बाढीपीडितको नाममा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी

बाढीपीडितको नाममा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी


सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल एमालेका एमालेका सांसदहरुबीच उत्पन्न बिवादका कारण व्यवस्थापिका–संसद् को आजको बैठक स्थगित भएको छ । पछिल्लोपटक सत्तापक्षको अवरोधका कारण सभामुख ओनसरी घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् ।

बाढीपहिरो तथा डुबानको घट्नाबारे संसदको विशेष समयमा बोल्न लम्ब्याउने या नलम्ब्याउने भन्नेबारे सत्तापक्ष र प्रतिपक्षीबीच विवाद हुँदा पहिले प्रतिपक्षी दलले र पछि सत्तापक्षले संसद् अवरोध गरेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपहिरो र डुबानको घट्नाबाट देशका विभिन्न भागमा सयौँ मानिसको ज्यान गएको र हजारौँ विस्थापित भएकोबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा प्रस्तुत गरेको थियो । सो प्रस्तावलाई संसद्मा छलफल गर्ने कार्यसुचीमै राखिएपछि विशेष समयमा विभिन्न दलका सांसदले धारणा राखे ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि प्रवेश नगरी पहिलेदेखि नै सोहि विषयमा छलफल लम्ब्याएर सत्तापक्षले षडयन्त्र  रचेको भन्दै एमाले सांसदले सदन अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले विशेष समयमा बोल्ने सांसदको सूची घटाएकी थिइन् ।

त्यसपछि विशेष समयमा बोल्नेक्रम सकिएको घोषणा सभामुखले गरेलगत्तै कांग्रेसका सांसदहरुले आफूहरुले विषम परिस्थितिमा देशको अवस्थाबारे बोल्न पाउनुपर्ने भन्दै सदन अवरुद्ध गरे । यसमा माओवादी केन्द्रका केही सांसदले पनि साथ दिए । त्यसपछि सभामुख घर्तीले संसद बैठक स्थगित गरेकी हुन् ।