प्राकृतिक स्रोतसम्पन्न कङ्गो किन बन्यो संसारकै गरिब ?

प्राकृतिक स्रोतसम्पन्न कङ्गो किन बन्यो संसारकै गरिब ?


– अरुणकुमार ज्ञवाली

अफ्रिकन महादेशको दोस्रो ठूलो र संसारको तेह्रौँ ठूलो भूभाग भएको देश लोकतान्त्रिक गणतन्त्र कङ्गो अङ्गोला, युगान्डा रुवाण्डा, बुरुन्डी, सुडान, जाम्बिया र तान्जनियाबाट घेरिएको छ । प्राकृतिक स्रोत–साधनले भरिपूर्ण यो देशको जङ्गल एभोकाडो, आँप, केरा र सिमलतरुलले भरिएका छन् भने तामा र कोवाल्ट (यसको प्रयोग इलेक्ट्रिकल कारमा हुन्छ) को सबैभन्दा ठूलो खानी कङ्गोमा रहेको छ । यस अतिरिक्त उत्कृष्ट हीरा, सुन तथा मोबाइलमा प्रयोग हुने कोलटनको ठूलो खानी पनि कङ्गोमै रहेको छ । २३,४४,८५८ वर्गकिलोमिटर भूभाग भएको कङ्गोमा खेतीयोग्य जमिन पर्याप्त छ, तर मानिस खेतीबारीमा नरुचाउने हुँदा धेरै जग्गा बाँझो एवम् जङ्गलले भरिएको छ ।

सन् १८७० मा बेल्जियमले कङ्गोलाई उपनिवेश बनाएपश्चात् यो देश बेल्जियमको राजाको व्यक्तिगत सम्पत्तिको रूपमा मानिएको थियो । विश्वमा आएको स्तन्त्रताको लहरबाट कङ्गो पनि मुक्त रहन सकेन र सन् १९६० मा उपनिवेशबाट मुक्त भयो । तर, सक्षम सेना एवम् सरकारको अभावमा अशान्ति फैलिन गई सोही वर्ष जुलाईमा संयुक्त राष्ट्रसङ्घले शान्तिसेना पठाएर देशमा स्थिरता कायम गर्‍यो । तर, देशको स्रोत–साधन बेल्जियम, फ्रान्स र मोरक्कोका व्यापारीको कब्जामा रहन गयो ।

सन् १९७० को दशकमा अफ्रिकी मुलुकहरूमा राष्ट्रियकरणको लहर आएपछि राष्ट्रपति जोसेफ मोबटुले विदेशीको सम्पत्ति जफत गरी देश निकाला गरेपछि विदेशी व्यापारीले युद्ध–सरदार खडा गरी गृहयुद्धलाई निरन्तरता दिए र प्राकृतिक स्रोत–साधनमा कब्जा युद्ध–सरदारहरूको रहन गयो । यसैक्रममा छिमेकी रुवाण्डामा हुतु र तुत्सी जातीय दङ्गा बढ्न गयो । रुवाण्डाबाट भगाइएका हुतु विद्रोहीलाई साथ लिई जोसेफ कबिलाले सत्ता कब्जा गरे । जसको कारण कङ्गोले रुवाण्डाका विद्रोहीको दासत्व स्वीकार गर्नुपर्‍यो । राष्ट्रिय सेनाको मनोबल कमजोर भई देशका विभिन्न क्षेत्र युद्ध–सरदारको कब्जा भई गृहयुद्ध चरममा पुगेपछि सन् २००० मा पुनः संयुक्त राष्ट्रसङ्घले प्रवेश ग¥यो ।

देश कङ्गाल छिमेकी मालामाल
कङ्गोको प्राकृतिक स्रोतसाधनलाई छिमेकी अङ्गोला, रुवाण्डा, युगाण्डालगायतले दोहन गरेका छन् । युगाण्डामा सुनको खानी छैन, तर संसारको ठूलो सुन उत्पादक देशमध्ये युगाण्डा पनि एक हो । कारण युगाण्डासमर्थित विद्रोही एवम् युद्ध–सरदारद्वारा कङ्गोको सुनखानी उत्खनन गरी युगाण्डामा प्रशोधन हुने गरेको छ । त्यस्तै, प्राकृतिक स्रोत–साधनले भरिपूर्ण कङ्गोको नागरिकको प्रतिव्यक्ति आय ३०० डलर रहेको छ भने प्राकृतिक स्रोत–साधन खासै नभएको आन्तरिक औद्योगिकीकरण भर्खर सुरु हुन थालेको रुवाण्डाको प्रतियक्ति आय १८७० डलर छ । कारण कङ्गोको खानिज दोहन गरी अन्तर्राष्ट्रिय बजारमा रुवाण्डाका विद्रोहीहरूले बिक्री गर्ने गरेका छन् । यस्तै प्रकारको कथा अन्य छिमेकी मुलुकको पनि रहेको छ । सबैले कङ्गोको प्राकृतिक स्रोत–साधन दोहन गरी मालामाल भएका छन् भने कङ्गोली जनता चरम गरिबीमा परेका छन् ।

