‘राष्ट्रियता’को आ–आफ्नै चिन्ता !

‘राष्ट्रियता’को आ–आफ्नै चिन्ता !


– राजेन्द्रप्रसाद पाठक

राष्ट्रियताको बृहत् अर्थ भए तापनि सारमा राष्ट्रप्रतिको आस्था, राष्ट्रहितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन, अपनत्वको सामूहिक भावना नै वास्तवमा राष्ट्रियता हो भन्दा फरक परोइन । हुन त यो बृहत् भाव प्रकट गर्न सकिने शब्द नै हो । त्यसै कारणले होला बेलाबेला हाम्रा नेतागणहरूसमेत राष्ट्रियताको समयानुकूल र आफूअनुकूल व्याख्या–विवेचना गर्ने गर्दछन् ।

राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमार्फत् यसरी सचेत गराएका छन्– ‘दक्षिणको समुद्रको वादशाहसित घा ता राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्थान दबाई राखेको छ । हिन्दुस्थान मिल्यो भने कठिन पर्ला भनी नेपालतिर किल्ला खडा गरी हिन्दुस्थानविरुद्ध लड्न सहज तुल्याउनाका खातिर एक दिन त्यो बल आउनेछ । जाई कटक नगर्नु झिकी कटक गर्नु । चुरे घाँटीमा खुवै काटिनेछ । पाँच–सात पुस्तालाई खजाना पनि मिल्नेछ । देशको सिमाना गंगाजीसम्म पुग्नेछ । लडाइँ लड्न सकेन भने कलछल गर्नसमेत ती वादशाहका दूत पछि पर्ने छैनन् ।’

माथि उल्लेखित दिव्योपदेशको अंशले हिन्दुस्थानमाथि झन्डै तीन सय वर्ष शासन गर्ने अङ्ग्रेज वादशाहलाई औँल्याइएको सहजै बुझ्न सकिन्छ । तर त्यसको समयसापेक्ष व्याख्या–विश्लेषण गर्न नसक्दा हालका हाम्रा ‘नेता’हरू पृथ्वीनारायणले भारतीयलाई भन्न औंल्याएका हुन् भन्दै भारतसँग जनताको दुस्मनी बढाउने कार्यमा दशकौँदेखि सक्रिय छन् । पृथ्वीनारायण शाहले उल्लेख गरेको वादशाह हाल भारतमा छैन । ऊ त सबैतिरको रस चुसेर जसरी ज्यामी मौरी आफ्नै घारतर्फ लाग्छ, उसैगरी युरोपको वादशाह भएर घारतर्फ नै केन्द्रित भइसकेका छन् । अब उसका ज्यामी शारीरिक रूपमा सक्रिय छैनन् । एनजीओ र आईएनजीओको माध्यमबाट अर्कै स्वरूपमा ती सक्रिय छन् । उनीहरू अहिले ‘धन’भन्दा बढ्ता ‘धर्म’ बाँड्छन् । सनातनीलाई काशी होइन जेरोसेलमतर्फ बोलाउँदै छन् । साउनमा आँखा फुट्यो भने डिङ्गोले सधैँ हरियो नै देख्छ भनेजस्तै हामी भने फिरड्गी खोज्न भारततर्फ लागिरहेका छौँ । एनजीओ र धर्मका नाममा राष्ट्रियतामाथि यत्तिका हस्तक्षेप भइरहँदासमेत हामी भने एकतर्फी रूपमा भारतलाई मात्र राष्ट्रविरोधी शक्ति देखिरहेका छौँ । यो कहिलेसम्म सान्दर्भिक ठहर्न सक्ला ?

