सोसियल मिडिया : हामी कता जाँदैछौँ ?

सोसियल मिडिया : हामी कता जाँदैछौँ ?


– बबिता बस्नेत

केही दिनअघि राष्ट्रपतिका लागि नयाँ गाडी किन्न राज्यसँग १६ करोड मागिएको कुरा बाहिर आयो । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यो कुरा भाइरल भयो । यो विषयमा स्टाटस लेख्नेमध्ये एकलाई ‘इनबक्स’मा सोधेँ– तपाईंले यसबारेमा स्टाटस लेख्नुभएको रहेछ, यो खबर कसरी थाहा पाउनुभयो ? उनले जवाफ दिए, ल… आज त फेसबुकभरि यही छ, अनि कसरी थाहा नपाउनु ? ‘फेसबुकमा आउन पनि त केही न केही आधार त चाहियो नि, केमा आएको रहेछ ? यो कुरा हो कि होइन भनेर पत्ता लाउने कोसिस गर्नुभयो कि भएन ?’ सामान्यतयाः ‘इनबक्स’मा कुरा नगर्ने भए पनि दुई–चार प्रश्न लगातार गरेँ । कारण थियो, कसका लागि यी शब्दहरू खर्चिरहेको छु भन्ने हेक्का नराखी गरिएको गाली अलि बढी नै थियो । सुरुमा यो कुरा कहाँबाट आयो ? हो कि होइन होला ? यतातिर एकपटक पनि नसोची सामाजिक सञ्जालमा कतिपय कुरालाई यसरी फैलाइने गरिएको छ कि मानौँ सोसियल मिडिया कसैलाई ‘डिफेम’ गर्नकै लागि सिर्जना गरिएका हुन् । राष्ट्रपति अघि प्रधानमन्त्रीको कुरा थियो, रामकुमारी झाँक्रीको प्रसङ्गमा पनि धेरै कुराहरू आए । कहिले के कहिले के, कहिले कसको कहिले कसको प्रसङ्ग आइनै रहने अनि हामी हिलो छ्यापिनै रहने । लोकतन्त्रमा कसैको पनि विरोध सामान्य कुरा हो । विरोध र भिन्नताले विषय खारिएर अघि बढ्छन् । मानिसमै पनि परिपक्वता थपिँदै जाँदो हो, तर विरोधका लागि हामीले प्रयोग गर्ने भाषाशैली हेर्दा लाग्छ, ओहो… हामी कति धेरै कुण्ठा पालेर बसेका रहेछौँ । कसले कहाँ गल्ती गर्छ र प्रहार गरुँ भनेर सधैँ तम्तयार ।

मानिसले बोल्दा प्रयोग गर्ने शब्द, शैली, बडी ल्याङ्ग्वेज, भाषा र विषय वस्तुले उसको ‘एटिच्युट’ रिफ्लेक्ट भइरहेको हुन्छ भनिन्छ । सामाजिक सञ्जालमा हामीले व्यक्त गरेका कुराले सन्देश मात्र पर्वाह गर्दैन, प्रवृत्ति पनि सार्वजनिक भइरहेको हुन्छ । सोसियल मिडियाका राम्रा कुराहरू धेरै छन् । सामाजिक सञ्जाललाई हिजोआज जनताको मिडिया पनि भन्ने गरिएको छ । सर्वसाधारण नागरिकले आफ्ना कुराहरू कुनै पनि समयमा बोलेर, लेखेर व्यक्त गर्न सक्ने भएकाले यसको महत्व धेरै छ । कहाँसम्म पुग्ने भनेर विश्वको सीमा नभए पनि के बोल्ने या के लेख्ने भन्ने कुरामा भने सोसियल मिडियाका आफ्नै सीमितता छन् । ती सीमितताहरू नबुझी हामी यसको प्रयोग यसरी गरिरहेका छौँ, मानौँ सामाजिक सञ्जाल हाम्रा लागि कसैको रिस फेर्ने या कसैमाथि रिस पोख्ने गतिलो स्थान हो । खासमा सदुपयोग गर्न सके सोसियल मिडिया मानिसका लागि आफ्नो ब्रान्ड आफैँ बनाउन सक्ने स्थान हो, तर यहाँ कतिपयले पोस्ट गरेका सामग्री हेर्दा प्रविधिको दुरुपयोग भएझैँ लाग्छ । कतिपय मुद्दामा सदुपयोग पनि भएको छ ।

पहिलापहिला भए मानिस भेट्नका लागि घरबाहिर निस्कनुपथ्र्यो । अहिले साथीभाइ, आफन्त भेट्नका लागि कम्प्युटर या टेलिफोनमा हेर्नुपर्छ । जहाँ पुगे पनि आफन्त र निकटवर्तीहरू भेटिने । मन लागे बोले भो, मन नलागे नबोले पनि भो । आफूलाई लागेको कुरामा सार्वजनिक अभिव्यक्ति दिन पाइने । आफ्ना विचार पोस्ट गर्नासाथ विश्वव्यापी हुने यति राम्रो सोसियल मिडियालाई हामीले कतिपय अवस्थामा कुरूप बनाउँदै गएका छौँ । विभिन्न कुरामा मानिसका फरक दृष्टिकोण हुन सक्छन् । आफ्ना दृष्टिकोण, आफूलाई लागेका कुरा व्यक्त गर्न पाउने अभिव्यक्ति स्वतन्त्रता हामी सबैले प्राप्त गरेका छौँ । सभ्य भाषाको प्रयोग गरेर पनि हामी विरोध गर्न सक्छौँ । विरोधका नाममा झाँको झारेर मनको आक्रोश पोख्ने जमात बढ्दै जानुलाई नराम्रो नै भन्न नसके पनि त्यति राम्रो भने होइन । नेपाली समाज आफूभन्दा ठूलालाई आदर गर्ने परम्परा बोकेको समाज हो । तर, अहिले सोसियल मिडियामा आएका गाली–गलौज हेर्दा हामी अर्कै मूल्यमान्यता स्थापित गर्न गइरहेका छौँ कि जस्तो लाग्छ । आदर र सम्मानरहित मूल्यमान्यता । मलाई के मतलब ? त्यो को हो र ? भन्ने एटिच्युट मानिसमा बढ्दो छ ।

