चुनावका चरणहरू र हामी

चुनावका चरणहरू र हामी


– दामोदर पौडेल

अन्ततः ती मलाई लिन आए
सर्वप्रथम, नाजीहरू कम्युनिस्ट सिध्याउन आए,
म मौन बसेँ, किनभने म कम्युनिस्ट थिइनँ ।
त्यसपछि उनीहरूले यहुदीलाई आँखा लगाए,
मैले केही बोलिनँ, किनभने म यहुदी पनि थिइनँ ।।
पछि उनीहरू प्रोटेस्टेन्टहरूलाई सखाप पार्न आए
म क्याथोलिक थिएँ, त्यसैले केही बोलिनँ ।
अन्ततः ती मलाई लिन आए
तर, त्यतिन्जेल कसैका लागि बोलिदिने कोही बचेकै थिएन ।

संविधान संशोधन नगरी चुनाव नै हुनुहुँदैन भन्ने र संविधान संशोधन आवश्यक छैन भन्नेहरूको बीचमा विवाद चलिरहेको छ । त्यसै परिवेशमा तीन चरणमा चुनाव हुने गरेर दोस्रो चरणको चुनावले देशलाई अलग्गै गति दिएकोजस्तो देखिन्छ । चुनावबाट जनताले अपेक्षा गरेजस्तो र आश्वासन दिएजस्तो नपाउने, तर चुनावको झगडामा बेकारमा मारपिट हुने र कार्यकर्ताले ज्यानसमेत गुमाउने गरेको भने देखियो । ज्यानै जाने गरेर झगडा गर्नुको औचित्य के होला ? आफ्नो उम्मेदवारले जितेमा व्यक्तिगत रूपमा कमाउन पाइने आशा वा कुनै अर्को पद पाउने विश्वास नै हो कि ?

एकातिर हामी चुनावको कुनै प्रत्यक्ष फाइदा देखिरहेका छैनौँ । उनीहरूले कुनै राम्रो काम गर्छन् भन्ने कमै सोच्ने गरेका छौँ । तैपनि चुनावको महत्व त छ नै । २० वर्षसम्म स्थानीय तहको चुनाव नहुँदा पनि विकास भएकै थियो । तुलनात्मक रूपमा हेर्न भने बाँकी छ । तैपनि लोकतान्त्रिक चुनाव भनेको सङ्ख्याको खेलभन्दा पनि माथि छ । एक ठाउँमा १० हजार मत ल्याउनेले चुनाव हार्छ । अर्को ठाउँमा १ हजार मत ल्याउनेले चुनाव जित्छ । के १ हजार जनताको मत पाउनेभन्दा १० हजार मत पाउने बढी जनप्रिय होइन ? यस्ता सवाल आउँछन्, जो तर्कपूर्ण छ ।

तैपनि, त्यो विवादभन्दा माथि अर्को महत्वपूर्ण विषय भनेको जसले जति नै मत ल्याए पनि जनप्रतिनिधिले निश्चित समयभन्दा बढी आफूखुसी पदमा बसिरहन नपाउनु अत्यन्त अहम् विषय हो । यो लोकतन्त्रको प्राण हो । कसैले गल्ती गरेमा ४, ५ वा ६ वर्षमा हटाउन सकिन्छ र उसले विभिन्न निहुँमा पदमा बसिरहने हैसियत राख्दैन । लोकतन्त्रको चुरो यहीँ लुकेको छ । जसले चुनावमा अरूको हैसियतभन्दा आफ्नो हैसियत फरक देख्छ, त्यो आधारमा उसले गराएको वा ऊ भाग लिएको चुनाव लोकतान्त्रिक होइन अर्थात् जनताको होइन । यो वा त्यो रूपमा जनतामा लादिएको तानाशाही नै हो । यति भनिरहँदा पनि अहिले आत्महत्या गर्ने अधिकार मानिसलाई छैन । तर, राजनीतिमा आत्मघाती काम गर्ने अधिकार जनतालाई हुँदोरहेछ । हामी नराम्रा भन्ने थाहा हुँदाहुँदै पनि दल, विचार, जात, भाषा, धर्म आदिका नाममा तिनैलाई मत दिन तत्पर हुन्छौँ । राज्य वा कानुनी प्रणालीले नागरिकले आफ्नो सुरक्षा आफैँबाट गर्नुपर्छ भन्ने वा दायित्व लिनुपर्ने हुँदैन भन्ने मलाई लाग्दैन । तर, बढी दायित्व राज्यको भन्दा आफ्नै हुन्छ । त्यसैले पनि यो भनाइ सान्दर्भिक छ ।

It is not the responsibility of the government or the legal system to protect a citizen from himself.
– Justice Casey Percell

