चिकित्सक केसीको अनशन स्थगन

चिकित्सक केसीको अनशन स्थगन


चिकित्सा शिक्षा ऐन आउनुपर्ने प्रमुख मागसहित २३ दिनदेखि अनशनमा बस्नुभएका प्राडा गोविन्द केसीले अनशन स्थगित गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा आज (मंगलबार) साँझ पत्रकार सम्मेलन गर्दै उहाँले तराईमा गएको बाढी र पहिरोले जनधनको क्षति भइरहेका समयमा अनशन बस्दा ग्लानी भएको भन्दै स्थगित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा र जनमुखी स्वास्थ्य सेवाका लागि मेरो सत्याग्रह जारी छ, अहिले तराईमा आई परेको प्राकृतिक प्रकोपमा सबै सहयोगमा जुट्नुपर्ने भएकाले अनशनमा बस्न उचित नभएकाले तराईको स्थिति सामान्य नहुन्जेलसम्म आन्दोलनको स्वरूप परिवर्तन मात्र गरिएको हो ।’

देशलाई आइलागेको बिपत्तीमा धेरैले आफन्त गुमाएका छन्, धेरैको रोजीरोटी खोसिएका छन् भन्दै डा केसीले बाढीपछि आइलाग्ने महामारीजन्य प्रकोप व्यवस्थापन गर्ने चुनौती भएकाले यसप्रति सबै पक्षको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

एघारौँ पटक अनशनमा बस्नुभएका डा केसीले यस पटक अनशन तोडेको नभई स्थगन मात्र भएकोले सदाझैँ जुस भने पिउनुभएन । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकाले उहाँलाई साँझ नै शिक्षण अस्पतालको सघन कक्षमा राखी उपचार सुरू गरिएको राससले जनाएको छ ।