यादवको परिवारलाई दुई लाख हस्तान्तरण

यादवको परिवारलाई दुई लाख हस्तान्तरण


मन्त्रिपरिषद्को निर्णयअनुसार सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका वडा नं १५ देउरीभरुवाका बेपत्ता डोमी यादवका परिवारजनलाई रु दुई लाख हस्तान्तरण गरेको छ । प्रजिअ भगिरथ पाण्डेले यादवकी धर्मपत्नी घनादेवीलाई सो रकम हस्तान्तरण गर्दै सरकारी राहत घरमै पुगेर वितरण गरिने जानकारी दिनुभयो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले समेत घनादेवीलाई रु पाँच हजार प्रदान गर्नुभयो । पीडित परिवारजनका लागि तीन महिनाको खाद्यान्नसमेत उपलब्ध गराइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

यस्तै बाढीमा परेर मृत्यु भएका तिलाठी कोइलाडीका बालक कमलु सदाका परिवारलाई सरकारका तर्फबाट पठाइएको राहत रु दुई लाख उपलब्ध गराइएको छ । सो रकम र लत्ताकपडा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ पाण्डेले घरमै पुगेर प्रदान गर्नुभयो । रासस