हाम्रो रोजाइ लोकतन्त्र र बहुलवादलाई बलियो बनाउने, समानता र विकासलाई फ्युजन गर्ने र त्यसको माध्यमबाट शान्ति ल्याउनेमा हुनुपर्नेमा त्यसतर्फ सबैको ध्यान कमै होला । हामीहरूका मत दिने आधार यस्ता त छैनन् ? हामीहरूको आँठोकिलोको झगडामा कसले साथ दिन्छ ? कसले मेरो सन्तानलाई जागिर लगाइदिन्छ, सकेसम्म कोरिया नभए अन्य देशमा कसले मेरालाई पठाइदिन्छ भन्ने लोभमा मत दिन्छौँ । मेरा गल्तीलाई पनि कसले ढाकछोप गरिदिन्छ त्यसैले जित्नुपर्छ । नचिनेको र नमस्कार पनि नफर्काउने मानिसलाई समाजलाई जति राम्रो कुन दिने भए पनि किन भोट दिने ? पार्टीले पनि खर्च नगर्नेलाई किन टिकट दिने ? नेताका आफन्तलाई विदेशमा पढाउन वा त्यस्तै कामका लागि पैसा नजुटाई भएकै छैन । टिकट दिएपछि चुनावमा उठ्नेको पैसा बचेको रहेछ र पुर्पुरोमा लेखेको रहेछ भने जितिहाल्छ । यस्तो आधारमा चुनावमा टिकट दिने र भोट पनि दिने बानी बसेको त छैन ?

अमूक दलले जित्नु र अमूक व्यक्तिले यति मत ल्याएर मत जित्नुको सङ्ख्यासँग निरपेक्ष रूपमा हेर्दा लोकतान्त्रिक पद्धतिको कुनै सरोकार नै छैन । यसको सरोकार छ तिमी र तिम्रा पार्टी गलत छौ भने पनि र राम्रा छौ भने पनि निश्चित समयमा जनताले जाँच्नै पाउनुपर्छ र स्वतन्त्र रूपमा तिमी र तिम्रो विकल्पको छनोट गर्न पाउनुपर्छ । लोकतन्त्रको मान्यता, मर्म र महानता यही हो । यसैले तानाशाहीलाई रोक्छ । जनतालाई कुनै मानिस, मानिसका समूह वा विचारको दास हुनबाट बचाउने मुख्य पक्ष यही नै हो । तर, हामी सबै नराम्रोको दोष संविधानलाई दिन्छौँ र कानुनलाई पनि दिन्छौँ ।

त्यो दोस्रो पक्ष हो । लोकतन्त्र र चुनाव प्राविधिक पक्ष मात्र होइन भन्दा आउने अरू कुरा छन् । लोकतन्त्रलाई राम्रो बनाउने हो भने र हामीले समग्र समाजको हित हेर्ने हो भने असल नेता छान्न सक्नुपर्छ । क्रियाशीललाई र सजग तथा क्षमतावानलाई छान्नुपर्छ । यस्ता विषय लोकतन्त्रलाई बलियो बनाउने व्यावहारिक पक्ष हुन् । जनताले यी तथ्य सम्झन सके लोकतन्त्र अर्थात् उनीहरूको तन्त्र बलियो हुन्छ । तर, कुनै पनि दलको वैचारिक धरातल लोकतान्त्रिक छैन भने त्यसले अहिले जति नै राम्रा काम र कुरा गरे पनि त्यस दलको लक्ष्य पूरा भएपछि जनतालाई दिएका अधिकार र सुविधा सबै पछि दल र दलका नेता कार्यकर्ताका लागि हुन पुग्नेछन् । आन्दोलनको नाममा गरिबलाई बहकाइन्छ र मर्न मार्न तयार गरिन्छ, तर सत्ता प्राप्त भएपछि नेता र त्यो दलका आसेपासेबाहेक अरूको बिजोक हुन्छ । उत्तरकोरिया त्यसको उदाहरण हो, नाजीहरू पनि उदाहरण नै थिए । हिजो किमहरूको सत्ताको लागि नै भनौँ जनताले रगत बगाए । सत्ता प्राप्त भयो, तर आज किम र उनका समर्थकहरू युरोपबाट अर्बौंको चुरोट र रक्सी मगाउँछन् । तिनै क्रान्ति गर्ने जनताका छोरा–नाति खान नपाएर मरिरहेका छन् । उनीहरूको विरोध गर्ने हैसियत पनि समाप्तप्रायः भएको छ ।

