बिमस्टेक प्रतिनिधि चन्द्रागिरिमा

बिमस्टेक प्रतिनिधि चन्द्रागिरिमा


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएका विशिष्ट व्यक्तित्वको समूहले शुक्रबार रिट्रीटको सिलसिलामा चन्द्रागिरि केवलकारको भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणको क्रममा रहेको समुहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालकहरू हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, भुटानी विदेशमन्त्री दाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्री च्वेँ टेँले नेतृत्व गर्नुभएको थियो । भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीहरुले चन्द्रागिरि आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रिया दिँदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताए ।

चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महराले चन्द्रागिरि हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पु¥याएको बताए । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।