राष्ट्रिय सेनाको अवस्था
नेपाली सेनाको शान्ति सैनिकसँग कङ्गोको धरातलीय अवस्था बुझ्न जाँदा त्यहाँका सेनाले आफ्नो च्यातिएको बुट देखाउँदै नेपाली सेनासँग बुट दिन अनुरोध गरेका थिए । पछि बुझ्दै जाँदा त्यहाँका सेनाले रासन पाउँदैनन्, साथै तलब पनि कमान्डरले समयमा नदिँदा विद्रोह हुने गरेको पाइन्छ । कहिलेकाहीँ तलबको अभावमा क्षेत्रीय कमान्डरले चँुगीकरझैँ रकम उठाउने गरेको चर्चा सुनियो भने कतै दिनमा सेना त रातमा विद्रोही भई खानिज उत्खननमा सहयोग गर्ने चरित्र कङ्गोको राष्ट्रिय सेनाको रहेको बुझियो ।

शान्तिसेनाको उपस्थिति
सन् १९९७ मा रुवाण्डाको हुतु विद्रोहीको सहायताले राष्ट्रपति जोसेफ कबिलाले सत्ता कब्जा गरेपछि १९८८ मा युगाण्डा, अङ्गोला र जम्बियाले विद्रोही सेनालाई सहयोग जारी राखे र कङ्गोमा अशान्ति बढेपछि सन् २००० मा संयुक्त राष्ट्रसङ्घ प्रवेश ग¥यो । कङ्गोमा विद्रोहीको सङ्ख्या र सङ्गठन बढेसरह संयुक्त राष्ट्रसङ्घको निरन्तरता पनि जारी छ । तर, यसबीच युद्धविराम, नयाँ संविधान घोषण, निर्वाचित सरकार र विकास निर्माणले केही गति भने पाएको छ ।

नेपाली सेनाको अवस्था
नेपाली सेना सन् २००३ मा शान्ति स्थापना गर्ने उद्देश्यले कङ्गो प्रवेश गर्दा दुई पल्टन लिई गएको थियो । यसमध्ये विकास निर्माण गर्ने उद्देश्यले इन्जिनियरिङ पल्टन बुनिया भन्ने ठाउँमा र शान्ति सुरक्षा दिने उद्देश्यले बेनी भन्ने ठाउँमा गरी जम्मा आठ सय पचास सङ्ख्या नेपाली सेना कङ्गोमा रहेको छ । बुनियामा बङ्गलादेशी ब्रिगेड कायम रहेको स्थानमा नेपाली सेनाको इन्जिनियरिङ गुल्म रहेको छ भने बेनी फोर्स कमान्डर भारतीय सेना रहेका छन् । सुरक्षा जोखिम रहेको बुनियामा नेपाली सेनाले सडक पुल इमानदारीका साथ तोकिएको समयमा निर्माण गरेको कारण स्थानीय गभर्नरले सरकारी ठेकेदारले अलपत्र छोडेका तथा नयाँ निर्माणका लागि नेपाली सेनालाई अनुरोध गरेको पाइयो भने कङ्गोका जनतालाई शान्तिसुरक्षाको अनुभूति गराउन निशस्त्रीकरण एवम् युद्धविराम गराउन गएको विश्वका अन्य देशका शान्ति सैनिक युद्धभूमिमा जाने आँट नगरेको अवस्थामा नेपाली सेना ज्यानको जोखिम लिई कङ्गोली जनतालाई सुरक्षा दिने क्रममा जुन २०१७ मा ४ सैनिक गम्भीर घाइते भएका छन् । यसरी नेपाली सेनाले कङ्गोमा त्यहाँका जनताको मन जितेर संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना गर्ने उद्देश्य पूरा गरेको पाइन्छ ।

सारांश
कङ्गोलाई सन् १९६० सम्म युरोपियन र अरबी मोरक्कनले प्रत्यक्ष रूपमा शोषण गरेका थिए भने १९६० पछि अप्रत्यक्ष रूपमा शोषण गर्दै छन् । सन् १९७० पछि छिमेकीहरूसमेतले शोषण गरी राष्ट्रिय सरकारको सेनालाई स्थिर हुन दिइएको छैन । जबसम्म राष्ट्रिय सेना बलियो हुन्न, तबसम्म त्यो देश जति ठूलो भए पनि अस्थिर रहन्छ, अशान्त रहन्छ, गरिब नै रहन्छ, शोषित नै रहन्छ भन्ने दृष्टान्त कङ्गो बनेको छ । त्यस्तै राजनीतिक रूपमा लोकतान्त्रिक गणतन्त्र नै भए पनि देश स्थिर र समृद्ध हुन सक्दोरहेनछ भन्ने उदाहरण पनि कङ्गो नै बन्न पुगेको छ । अतः राष्ट्रिय सेनालाई कुनै विवादमा नराखी समयसापेक्ष बनाउनु हरेक देशका नागरिकको मौलिक कर्तव्य हुनु वाञ्छनीय हुनेछ ।