नेपाली समाज आफूभन्दा ठूलालाई आदर गर्ने परम्परा बोकेको समाज हो । तर, अहिले सोसियल मिडियामा आएका गाली–गलौज हेर्दा हामी अर्कै मूल्यमान्यता स्थापित गर्न गइरहेका छौँ कि जस्तो लाग्छ । आदर र सम्मानरहित मूल्यमान्यता । मलाई के मतलब ? त्यो को हो र ? भन्ने एटिच्युट मानिसमा बढ्दो छ ।

आफ्नो जीवनमा व्यक्तिगत र सार्वजनिक कुरा के–के हुन् भनेर तय गर्ने मानिस आफँैले हो । सार्वजनिक जीवनमा हुनेहरूका पनि व्यक्तिगत सीमा हुन्छन् र व्यक्तिगत जीवन मात्रै बाँचिरहेको छु भन्नेहरूका पनि सार्वजनिक कुराहरू हुन सक्छन् । व्यक्तिगत र सार्वजनिक यी दुई अलग कुरालाई सोसियल मिडिया प्रयोगकर्ताले एकै ठाउँ राख्न थालेका छन् । केही दिनअघिको कुरा हो, यो पङ्क्तिकारका एक नातेदारको घरमा बच्चाको जन्मदिनको सानो जमघट थियो । केक काट्ने बेलामा ल…ल… फेसबुक लाइभ भनेर सुरु गरे । बच्चाका बाबु भित्री गञ्जीमा छन्, आमा घरमा बस्ने लुगामा, ठूलीआमा राति सुत्दा लाउने म्याक्सीमा । छक्कै परेर सोधेँ, तपाईंहरू यही पोसाकमा लाइभमा जाने ? ‘के हुन्छ त ? घरमै त हो नि ।’ यो लाइभमा गएपछि त घरमा मात्र सीमित रहँदैन नि, यो त पब्लिकमा जाने कुरा हो । फेरि तपाईंहरूलाई सीमित आफ्ना मानिसहरूसँग बसेर कुराकानी गरेको, खाना खाएको कुरा अरूलाई देखाउनुपर्नेचाहिँ किन नि ? भनेपछि ल… भइहाल्यो भनेर मोबाइल भुइँमा राखियो । हुँदैहुँदै मानिसले अब त भान्सामा के पाकेको छ, कसले के खाँदै छ जस्ता कुरा पनि पोस्ट गर्न थाले, त्यो पनि लाइभ । कस्ता कुरा लाइभ दिने, कस्ता नदिने ? के निजी, के सार्वजनिक छुट्याउनु आवश्यक हुन्छ । मिडियामा गइसकेपछि सबै सार्वजनिक हो ।

समाजमा बौद्धिक अभ्यास गर्ने भनेर चिनिएका कतिपयले समेत सामाजिक सञ्जालमा आक्रोश मात्रै पोखेको देख्दा हामी कता जाँदैछौँ ? भनेर आफूले आफैँलाई प्रश्न गर्नैपर्ने बेला भयो कि जस्तो लाग्छ । इतिहासका अध्येता डा. प्रत्युष वन्तले ‘बिहान लेख्ने, दिउँसो अनलाइनमा राख्ने, तुरुन्त ट्विट गर्ने र फलोअरहरूले दिएको कमेन्टबाट दङ्ग पर्ने, यस्तो मात्र सार्वजनिक वृत्ति हावी भयो भने हाम्रो बौद्धिक अभ्यास कमजोर हुन्छ’ भन्नुभएको छ । उहाँले भनेजस्तो कमजोर बौद्धिक अभ्यास गर्ने त यहाँ हामी धेरै नै छौँ । यसभन्दा अलि अगाडि बढेर उठ्नासाथ नकारात्मक सन्देश जाने कुरा पोस्ट गर्ने, नकारात्मक प्रतिक्रिया पाउने, सार्वजनिक जीवनमा भएकाहरुको धज्जी उडाउने, डिमेम गर्ने जमातको सक्रियता धेरै देखिन्छ । यसले समाजमा नकारात्मक माहौल निर्माण गर्नबाहेक अरू कुरामा मद्दत गर्दैन । हामीकहाँ यस्ता विषयलाई हेर्ने कानुन पनि छैन । पारदर्शिता र नाङ्गोपनबीचको फरक छुट्याएर सोहीअनुरूपका काम गर्न पाए हरेक कुरामा कानुन नै चाहिन्छ भन्ने होइन । तर, हामीकहाँ सामाजिक सञ्जालमा हुर्किंदै गरेको विकृति हेर्दा यस सम्बन्धमा स्पष्ट कानुनको आवश्यकता देखिएको छ ।