नेपालमा आज उर्लिएको जातीय, भाषिक, लैङ्गिक, क्षेत्रीयतावादी नारा भारतबाट आएको होइन । भारतसमेत सोही प्रकारको प्रताडनाबाट अत्यन्त पीडित छ । त्यसैले जाति, धर्म, लिङ्ग, क्षेत्र, अलग गरेर जसरी तीन सय वर्षसम्म भारत कब्जा गर्न अङ्ग्रेज सफल भयो, उसैगरी हाम्रो विखण्डनमा उनीहरू आफ्नो सफलता देख्ने गर्दछन् । विगतमा एउटै भेष र भाषाबाट हामी सबै एकै थियौँ । हामी सबैको जात नेपाली थियो । भाषा नेपाली नै थियो । कामको आधारशिला मात्र तोकिएको थियो । हाम्रो जात चारवटा होइन कर्म मात्र चार प्रकारको थियो । कालान्तरमा त्यसैलाई जातको आधार बनाइयो । हाम्रो एउटै राष्ट्रिय झण्डा छ । त्यसमा पार्टीगत झण्डा थप गरियो । पछि आउनेले पहिलेकालाई बेवास्ता गर्ने क्रम बढ्दै जाँदा राष्ट्रिय झण्डाभन्दा पार्टीको झण्डा प्यारो लाग्न थाल्यो । पार्टीले पद दिन थाल्यो, राष्ट्रले केही दिन नसकेको महसुस गर्नेहरू धेरै भए । हामी अब नेपाली मात्र भएनौँ, विभिन्न दलका कार्यकर्ता मात्र हुन थाल्यौँ ।

आज उर्लिएको जातीय, भाषिक, लैङ्गिक, क्षेत्रीयतावादी नारा भारतबाट आएको होइन । भारतसमेत सोही प्रकारको प्रताडनाबाट अत्यन्त पीडित छ । त्यसैले जाति, धर्म, लिङ्ग, क्षेत्र, अलग गरेर जसरी तीन सय वर्षसम्म भारत कब्जा गर्न अङ्ग्रेज सफल भयो, उसैगरी हाम्रो विखण्डनमा उनीहरू आफ्नो सफलता देख्ने गर्दछन् ।

पङ्क्तिकार परिवर्तनको विरोधी होइन । विकासका लागि परिवर्तन चाहिएको हो, विनासका लागि होइन भन्ने धारणा प्रकट गर्न खोजिएको मात्र हो । आज हामीलाई संस्कार चाहिएन केवल जीवन जिउने सरोकारसँग सीमित हुन पुग्यौँ । यसरी हामीले हँुदाखाँदाको विधिविधानसमेत खारेज गर्ने सामथ्र्य राख्यौँ । भौतिक सम्पन्नताको मात्र पछि लाग्यौँ । तर, हात लाग्यो शून्य । भौतिक सम्पन्नता मात्र खोज्दै गर्दा सार्वभौमिकता गुमाउँदै गयौँ । हामीसँग नेपाली नागरिकता मात्र छ, हामी स्वयम् नेपाली भएर बाँच्न सकेनौँ । हामी त युरोप र अमेरिकाको ग्रिनकार्डवाला बन्न पुग्यौँ । यतिसम्म कि नेपालमा नेतृत्व गरेर राष्ट्रियताको कथाकुथुङ्ग्री रचना गर्ने र अलाप्नेहरूको छोराछोरीसमेत समृद्ध देशको नागरिक बन्न उत्साहित भएका छन् ।

