जनकपुरवासीबाट कुटिए कार्यकारी अधिकृत

जनकपुरवासीबाट कुटिए कार्यकारी अधिकृत


विकास निर्माण कार्यको अनुगमन गर्ने भन्दै शहरी विकासमन्त्री प्रभु साहसँगै फिल्डमा निस्किएका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि मंगलबार बिहान सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह जनकपुरस्थित विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीले स्थानीयको कुटाई खाएका हुन् ।

बताइएअनुसार आयोजनाको काममा ढिलासुस्ती र लापर्वाही भएको गुनासो नगरवासीले मन्त्री साहसामु गरेपछि अनुगमन गर्ने निधो गरिएको थियो ।सोही क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहेका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी चाहिँ आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहेका थिए । राससले जनाएअनुसार जनकपुर उमनपाकै समन्वयमा सञ्चालित आयोजनाका सबैभन्दा बढी जिम्मेवार कार्यकारी अधिकृत मन्त्रीका अगाडि नबसेर गाडीमा बसेको देखेपछि केही स्थानीय युवाले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरेका थिए । तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि ती युवा आक्रोशित भएको र उनलाई गाडीबाट तान्दै कुटपिट गरेका थिए । यसरी कुटपिटपछि अवस्था थप बिग्रन नदिन मन्त्री साहलाई तत्काल प्रहरीले घटनास्थलबाट बाहिर लगेको थियो ।