भ्रष्टाचार आरोप लागेका पाकिस्तानी प्रधानमन्त्री सरिफ पदमुक्त

भ्रष्टाचार आरोप लागेका पाकिस्तानी प्रधानमन्त्री सरिफ पदमुक्त


भ्रष्टाचारको आरोप लागेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पदच्युत भएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि शुक्रबार उनी पदमुक्त भएका हुन् । यसरी, पाकिस्तानको ७० वर्षको इतिहासमा सरिफ अदालतद्वारा अयोग्य घोषित हुने सरिफ दोस्रो वहालवाला प्रधानमन्त्री बन्न पुगेका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार अदालतको फैसला आए लगत्तै प्रधानमन्त्री सरिफले राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोपमा दोषीभन्दा पनि अदालतले संलग्नता ठहर गरेपछि उनी पदमुक्त भएका सञ्चारमाध्यमहरुको टिप्पणी छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले सरिफका तर्फबाट एक विज्ञप्ति प्रकाशित गरी ‘हामीलाई अन्याय भएको छ, इतिहासले सबै कुरा आगामी दिनमा स्पष्ट गर्ने नै छ’ भन्ने वक्तव्य जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश एजाज अफताल खानले सरिफलाई संसदको सदस्यका रूपमा रहिरहन पनि अयोग्य ठहर गर्दै पदमुक्तिका लागि निर्वाचन आयोगलाई समेत आदेश दिएको थियो । उनलाई प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि रहने छैन भन्ने अदालतको ठहर रहेको बताइएको छ ।

लामो समयदेखि चर्चामा आइरहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देशबाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो । ज्ञातव्य छ, पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै सेना वा अदालतको हस्तक्षेपमा बाहिरिनुपरेको पाकिस्तानी इतिहास छ ।

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहूँमा अदालतले मानहानीको आरोपमा अयोग्य घोषणा गरेको थियो ।

सरिफ प्रधानमन्त्री पदबाट हटेपछि अब उनकै भाइ शहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने बताइएको छ । नवाज सफिको पार्टी पाकिस्तान मुस्लिम लीगको उच्च स्तरीय बैठकले उक्त निर्णय लिएको हो । तर, हशबाज पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीको सदस्य भने होइनन् । यसले गर्दा तत्काल उनी प्रधानमन्त्री बन्न सहज नभएको पाकिस्तानी मिडियाले लेखेका छन् ।