नेपालमा विभिन्न तन्त्रमन्त्र, विधिविधान खडा भए, तर देश विकास गर्ने संयन्त्र बन्न सकेन । यान्त्रिक मानसिकता षड्यन्त्रैषड्यन्त्रले देश र जनताले काँचुली फेर्न बाँचुन्जेल तड्पिरहनुपर्ने भयो । देशमा युवा छन्, रोजगार छैन, पढाइ छ जागिर छैन, शिक्षा छ गरी खाने ज्ञान छैन । राजनीति छ नीति छैन, खेत छ खेती छैन, कृषिप्रधान देशमा अन्न खाद्य आयात हुन्छ । ट्रेड युनियन छ ट्रेड छैन, प्रहरी छ सुरक्षा छैन, हामी तीन करोड वीर गोर्खाली आफैँमा सैनिक हौँ, तर सिमाना छैन । स्कुल छ, एजुकेसन छैन । दूतावास छ, दूत छैनन्, कुटिल छ कूटनीति छैन, भोक छ भोजन छैन, नाड्गो छ कपडा छैन । साहस छ भरोसा छैन, बैंक छ व्यवस्थापन छैन, शिक्षक छन् विद्यार्थी छैनन् । खेलाडी छन् खेलमैदान छैन । वन छ रूख–बिरुवा छैनन् । खोलो छ, बगर–बालुवा छैन । दाताहरू छन् खाता छैन । छन् भने पहुँचवालाका नाममा विभिन्न बहानामा ट्रान्सफर मात्र हुन्छन् । घर छन् बस्ने मान्छे छैनन् । वैदेशिक राजगारको बढावाले गाउँका घर रित्तिएका छन् । नाता छ सम्बन्ध छैन, भौतिकवादी चिन्तनको चरम अभिलाषामा सम्बन्धहरू दिनानु दिन टुट्दै गएका छन् व्यवहार छ विश्वास छैन, जात छ जातित्व छैन, भाषा छ भेष छैन, मन्दिर छ महत्व छैन, भजन छ भक्ति छैन, पानी छ प्रयोग छैन । अथाह जलस्रोतको धनी देशमा खानेपानी साथै ऊर्जाको हाहाकार छ । कमिसनको भागबन्डा नमिलेपछि राष्ट्रियताको प्रोपोगाण्डा उठाइदिए भइहाल्यो । स्रोत छ साधन छैन, मन छ धन छैन, राष्ट्र छ राष्ट्रियता छैन । आयोग छ आयोजना छैन । न्यायालय छ न्याय छैन, न्याए नपाए गोर्खा जानु भन्ने कहावत भएको देशमा न्याय हराइसकेको अवस्था के कारण सिर्जना भयो ? यो अत्यन्त मर्माहत सवाल बन्न पुगेको छ ।

वास्तवमै हामीकहाँ कार्यपालिका छ कार्य छैन, मन्त्री र मन्त्रालय पार्टीगत भागबन्डा र आलोपालोका नाममा प्रतिष्ठाको विगुत पैरिने र देशको ढुकुटीमा चैन गर्ने मनोवृत्तिले शासकहरू पीडित छन् । व्यवस्थापिका छ व्यवस्था छैन, यदि जनमुखी व्यवस्था स्वदेशले प्राप्त गर्न सकेको भए देशको धरोहर युवाशक्ति किन बिदेसिने थियो ? ग्रिनकार्ड र पीआरका नाममा हाम्रो राष्ट्रियता किन यति धेरै कमजोर साबित हुने थियो । बाबुआमा स्वदेशका हर्ताकर्ता, कर्मचारी, नेता, व्यवस्थापक, प्रशासक छन् उता उनैका छोराछोरी विदेशको पासपोर्ट नागरिकता लिएर स्वदेशको सर्वस्व दोहन गर्दै नगदको निकासी गरिरहेका छन् । देशमा लगानी गर्दा स्रोत देखाउन नसकिने र लगानीसमेत सुरक्षित नरहने देखेर नै उनीहरू यो नीति अपनाइरहेछन् । धनी झन्–झन् धनी र गरिब झन्–झन् गरिब बन्दै रहने अवस्थामा भोको पेट र नाड्गो आङले कति दिनसम्म राष्ट्रियता थेगिरहन सक्ला ? के राष्ट्रियताको ठेकेदार साधारण किसान र श्रमिकका छोराछोरी मात्र हुन् ? नेतालाई नचाहिएको राष्ट्रियता जनतालाई मात्र कति दिनसम्म आवश्यक पर्ला ? यही नै पहिलो र अन्तिम प्रश्न हुनेछ । अस्तु ।