प्रेस काउन्सिल अध्यक्षलाई काम गर्न रोक

प्रेस काउन्सिल अध्यक्षलाई काम गर्न रोक


माओवादी नेतृत्वको सरकारद्वारा प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भवानी बरालले उक्त हैसियतमा काम गर्न नपाउने भएका छन् ।

सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले आज (मंगलबार) अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म बराललाई काम गर्न रोक लगाएको हो ।

अधिवक्ताहरू राम अवाले र हिरा खतिवडाले बरालको नियुक्ति अनियमित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बरालमाथि रिटमा उनी वरिष्ठ पत्रकार नभएको, जातीय सद्भाव भड्काउने प्रकारका अभिव्यक्ति दिने गरेको र वरिष्ठ अधिवक्ता या सर्वोच्च अदालतका पूर्वन्यायाधीश पनि नभएकोले उनी प्रेस काउन्सिलको अध्यक्षको निम्ति योग्य नभएको भन्दै उनको नियुक्ति बदर गर्न माग गरेका थिए ।