रक्षामन्त्रीद्वारा नेपाली सेनाको सह्राहना

रक्षामन्त्रीद्वारा नेपाली सेनाको सह्राहना


नवनियुक्त रक्षामन्त्री भिमसेनदास प्रधानलाई नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको एक कार्यक्रमबीच नेपाली सेनासम्बन्धी परिचयात्मक जानकारी गराइएको छ ।

सोमबार आयोजित कार्यक्रमको आरम्भमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले रक्षामन्त्रीलाई नेपाली सेनाको तर्फबाट स्वागत गर्नुहुँदै मन्त्री प्रधानको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवम् पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली जनताको विश्वास र भरोसाको महत्वपूर्ण निकायको रूपमा रहेको नेपाली सेनाले विभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनलाई सदा आत्मसाथ गरी वैधानिक राजनैतिक नेतृत्वअन्तर्गत रही आफ्नो जिम्मेवारी पुरा गर्दै आएको उल्लेख गर्नुभयो । नेपाली सेनाको संरचनालाई राष्ट्रिय सुरक्षा नीतिको मार्गनिर्देशन तथा संघिय संरचनाको स्वरुपलाई मध्यनजर राखी विस्तृत सामरिक पुनरावलोकनको आधारमा पुनर्संरचना गर्दै लैजानु पर्ने उहाँको भनाई थियोे ।

विश्वशान्तिको कार्यमा नेपाली सेनाको भूमिकाको चर्चा गर्नुहुँदै प्रधानसेनापतिले नेपाली सेनाद्वारा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा प¥ुयाउँदै आएको उत्कृष्ट योगदानका कारण शान्ति सेना पठाउने राष्ट्रहरुमा नेपालको अलग्गै विश्वास र छवी स्थापित भएको उल्लेख गर्नुभयो ।

नवनियुक्त रक्षामन्त्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरू, नेपाली सेनाको संगठन संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको सो कार्यक्रममा मन्त्री प्रधानले नेपाली सेनाको गौरवमय इतिहास तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्न र राष्ट्र विकासमा पु¥याउँदै आएको महत्वपूर्ण योगदानको सराहना गर्नुभयो । आफ्नो कार्यकालमा नेपाली सेनाको पेशागत क्षमता साथै सैनिकहरुको मनोवल वृद्धि गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता उहाँले दर्शाउनुभयो ।

साधन–श्रोतको कमीका बाबजुद नेपाली सेनाले आफ्नो व्यवसायिता तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा प्रदर्शन गर्दै आएको दक्षता तथा प्रभावकारिता अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै शान्ति सेनामा नेपाली सेनाको सहभागिता अझ वृद्धि गर्नुपर्ने धारणा मन्त्री प्रधानले अघि सार्नुभयो । नेपाल दैवीप्रकोपको उच्च जोखिममा रहेको र नेपाली सेनाले विपद् व्यस्थापनमा विगतमा प्रशंसनिय कार्य गरेको उल्लेख गर्नु हुँदै रक्षामन्त्रीले विपद् व्यवस्थापन क्षमता थप विकास गर्न जोड दिनुपर्ने बताउनुभयो । काठमाडौं–तराई÷मधेश दु्रतमार्गको सन्दर्भमा वहाँले द्रुतमार्ग राष्ट्रिय चासोको विषय भएको र यसको निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको हुँदा नेपाली सेनाको प्रतिष्ठालाई समेत मध्यनजर गरी आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न जुट्नुपर्ने सुझाव दिनुभयो ।

बलाधिकृत रथी वलदेव राज महतद्वारा समापन मन्तव्य दिइएको सो कार्यक्रममा रक्षासचिव श्रीधर सापकोटा, नेपाली सेनाका उच्चाधिकारीहरू, रक्षा मन्त्रालयका अन्य पदाधिकारीलगायतको उपस्थिति थियो ।