काङ्ग्रेसको साख जोगाउने अभिभारा

काङ्ग्रेसको साख जोगाउने अभिभारा


नयाँ सरकार निर्माणार्थ जारी पट्यारलाग्दो प्रक्रिया, अनमिन-विवाद, पचास करोडको महरा-प्रकरण, राजनीतिक दलहरूमा अन्तरदलीय गुटबन्दी, उत्तर र दक्षिणका छिमेकी राष्ट्रबीच नेपाल-मामिलालाई लिएर पन्पिएको छद्म-युद्ध र यस्तै-यस्तै घोच्ने-बिझाउने सर्न्दर्भयुक्त परिवेशबीच मुलुकको जेठो प्रजातान्त्रिक दल नेपाली काङ्ग्रेस महाधिवेशनमा होमिन लागेको छ । तर, राजनीतिक वृत्तका उल्लेखित उष्ण विषयहरूसमेत काङ्ग्रेस महाधिवेशनको छायामा परिरहेको स्पष्ट आभास भएबाट पाँच वर्ष अन्तरालमा आयोजना हुन गइरहेको नेपाली काङ्ग्रेसको यो महाधिवेशन र काङ्ग्रेस पार्टी मुलुकका लागि कति महत्त्वशाली र अर्थपूर्ण रहेछ भन्ने बोध सर्वत्र गराएको छ ।
काङ्ग्रेसबाट राष्ट्र-अन्तर्राष्ट्रले धेरै आश गरेको छ । विश्वबाट पाखा लाग्दै गएको साम्यवादी अतिवादले शिर उठाउने अस्वाभाविक प्रयत्न यस मुलुकबाट हुनुको पृष्ठभूमिमा काङ्ग्रेसजस्तो प्रजातन्त्रकै लागि मरिमेट्दै आएको पार्टीको महाधिवेशनतर्फ अन्तर्राष्ट्रिय समुदायको जिज्ञासायुक्त दृष्टि गढ्नु विशेष ठहरिने सर्न्दर्भ पनि होइन । भन्ने नै हो भने अन्तर्राष्ट्रिय रूपमा विश्वास आर्जन गरेको दल यो एउटा मात्रै छ भन्दा अत्युक्ति हुँदैन । यस्तो पार्टीको मुलुक र जनताप्रतिको जिम्मेवारी तुलनात्मक रूपमा गहन र बोझिलो हुन आउनुमा पनि अस्वाभाविकता खोज्न सकिन्न । फलतः मुलुकका समस्या हल गर्ने सवालमा आफूलाई नेतृत्वदायी भूमिकामा उभ्याउनुपर्ने आवश्यकता सँगसँगै पार्टीका आन्तरिक चुनौतीहरूसँग पनि मुकाबिला गर्नुपर्ने दोहोरो दायित्वको चेपमा परेको छ काङ्ग्रेस यतिखेर । सङ्घारमै उभिएको महाधिवेशन यही चेपबाट सकुशल निस्किएर अघिबढ्नका लागि एउटा अवसरको रूपमा पनि आएको छ ।
पाँच दशकदेखि राष्ट्रियता, प्रजातन्त्र र समाजवाद घन्काइरहेको नेपाली काङ्ग्रेसको यस मौलिक नाराको सान्दर्भिकता घटेको छैन, बरु समय-परिवेशले यसको महत्त्व बढाउँदै लगेको छ । तर, यस्तो महत्त्वपूर्ण विषयलाई काङ्ग्रेसकै नेतृत्वको अक्षमताले निस्फल या निष्प्रभावी तुल्याइदिएको अनुभूति गरिएको छ । मुलुकमा आधुनिक प्रजातान्त्रिक राजनीति भित्र्याउने काङ्ग्रेस आज आफैं अर्काको पाइला पछ्याउने पछुवाका रूपमा देखापर्न खोज्नु लज्जास्पद र चिन्तायुक्त छ । काङ्ग्रेसले खासगरी ०४६ पछि युवा-भूमिकालाई अन्जानवश न्यूनीकरण गरेको र ऊर्जाशील जमात परिचालन गर्ने सवालमा चुकेकोले पार्टीभित्र र बाहिर पनि अनेक समस्या पैदा भएको कुरा मिथ्या होइन । युवापुस्ताको आकर्षण पार्टीप्रति कम हुनुको मूल्य गतिलैसँग चुकाइसकेको काङ्ग्रेस बाह्रौँ महाधिवेशनको कसरतका क्रममा युवावर्गले दर्शाएको उत्साह र ऊर्जासँगै पुनः बौरिन लागेको आभास हुँदै छ । तर, विचारशून्य नेतृत्वको भीडमा दासत्वको कसी लगाउन मात्र यदि युवाहरूले पार्टी नेतृत्वको आकाङ्क्षा दर्शाएका हुन् भने काङ्ग्रेस पार्टी इतिहासको यसै कालखण्डमा उठ्नै नसक्ने गरी धराशायी हुनेछ, होइन- तिनको ऊर्जासँगै विचार र बौद्धिकता, र्समर्पण र निष्ठा, जिम्मेवारीबोध र साङ्गठनिक कौशलता छ भनेचाहिँ काङ्ग्रेस ऐतिहासिक तवरले बौरिनेमा कुनै शङ्का गरिरहनुपर्दैन ।
पार्टीमा पुरानो र नयाँपुस्ताको बहस पनि राम्रैसँग छेडिने गरेको छ । नयाँले पुरानालाई जबर्जस्ती विस्थापन गर्न खोज्ने र पुरानाले नयाँलाई नेतृत्वतहमा ढिम्कनै नदिने नमिठो खेल चल्ने गरेको पनि नदेखिएको होइन । तर, सधैं अनुभव र परिपक्वताको कुरा गरेर मात्र हुँदैन र उमेरले युवा भएर मात्र पनि काम चल्दैन । समयको वेग र दिशाअनुरूप पार्टी-मौलिकता जोगाउँदै पार्टीलाई अघिबढाउन सक्ने दृष्टि र क्षमताको नै आजको परिवेशमा बढ्ता दरकार छ । पार्टी र राष्ट्रिय स्वार्थलाई शिरमाथि राखेर आवश्यक परेको बेला जस्तोसुकै त्याग र बलिदान गर्नसक्ने व्यक्तिहरूको सामूहिक नेतृत्व अपरिहार्य छ । काङ्ग्रेस महाधिवेशन यस्ता सवालमा कति संवेदनशील देखिने हो, यसको र्सार्थकता या सफलता त्यसैमा निर्भर रहनेछ ।
बहुलवादका आधारमा मुलुकलाई आर्थिक समृद्धितिर लम्काउन नेपाली काङ्ग्रेसबाहेक अरूले पहल गर्दैनन् भन्ने धारणामा विश्वासको मुना पलाउन लागेको परिवेशमा आफ्नो यस गर्वशाली स्थानलाई सुरक्षित राख्न पनि अबको नेतृत्वले विशेष पसिना बगाउनुपर्नेछ । र, पार्टीको साख जोगाउने यो महत्त्वपूर्ण चुनौतीसँग जुझ्नसक्ने नेतृत्व जन्माउने अभिभारा आममहाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको काँधमा छ, उनीहरूको विवेकपूर्ण निर्णयले मात्र काङ्ग्रेसलाई यो गौरव दिलाउनेछ ।