सामुहिक बलात्कार गर्नेहरु जेल चलान

सामुहिक बलात्कार गर्नेहरु जेल चलान


ब्युटीपार्लर व्यवसाय गर्दै आएकी एक युवतीलाई गत जेठ २८ गते सामुहिक बलात्कार गर्ने अभियुक्तहरु दोषी प्रमाणित भई जेल चलान गरिएका छन् । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा घटेको उक्त बलात्कार घटना सम्बन्धमा सोही इलाकाका चार युवाहरुमाथि अनुसन्धानात्मक कारवाही अघि बढाइएको थियो । प्रहरीसमक्ष सहजै अपराध स्वीकार गरेका चारै बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

दोषी प्रमाणित भई कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेका छन् । घटनाका दिन साँझपख औरही बजारबाट आफ्नो गाउँ औरही गाउँपालिका–२ फूलबरिया जाँदै गरेकी युवतीलाई औरही बजारदेखि ५०० मिटर टाँढा आँप बगैँचामा बाटो ढुकेर बसेका उनीहरुले समातेर मुख बन्द गरी पालैपालो बलात्कार गरेका थिए । सामूहिक बलात्कार घटनामा संलग्न गरेका युवकमध्ये एक जनालाई सोही राति ११ बजे र अरु तीन जनालाई घटनाको एक साताभित्र पक्राउ गरी प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेश गरेको थियो ।