उद्धार र राहतमा यस्तो छ सेनाको सक्रियता

उद्धार र राहतमा यस्तो छ सेनाको सक्रियता


साउन २७ गतेको मध्यरातदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षति न्युनीकरण एवम् उद्धार तथा राहतको लागि स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाका उद्धार टोली राहत कार्यमा निरन्तर लागिपरेको सेनाले जनाएको छ । उद्धार तथा राहतका अतिरिक्त नेपाली सेनाबाट खटिएका टोलीले अवरुद्ध सडक खुलाउने, अवरुद्ध ढल खुलाई पानीको निकास दिने, हिलो तथा अन्य अवरोध पन्छाई एयरपोर्ट सञ्चालन गर्न मद्दत गर्ने कार्य गर्नुका साथै बाढी तथा पहिरोमा हराइरहेका व्यक्तिहरुको खोजीसमेत तदारुकताका साथ गरिरहेका छन् । उल्लिखित कामका लागि नेपाली सेनाबाट करिव ११ हजार ४ सय सैनिक परिचालित भएका सेनाको भनाई छ ।

बाढी–पहिरोको कारण भएको प्राकृतिक विपदमा उद्धार तथा राहत कार्यलाई समन्वय गरी अरु प्रभावकारी बनाउन विषेश फौज बाहिनीका बाहिनीपति सहायक रथी बाबुकृष्ण कार्कीको संयोजकत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर व्यारेकमा ‘प्राकृतिक विपद् उद्धार तथा राहत समन्वय केन्द्र’ खडा गरिएको छ । उक्त टोलीले ड्राई रासन, टाट पोलिन, पाल जस्ता अत्यावश्यक सामानलाई प्राथमिकताका साथ अत्यन्त बाढीग्रस्त इलाकामा गाडी तथा हवाई साधनबाट ढुवानी तथा वितरण गरिरहेको छ । सो क्रममा आज मंगलबार विहान पाललगायत अन्य खाद्य सामाग्रीसहित नेपाली सेनाको तीनवटा ट्रक महोत्तरीको बर्दिबासतर्फ प्रस्थान गरेको थियो । उक्त सामाग्री गाडीबाट लैजान सक्ने स्थानसम्म गाडीबाट पु¥याउने र गाडीबाट बाढीपीडितसमक्ष पु¥याउन नसकिने स्थानमा हेलिकप्टर तथा अन्य उपयुक्त साधन मार्फत बढी प्रभावित ईलाकामा पठाइने सेनाको योजना रहेको छ । उक्त केन्द्रको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट आजै टाट पोलिन २५५० केजी तथा २९१५ केजी खाद्य सामाग्री राहतको लागि रौतहटतर्फ पठाइएको बुझिएको छ ।

यसैगरी, टोलीले जिल्लाको जाल्पापुर र गैरीगाउँ इलाकामा डुवानमा परेका करिव ४० घरको अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने कार्य गरेको थियो । सोही जिल्लाको बुढीखोलास्थित राममन्दिरमा बाढीबाट पसेको माटो, बालुवा हटाई डुवानबाट पीडितहरूलाई बस्ने स्थान बनाएको छ । साथै, मोरङ जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले विराटनगर विमानस्थलको धावनमार्गमा थुप्रिएको हिलोमाटो हटाई धावन मार्ग खोल्ने कार्य गरिरहेको छ । सोही जिल्लाको लोहान्द्राघाटमा बाढीले क्षति पु¥याएको बाटो मर्मत गरेको सेनाको भनाई छ ।

रौतहट जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको राजदेवी ईलाकामा करिव हजार जना र गंगापिपरा ईलाकामा सय जनालार्ई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको साथै, राजदेवी ईलाकाका नौ घरधुरीका ८८ जनालाई विभिन्न राहत सामाग्री वितरण गरेको छ । साथै, उक्त टोलीमा रहेका डा. अधिकृत सहितको टोलीले स्थानीय ४२ जनाको उपचार समेत गरेको थियो । त्यसैगरी धनुषा जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले महेन्द्र राजमार्ग अन्तर्गत धनुषा र महोत्तरी जिल्लाको सिमानामा पर्ने रातु खोलाले कटान गरेको पुल नजिकको स्थानमा तटबन्ध निर्माण कार्य गरेको छ ।

उता सर्लाही जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले बाढीबाट प्रभावित स्थानीय वासिन्दाहरुको खाद्यान्न सुरक्षित स्थानमा सार्नुको साथै सोही जिल्लाको मलंगवा इलाकामा काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरद्वारा पठाइएको १९०० केजी खाद्यान्न तथा ७२ वटा पाल वितरण गरेको छ । मकवानपुर जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको कमाने ईलाकाको खहरे खोलाले कटान गरी जोखिममा रहेका घरहरु जोगाउन उक्त खोलामा जाली तथा तटबन्ध निर्माण गर्ने कार्य गरेको छ ।

यसैगरी, नवलपरासी जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले जिल्लाको रामपुर खडावाला ईलाकामा चारवटा गाँउका करिव ५०० परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुको साथै, सोही जिल्लाको रानीनगर ईलाकाका डुवानबाट प्रभावित १२ घरबाट मानिस तथा खाद्यान्न सामाग्रीहरु सुरक्षित स्थानमा सारेको छ भने सोही जिल्लाको दाउन्ने बर्दघाट ईलाकामा गएको पहिरो हटाउने कार्य समेत गरेको छ ।

बाँके जिल्लाको गंगापुर तथा फत्तेपुर ईलाकामा नेपाली सेनाको एमआई–१७ हलिकप्टरबाट खाद्य सामाग्री तथा आवश्यक औषधिसहित डा. अधिकृतको टोली पु¥याएको छ भने बर्दिया जिल्लाको गुलरिया नपा ईलाकामा नेपाली सेनाकै हेलिकप्टरद्वारा अक्सिजनका सिलिन्डरहरु पु¥याइएको छ ।
उद्धार तथा राहतकै सिलसिलामा उल्लिखित जिल्लाहरूका अलावा सप्तरी, चितवन, पर्सा, सिन्धुली, पाल्पा, दाङ, रुपन्देही, कैलाली लगायतका जिल्लामा उद्धारका सामग्रीसहितको नेपाली सेनाका उद्धार टोलीहरू स्थानीय प्रशासनसँगको सममन्वयमा उद्धार तथा राहत कार्यमा तदारुकताका साथ जुटिरहेका छन् । बाढीपीडितको उद्धार तथा राहत कार्यमा सेनाको यस भूमिकाको सर्वत्र प्रशंसा गरिएको छ ।