फेरि तर्सायो उत्तर कोरियाले

फेरि तर्सायो उत्तर कोरियाले


तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत नभेटिएको भनी दक्षिण कोरियाको रक्षा मन्त्रालयले विश्वसमुदायलाई जानकारी गराएको साता दिन पनि बित्न नपाउँदै उत्तर कोरियाले शक्तिशाली व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले अत्यन्त सफल दाबी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ ।

उत्तर कोरियाली तानाशाह कीम जोङ उनले पछिल्लो परीक्षणले अमेरिकाभर क्षेप्यास्त्र प्रहार गर्न सकिने उत्तर कोरियाको क्षमता प्रमाणित गरेको गर्वका साथ बताएका कोरियन केन्द्रिय समाचार संस्थालाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

कोरियाली समाचार एजेन्सी केसिएनएले भनेको छ, ‘हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।’

यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ र रसिया दोषी रहेको आरोप लगाएका छन्। त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको पनि जनाएका छन् ।

शनिबारको कोरियाली मिसाइल परीक्षणपछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दबाब दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रहगरेका जनाइएको छ ।

उत्तर कोरियाले जापानी समुन्द्रमा खसाएको क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको थियो । जुलाईमा मात्र उत्तर कोरियाले योे दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो । गत ४ तारिखमा पनि उसले यस्तै परीक्षण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई ‘उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम’ भन्ने प्रतिक्रियादिएका छन् । अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण आफ्नोे मुलुकको लागि गम्भीर खतरा भएको बताए भने दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले आपतकालीन सुरक्षा बैठक बोलाई छलफल गरेका छन् ।