कांग्रेस-माओवादीको संयुक्त विजय जुलुस

कांग्रेस-माओवादीको संयुक्त विजय जुलुस


चितवनको भरतपुरमा कांग्रेस माओवादीको संयुक्त विजय जुलुस निस्किएको छ । स्थानीय तह निर्वाचनमा बहुचर्चित भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हात पारेपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आइतबार संयुक्त जुलुस निकालेर खुसियाली मनाएका हुन ।

वैशाख ३१ मा चुनाव भएको झण्डै ३ महिनापछि १९ नम्बर वडामा पुनः मतदान गरेर भरतपुर महानगरले शनिबार राति प्रमुख र उपप्रमुख पाएको हो । विजय जलुसमा माओवादी कांग्रेसका स्थानीय नेतासहित ठुलो संख्यामा जनमानको उपस्थिति थियो ।

भरतपुरको चौबिकाठीदेखि मुख्य बजार क्षेत्रमा विजय जुलुसले परिक्रमा गरेको थियो । मेयर निर्वाचित माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयर निर्वाचित कांग्रेसकी पार्वती शाह एउटै गाडीमा रहेका छन्।

भरतपुर महानगरपालिकाकी निर्वाचित प्रमुख रेणु दाहालले अब आफ्नो ध्यान विकास निर्माण र महिला अधिकारका विषयमा केन्द्रित गर्ने बताएकी छन्।

विजयी र्‍यालीलाई सम्बोधन गर्दै दाहालले जनताको हितविपरीत कहिल्यै नजाने प्रतिबद्धतासमेत जनाइन्।

समग्र महिलाको प्रतिनिधिको रुपमा भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुखमा नै महिला निर्वाचित भएको भन्दै उनले अब काम गरेर देखाउने बताइन्।

विकास निर्माण र जनपक्षीय काममा विपक्षी दलको पनि साथ र सहयोग मिल्ने उनको अपेक्षा छ। आफूले आफ्नो कार्यकालमा एक पैसा पनि तलमाथि नगर्ने बाचा गर्दै दाहालले एमालेसहितका विपक्षी दलहरुलाई निरन्तर खबरदारी गर्न आग्रह गरिन्। कांग्रेसको सहयोगमा निर्वाचित दाहालले कांग्रेससँगको गठबन्धन नटुट्ने जिकिरसमेत गरिन्।