अमेरिकी सहयोगमा ऐतिहासिक धरोहर जिर्णोद्धार हुने

अमेरिकी सहयोगमा ऐतिहासिक धरोहर जिर्णोद्धार हुने


पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिर र केशर महलको दक्षिणी खण्डको जीर्णोद्धारका लागि मित्रराष्ट्र अमेरिकाले सहयोग उपलब्ध गराउने भएको छ । केशर महलको लागि इम्प्याक्ट फाउन्डेशन र चार नारायण मन्दिरको जीर्णोद्धारका लागि काठमाडौं उपत्यका संरक्षण कोषलाई अमेरिकी अनुदान सहयोग उपलब्ध हुने भएको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार भूकम्पबाट क्षति भएको केशर महलको दक्षिणी खण्डको संरक्षण तथा जीर्णोद्वारका लागि एएफसिपी कार्यक्रमअन्तर्गत फाउन्डेशनलाई चार लाख अमेरिकी डलर उपलब्ध गराइने छ । यस्तै सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी) कार्यक्रमअन्तर्गत यस वर्ष फाउन्डेशन तथा संरक्षण कोषलाई विश्वव्यापी प्रतिस्पर्धामार्फत परियोजना सञ्चालनका लागि छनोट गरिएको जनाइएको छ ।

अमेरिकी दूतावासले जानकारी दिएअनुसार यस वर्षको दोस्रो एएफसिपी परियोजनाअन्तर्गत पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक मल्लकालीन चार नारायण मन्दिरको जीर्णोद्धारको सहयोगार्थ एक लाख अमेरिकी डलर प्रदान गरिने छ । संरक्षण कोषको पञ्चवर्षीय भूकम्प प्रतिकार्य अभियानको हिस्साका रूपमा रहने उक्त परियोजनाले सर्वोत्तम अन्तर्राष्ट्रिय मापदण्ड तथा भूकम्पीय प्रवलीकरण अपनाउँदै नेपालका मूल्यवान ऐतिहासिक कलाकृतिमध्येको महत्वपूर्ण संरचनाको जीर्णोद्वार गर्नेछ ।

सन् १८९५ मा निर्मित नवशास्त्रीय राणा शैलीको सो भवनलाई परियोजनाले स्थिर र भूकम्प प्रतिरोधी बनाउनाका साथै त्यसको मर्मतका लागि अत्यावश्यक जीर्णोद्वारलाई सहयोग गर्नेछ । अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाउँदै गर्दा नेपालको सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रदान गर्न लागिएको यस सहयोगले संयुक्त राज्य अमेरिका र नेपालबीचको चिरस्थायी मित्रता प्रदर्शन गर्ने नेपालका लागि अमेरिकाका कावा राजदूत माइकल गोन्जालेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ज्ञातव्य छ, अमेरिकी कंग्रेसद्वारा स्थापित र अमेरिकी विदेश मन्त्रालयद्वारा सञ्चालित एएफसिपी कार्यक्रमले सन् २००१ देखि सांस्कृतिकस्थल, सांस्कृतिक वस्तु र परम्परागत सांस्कृतिक अभिव्यक्तिलाई सहयोग गर्दै आएको छ । कार्यक्रमले हालसम्म १२५ भन्दा बढी मुलुकमा ८०० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनालाई सहयोग गरिसकेको बताइन्छ ।