सरकारी यातायातबाटै ठगिए यात्रु

सरकारी यातायातबाटै ठगिए यात्रु


सरकारले छोटो दुरी तथा लामो दुरीको सवारी साधनको गाडी भाडा घटाए पनि अहिलेसम्म सो घटेको भाडादर कार्यान्वयन नहुँदा दैनिक करोडभन्दा बढी रकम यात्रुसँग उठाई ठगी भरहेको पाइएको छ । विद्यार्थी संगठनको दबाबमा सरकारले छोटो दुरीको सार्वजनिक यातायातको भाडादरमा परिमार्जन गरी न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरे पनि सवारी सञ्चालकहरुले न्यूनतम १५ रुपैयाँ असुल्दा पनि सम्बन्धित निकाय मौन बसेको छ ।

गत वर्ष पुस ११ गतेदेखि लागू हुने गरी छोटो दूरीको गाडी भाडा घटाइ तत्काल लागु गर्न दिएको निर्देशन समेत बेवास्था गरि १५ रुपैयाँ उठाउँदै आउदा सरकारी निकायले किन कारवाही गर्न नसकेको हो, दुःखद् सन्दर्भ बनेको छ ।

सरकारले घटाएको सार्वजनिक सवारी साधनको भाडादर यातायात व्यवसायीले मात्र हैन पछिल्लो समयमा सरकारी मातहतकै सवारी साधानहरुले समेत यात्रुलाई ठगी रहेको सो गाडीमा दिएको टिकटबाटै प्रष्ट हुन्छ । भाडादर कार्यान्वयन गर्ने जिम्मेवार निकायको बेवास्ता र व्यवसायीको मिचाहा व्यवहारले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रु मारमा परेका छन् ।

यातायात व्यवस्था विभागले गएको माघ २४ गतेदेखि लागू हुने गरी सरकारले उपत्यकाभित्र विद्यार्थी, अपाङ्गता भएका व्यक्ति÷ज्येष्ठ नागरिक जस्ता सहुलियत कार्ड हुने बाहेकका यात्रुका लागि न्यूनतम वा चार किलोमिटरसम्मको भाडादर १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ तोकेको थियो । यो भाडादर चक्रपथभित्र र बाहिरको चार किलोमिटरसम्म लागू हुने बताइए पनि सो कार्यान्वयन भने हुन सकेको छैन। अहिलेसम्म सवारी साधनमा चढ्यो कि पूरा भाडा न्यूनतम १५ र बढीमा ३० रुपैयाँ र कार्ड भएकासँग १० देखि २५ रुपैयाँसम्म असुली हुदै आएको छ ।

एकातर्फ सवारी साधानमा न्यूनतम भाडा १३ रुपैयाँ तोकिएको सूची टाँसिएको भएपनि ति सबारी साधनले चानचुन पैसा नभएको भन्दै दैनिक प्रतियात्रु १५ रुपैयाँ असुली गर्दै आएका छन् ।

अनुगमनको जिम्मेवार निकाय यातायात व्यवस्था विभागले भने सो कार्यलाई कुनै प्राथमिकता नदिएको र सवारी सधानबाट कमिशन लिएकै कारण यात्रु मारमा पर्नु परेको आरोप समेत यात्रुहरुले लगाएका छन् । व्यवसायी जसरी पनि कमाउनुपर्छ भन्ने धन्दामा लाग्ने, यात्रु बढी भाडा दिने र बढी भाडा लिएकोमा गुनासो नगर्ने र नियमन गर्ने निकायले जनशक्तिको अभावमा अनुगमन गर्न नसकेकाले बढी भाडा असुल्ने गरेको दाबी विभागको रहेको छ ।

१३ रुपैयाँ भाडादर कायम गरिएको ठाउँमा १५ रुपैयाँ लिने गरेको तर फिर्ता माग्दा उल्टै दुव्र्यवहार भोग्नु परेको यात्रुहरुको गुनासो रहेको छ । यातायात व्यवस्था बिभागले भाडा समायोजनको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत गराई नयाँ भाडादर लागू भएको हो ।
मन्त्रालयले सार्वजनिक सूचना निकालेर भाडादर काठमाडौं उपत्यका सहित शहरी क्षेत्रका लागि सावर्जनिक सवारीको भाडा दर न्युनतम १३ रुपैयाँ तोकेको छ । यसअघि १५ रुपैयाँसम्म असुल्दै आएका सवारीले अब १३ रुपैयाँ भन्दा बढी लिएमा अनुगमन गरी कारवाही गर्ने सरकारले जनाए पनि साझा यातायात, सिटी यातायात र नगर यातायात नामको सरकारी स्वमित्व रहेका सवारी साधानले बढी भाडा असुली गरेका छन् ।

यस सम्बन्धमा पटक पटक ति यातायातको कार्यलयमा सम्र्पक गर्दा सो बारे आधिकारीक रुपमा बोल्ने व्यक्ती अफिसमा नभएको ठाडो जवाफ दिइएको छ । सरकारले ४ किलोमिटरसम्मलाई न्युनतम १३ रुपैयाँ भाडा कायम गर्दा १९ किलोमिटरसम्मका लागि २५ रुपैयाँ भाडा तोकेको छ ।