राजपा केन्द्रिय बैठकमा हृदयश त्रिपाठीको ‘थ्रेट’ !

राजपा केन्द्रिय बैठकमा हृदयश त्रिपाठीको ‘थ्रेट’ !


राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीले बदलिँदो परिवेशलाई आत्मसाथ गर्दै पार्टी चुनावमा जानुपर्ने धारणा राखेका छन् ।

पार्टीका शीर्ष नेतालाई सम्बोधन गर्दै नेता त्रिपाठीले असोज २ गते हुने स्थानीय तहको निर्वाचन वहिष्कार गरे राजपाको हैसियत समाप्त हुने चेतावनी समेत दिए ।

आइतबारबाट काठमाडौमा सुरु भएको राजपा केन्द्रीय समिति बैठकमा बोल्दै नेता त्रिपाठीले राजपाले आफनो ‘ओजन’ लाई मध्यनजर गर्दै चुनावमा जानुपर्ने सुझाव दिए ।

‘दुनियाँलाई थाहा भैसकेको छ हाम्रो ‘ओजन’ कति छ’ उनले भने- ‘पार्टी जोगाउनका लागि मात्र भए पनि चुनावमा जानै पर्दछ ।’

यसअघिको पदाधिकारी बैठकमा उपस्थित नभएका त्रिपाठी केन्द्रीय समिति बैठकमा आफ्नो खास समूहसहित उपस्थित भएका थिए ।

उनीसँगै असन्तुष्ट भनिएका अन्य पश्चिमेली (पश्चिम तराईका) नेताहरुको समेत उपस्थिति रहेको थियो । त्रिपाठीले बैठकमा नेताहरुलाई ‘थ्रेट’ को शैलीमा भने ‘राजपाको हैसियत सबैले बुझिसकेका छन् । यसको ओजन कति छ त्यो पनि सवैलाई थाहा छ । तपाईहरुको क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लाग्नुस्त्यो, त्यसमै भलो छ ।’

बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेतृत्वप्रति आक्रोशित देखिएका त्रिपाठीले १,५ र ७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर त्यस भेगका जनतालाई धोखा दिएको टिप्पणी पनि गरे ।

उनले भने ‘त्यसवेला पार्टी नै दर्ता भइसकेको थिएन त्यहि भएर तपाइहरुले बहिष्कार गर्नुभयो, अब २ नम्बर प्रदेशको चुनावमा भने त्यसो नगर्नुस् ।’

उनले स्थानीय चुनाव बहिस्कार गरेपछि त्यसलगत्तै हुने प्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ भन्दै प्रश्न गरे ।

उनले भने- ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला, तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन ।

सम्बोधनका क्रममा उनले निर्वाचन बहिस्कार र विथोल्ने नै हो भने ८० प्रतिशत मत नखस्ने बातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।