गरिरहेको दल नेपाली काङ्ग्रेसका लागि भने चुनावी परिणाम किमार्थ सुखकारी हुन सकेन । किनकि, दोस्रो चरणको निर्वाचनपछि नेपाली काङ्ग्रेसको स्थिति राम्रै सुध्रने अपेक्षा काङ्ग्रेस नेतृत्वले लिएकोमा परिणाम त्यस्तो देखिएन । आखिर विषको बिउ रोपेर अमृत फलको आशा गर्न पनि त सकिँदैन !

सर्वविदित नै छ, संविधानसभाको दोस्रो निर्वाचनले संविधानसभा एवम् व्यवस्थापिका–संसद्मा पहिलो र सम्मानजनक स्थान दिलाएको काङ्ग्रेसलाई स्थानीय तहको पहिलो चरणको चुनावले भने धक्का दियो । तथापि, दोस्रो चरणको परिणाम आफ्नो पक्षमा आउने कल्पना गर्दै चित्त बुझाउने प्रयत्न ग¥यो काङ्ग्रेस नेतृत्वले । तर, दोस्रो चरणमा एमालेको निम्ति प्रतिकूल ठानिएका स्थानीय तहमा समेत उसकै जादु चलेको या उसैको पक्षमा जनमत देखिएपछि काङ्ग्रेस नेतृत्व चकित परेको अनुभूति गरिँदै छ । वास्तवमा काङ्ग्रेसका केन्द्रीय रणनीतिकारहरूको यस पराजयले यस दलको शीर्ष तहलाई नै आफ्नो क्षमता पुनरावलोकन गर्न नैतिक दबाब दिएको छ ।

के मतदाताले काङ्ग्रेसको विकल्प खोज्न थालेका हुन् ? कि माओवादीसँग उसले गरेको चुनावी तालमेलप्रतिको असन्तुष्टि यसरी व्यक्त गरेका हुन् ? यथार्थ दुवै हुन सक्छ । किनकि, आमकार्यकर्ताको मनोदशा बुझ्नेतिर नलागी काङ्ग्रेस सभापतिले प्रचण्ड–माओवादीसँग दीर्घकालीन सहकार्य गर्ने मनसुवा सार्वजनिक अभिव्यक्तिमार्फत दोहो¥याई–दोहो¥याई प्रकट गरिरहेका छन् । जब कि काङ्ग्रेस त्यही दल हो जो दशवर्षे द्वन्द्वकालमा माओवादीको एक नम्बर तारो बनेको थियो, र लगभग सात हजार सङ्ख्यामा काङ्ग्रेसी नेता–कार्यकर्ताको हत्या माओवादी हात–हतियारबाट भएको तथ्याङ्क उतार्दै द्वन्द्वपीडित काङ्ग्रेसी कार्यकर्ता क्षतिपूर्ति हुनै नसक्ने पीडाको समुद्रमा डुबेर निसास्सिँदै आएका छन् । पुस्ता–पुस्तान्तरणसम्म चह¥याइरहने घाउ बोकेका इमानदार–वफादार पार्टी–कार्यकर्ताको मर्मप्रति निर्मम हुँदै पार्टीप्रमुखले ‘सहकार्य’को नाममा फगत सत्ता’ हात पारेका छन् । काङ्ग्रेसले भएकै गुमाउँदै जाने र माओवादी केन्द्रले चाहिँ नसोचेको पनि हासिल गर्दै जाने उपक्रम चल्दै गर्दा मतपत्रमा रूख चिह्नप्रति नै रोष उत्पन्न हुनु आश्चर्यको कुरा पनि होइन ।

काङ्ग्रेसी आवरणमा शक्तिमा रहेको धारको अन्धभक्ति गरेर व्यक्तिगत लाभ लिन पोख्त पीपलपाते प्रवृत्तिका ‘पर्सनालिटी’हरूले पार्टी नेतृत्वका कमजोरीप्रति आँखा चिम्लिएर प्रशंसाको पुल बाँधे पनि बीपीको आदर्श पछ्याउने इमानदार काङ्ग्रेसजनले पार्टीको वर्तमान नियतिप्रति आँसु नै बगाइरहेका छन् । मुलुकको राजनीतिक इतिहासकै गौरवशाली दलले अवलम्बन गरेको पतनको दर्दनाक पथप्रति कुनचाहिँ पार्टीभक्त काङ्ग्रेसी नकोक्किइरहन सक्छ र ?

नेतृत्वले सत्ताका लागि सिद्धान्त नै त्यागिरहेको सहन नसकेका कैयन कार्यकर्ताले नेताका निर्देशनमा माओवादीलाई मत हाल्नुभन्दा पार्टी नै त्याग्ने सोच बनाएको पाइयो । शीर्ष पङ्क्तिमै रहेका कतिपय सिद्धान्तनिष्ठ नेताहरूसमेत पार्टीको क्षयीकरणबारे किंकर्तव्यविमुढ अवस्थामा परेको देखेपछि पार्टीलाई माया गर्ने प्रजातन्त्रवादी निष्ठावान कार्यकर्ता अलमलिने नै भए, रन्थनिने नै भए । पार्टीका सच्चा कार्यकर्ताको यो अन्यमनस्कता सिङ्गो नेपाली काङ्ग्रेसका लागि घोर अनिष्टको सङ्केत हो । इतिहास घोकाएकै भरमा अब काङ्ग्रेसप्रति जनआकर्षण जगाउन सकिँदैन किनकि आजको पुस्ता परिणाममा विश्वास गर्दछ भन्ने काङ्ग्रेस नेतृत्वले अझै बुझ्ने प्रयत्न नगर्ने हो भने ठूलाठूला दल बिलाएर गएको इतिहास अङ्कित पुस्तकमा नेपाली काङ्ग्रेस नामक दल थपिएको भावी पिँढीले पढ्नु नपर्ला भन्न सकिन्न । स्थानीय तह दोस्रो चरणको चुनावी परिणाम सिट सङ्ख्याका हिसाबले काङ्ग्रेसनिम्ति लज्जास्पद नभए पनि यसप्रति गम्भीर हुँदै नेतृत्वले समयमै मथिङ्गल खियाउनु बुद्धिमानी ठहरिनेछ ।