दुईवटा चुनाव एकसाथ गर्न नसकिने प्रमुख निर्वाचन आयुक्तको प्रष्टोक्ति

दुईवटा चुनाव एकसाथ गर्न नसकिने प्रमुख निर्वाचन आयुक्तको प्रष्टोक्ति


दुईवटा महत्वपूर्ण चुनाव एकैसाथ गर्ने सोचमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको दुवैको मतो मिलिरहेको परिवेशमा निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न नसकिने धारणा सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत दुईवटा चुनाव एकैपटक गर्न नसकिने बताएका हुन् ।

व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा आफ्नो धारणा राख्दै उनले दुवै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने जानकारी गराए । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने अवस्थालाई सबै सरोकारवाला पक्षले हेक्का राख्न जरुरी रहेको उनको तर्क थियो ।

प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक कसरी गर्न सक्दछन् भनी प्रश्न गर्दा बैठकमा सहभागी सांसदहरु रनभुल्ल परेका थिए । मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा निर्वाचन असम्भव रहेको उनको तर्क असान्दर्भिक सुनिँदैनथ्यो।

उनको थप प्रश्न थियो– ‘दुबै निर्वाचन एकै पटक गर्ने हो भने मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्छ, त्यो अहिलेको संरचनामा कसरी सम्भव होला ?’ मतगणना व्यवस्थापनमा सुधार खाँचो रहेको र आचारसंहिताको पालनामा राजनीतिक दलबाट थप प्रतिबद्धता आउनुपर्नेमा पनि प्रमुख आयुक्तले चेतावनी दिए ।