गैरलोकतन्त्रवादीले जनताका लागि गरेको राम्रो काम भनेको जतिसुकै राम्रा नारा लगाए पनि जनतालाई सुविधा दिए पनि दशैँका लागि बोका पालेजस्तै हो । मानिस चाडमा मार्न भनेर जनावर पाल्छन् । त्यसलाई साह्रै माया गरेर पाल्छन् । उनीहरूले आफूले खानेकुरा पनि दिन्छन् । अरू जनावारलाई भन्दा माया गर्दछन् । त्यो जनावरलाई लाग्दो हो कि उसको हैसियत त्यो मानिसको परिवारका सदस्यको भन्दा पनि बढी छ ।

तर, यो सबै भएको चाडमा काटेर मासु राम्रो खानका लागि हो भन्ने उसले बुझ्न सक्दैन । जब काटिन थाल्दछ, उसको पछि कोही हुँदैन । त्यसैले लोकतन्त्रविरोधीहरूको सम्बन्धमा विश्वव्यापी भनाइ हुन पुगेको धारणालाई हामीहरूले केही भने पनि मनन गर्नैपर्छ । जनताले आफ्नो अधिकार कटौती गर्नेलाई माया गर्नु भनेको र उनले दिएको एकछिनको मीठो कुराको पछि लाग्नु भनेको आफ्नो हैसियत गुमाउनु नै हो ।

बर्तोल्त ब्रेख्तको प्रसिद्ध एक अनुभूति छ–
अन्ततः ती मलाई लिन आए
सर्वप्रथम, नाजीहरू कम्युनिस्ट सिध्याउन आए,
म मौन बसेँ, किनभने म कम्युनिस्ट थिइनँ ।
त्यसपछि उनीहरूले यहुदीलाई आँखा लगाए,
मैले केही बोलिनँ, किनभने म यहुदी पनि थिइनँ ।।
पछि उनीहरू प्रोटेस्टेन्टहरूलाई सखाप पार्न आए
म क्याथोलिक थिएँ, त्यसैले केही बोलिनँ ।
अन्ततः ती मलाई लिन आए
तर, त्यतिन्जेल कसैका लागि बोलिदिने कोही बचेकै थिएन ।
– बर्तोल्त ब्रेख्त

यी भनाइलाई हामीले निष्पक्ष भएर आत्मसात् गर्न सक्नुपर्छ । बरु लोकतन्त्रको नाममा पैसा लिने र दिने गरेर टिकट लिनेसमेतका हजारौँ गल्तीलाई समयमा नै सही बाटोबाटै रोक्नुपर्छ । तर, यसको कारणले हामीले आफ्ना अधिकारहरू स्थायी रूपमा कसैलाई सुम्पने वातावरण नबनाऊँ ।
लोकतन्त्रमा अर्को गलत परम्परा पनि हुर्किइरहेको छ । त्यो जात, धर्म, भाषा आदिको नाममा विशेष छुट दिने भन्ने हो । यसले लोकतन्त्रलाई नराम्रो बनाउँछ । निश्चित समयसम्म पछाडि परेकालाई आरक्षण दिनुपर्छ र तिनीहरूलाई सक्षम बनाएपछि रोकिनुपर्छ भन्नेमा हामी प्रस्ट हुनुपर्छ । सबै जात, धर्मलाई बराबर व्यवहार र आर्थिक विपन्नहरूलाई विशेष छुट र सहयोगले मात्र लोकतन्त्रलाई राम्रो बनाउँछ । त्यस्तै देशको आम्दानी कर्मचारीतन्त्रमा खर्च हुने र त्यसले राम्रो काम गर्न नसक्दा पनि लोकतन्त्र बदनाम भइरहेको छ ।

सत्य यो पनि छ कि हामी चुनावकै माध्यमबाट राम्रो प्रतिनिधि छान्न सक्दछौँ । नराम्रो गरे बदल्न सक्दछौैँ । हामीहरूको भविश्य बारम्बार छान्ने अधिकारलाई हामीले नै दुरुपयोग गरेर लोकतन्त्र नराम्रो भन्नु भनेको हामी नै नराम्रा हौ भन्नु होइन र ?

हाम्रा उम्मेदवार र विजयीहरूले दलभन्दा जनता र विकास तथा समानता र शान्तिलाई ध्यान दिए भने लोकतन्त्र सुन्दर हुनेछ र बलियो पनि हुनेछ । अन्यथा लोकतन्त्रको माध्यमबाटै चुनिएर लोकतन्त्रको बद्नाम गर्ने कार्य हुन सक्छ । एकथरीले लोकतन्त्र नराम्रो हुन्छ भन्ने देखाउन नै नराम्रो गर्ने र अर्काथरीले लोकतन्त्र मान्ने नाममा लोकतन्त्रको दुरुपयोग गरेर लोकतान्त्रिक पद्धतिलाई नै बद्नाम गर्ने प्रवृत्ति रोक्नुपर्छ । यसले जनतालाई नै घाटा हुन्छ । अर्थात् जनताको अधिकार कुनै पनि नाममा खोसिन सक्छ ।